८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

अनुसन्धानकर्तालाई दोमा सहर जान दिइने

दमास्कस – रासायनिक हमला भएको भनिएको सिरियाको दोमा क्षेत्रमा अर्गनाइजेसन फर द प्रोहिबिसन अफ केमिकल विपन्स (ओपिसिडब्लू)का अनुसन्धानकर्तालाई बुधबार निरीक्षणका लागि जान दिइने रुसले बताएको छ।

पूर्वी गुटाको दोमा सहरमा अप्रिल ७ का दिन राजधानी दमास्कस नजिकै शंकास्पद रासायनिक हमला भएको र त्यो हमलाको पछाडि सरकारको संलग्नता रहेको भन्ने विषय बाहिरिएपछि रासायनिक हतियारका विज्ञसहितको ओपिसिडब्लूको टोली शनिबार नै दमास्कस पुगेको भए पनि सुरक्षाको कारण उनीहरु दोमा सहरको आसपास जान नसकेको रुसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

अमेरिकी अधिकारीहरुले भने सिरियाको प्रमुख सहयोगी रुसले दोमा सहरमा भएको रासायनिक हमलाको प्रमाण लुकाउन खोजेको भन्दै त्यस विषयमा आवाज उठाएका छन् । सिरियाली सरकारले भने दोमा सहरमा अप्रिल ७ मा भएको भनिएको रासायनिक हमला पश्चिमा देशले बनाएको कपोकल्पित कहानी भएको र त्यहाँ त्यस्तो प्रकारको हमला नभएको बताउँदै आएको छ।

सिरियामा रहेका विपक्षी अधिकारवादी, चिकित्सकीय संघसंस्था र उद्दारकर्ताले भने सरकारी युद्धक विमानले विद्रोहीको अन्तिम नियन्त्रणमा रहेको दोमा सहरमा विषालु ग्यासले भरिएको रासायनिक ब्यारेल बम खसाल्दा ४० जनाको मृत्यु भएको बताउँदै आएका छन् । खुला स्रोत र आफ्ना गुप्तचर निकायको सूचनाका आधारमा दोमा सहरमा क्लोरिन ग्याससहित हानिकारक ग्यास प्रयोग भएको विषयमा आफूहरु पूर्ण विश्वस्त रहेको संयुक्त राज्य अमेरिका, बेलायत र फ्रान्सले बताएका छन्।

सिरियाली सरकारको रासायनिक हतियार कार्यक्रमविरुद्ध भन्दै अमेरिका, फ्रान्स र बेलायतले शनिबार सिरियामा हवाई हमला तथा क्षेप्यास्त्र आक्रमण गरेका थिए । यसैबीच सिरियाको राज्य सञ्चालित सञ्चारमाध्यमले भने ओपिसिडब्लूका निरीक्षकहरु दोमा सहर आइपुगेको विवरण सार्वजनिक गरेका छन् तर ओपिसिडब्लूले भने कुनै पुष्टि गरेको छैन । रुस र सिरियाले दोमा सहरमा सुरक्षा प्रत्याभूत नभएको भन्दै ओपिसिडब्लूका प्रतिनिधिलाई त्यहाँ जान नदिएको उक्त निकायका निर्देशकले सोमबार जानकारी दिएका थिए।

रासायनिक आक्रमण भएको भनेर आरोप लगाइएको क्षेत्रमा नै रहेका २२ जना सर्वसाधारणसमक्ष ओपिसिडब्लूका निरीक्षकहरुलाई अन्तर्वार्ता लिनका लागि मौका दिन लागिएको सिरियाली अधिकारीहरुले दाबी गरेका छन्।यदि ओपिसिडब्लूका निरीक्षकहरुलाई बुधबार शंकास्पद रासायनिक हमला भएको दोमा सहरमा जान दिइयो भने आक्रमण भएको ११ दिनपछि उनीहरु त्यहाँ पुगेको हुनेछन् । उनीहरुले त्यहाँको माटो र रासायनिक हमला भएकोबारे प्रमाणित हुनसक्ने प्रमाणका केही नमूना संकलन गर्ने अपेक्षा गरिएको छ।

ओपिसिडब्लूका लागि अमेरिकी राजदूत केनेथ वार्डले सोमबार नेदरल्यान्ड्सको राजधानी हेगमा आयोजना भएको ओपिसिडब्लूको आपतकालीन बैठकमा दोमा सहरमा भएको रासायनिक हमलाको प्रमाणलाई रुसी फौजले हस्तक्षेप गरेको हुनसक्ने विचार राखेका थिए । ‘हामीलाई लाग्छ रासायनिक हमला भएको क्षेत्रमा रुसी अधिकारीहरुले भ्रमण गरिसकेका छन्,’ वार्डलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।

ओपिसडब्लूको तथ्य संकलन गर्ने अभियानमा रुसले हस्तक्षेप गरिसकेको हुनसक्ने आशंका सिर्जना भएको वार्डले बताएका थिए । उता, फ्रान्सका विदेश मन्त्रालयले पनि मंगलबार एउटा विज्ञप्ति निकाल्दै दोमा सहरमा भएको रासायनिक हमलाको प्रमाणलाई हटाइसकेको हुनसक्ने आशंका गरेको छ । पश्चिमा देशका यस्ता आशंकालाई सिरियाली सरकार र उसको प्रमुख साझेदार रुसले भने अस्वीकार गरेका छन्।

रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले पश्चिमा देशको यस्तो आरोप अस्वीकार गर्दै रुसले दोमा सहरमा कुनै हस्तक्षेप नगरेको बताएका छन्।‘दोमामा रासायनिक हमला भएको भनेर उद्धृत गरेका सम्पूर्ण प्रमाण सामाजिक सञ्जाल र मिडिया रिपोर्टमा आधारित हुन् । दोमा सहरमा रासायनिक हमला भएकै छैन । रासायनिक हमला भयो भन्नु मनगणन्ते र नाटक मात्रै हो,’ उनले बताएका छन्।

 

प्रकाशित: ५ वैशाख २०७५ ०४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App