८ वैशाख २०८१ शनिबार
खेल

विधान पास गरे निलम्बन फुकुवा

काठमाडौं – काठमाडौंमा बिहीबार र शुक्रबार हुने नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभापछि क्रिकेट विवाद अन्त्य भई क्यानमाथि लागेको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को निलम्बन फुकुवा हुने अपेक्षा गरिएको छ।
सल्लाहकार समूहले बनाएर आइसिसीबाट स्वीकृति पाएको क्यानको विधान निर्वाचित कार्यसमितिले बोलाएको साधारणसभाले अक्षरस पास गरे अन्तर्राष्ट्रिय निलम्बन फुकुवा हुने प्रक्रिया सुरु हुने बताइएको छ।

क्यानले मंगलबार पत्रकार सम्मेलनमा नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय निलम्बन फुकुवा गराउन आवश्यक सबैखाले लचकता अपनाउन आफूहरू तयार रहेको बताएको छ । क्यानले साधारणसभाबारे पत्रकार सम्मेलन गरिरहँदा आइसिसीले विज्ञप्ति जारी गर्दै विशेष साधारणसभाको स्वागत गरेको छ।

‘आइसिसी विधान संशोधनका लागि क्यानको विशेष साधारणसभाको मिति तय भएको विषयलाई स्वागत गर्छ । आइसिसीको पहलमा सबै सरोकारवाला समेटेर बनेको नेपाल सल्लाहकार समूहले प्रस्ताव गरेअनुसारको विधान विशेष साधारणसभाले अक्षरस पालना गर्नेमा आइसिसी आशावादी छ,’ आइसिसीको विज्ञप्तिमा भनिएको छ, ‘इतिहासमै पहिलो पटक नेपालले हालै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको अवस्थामा विशेष साधारणसभाले विधान अक्षरस पास गरे जुलाईमा हुने आइसिसीको वार्षिक साधारणसभाले नेपालको सदस्यता पुनस्र्थापित गर्ने विषयमा सकारात्मक थालनी गर्नेछ।’


‘इतिहासमै पहिलो पटक नेपालले हालै एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता हासिल गरेको अवस्थामा विशेष साधारणसभाले विधान अक्षरस पास गरे जुलाईमा हुने आइसिसीको वार्षिक साधारणसभाले नेपालको सदस्यता पुनस्र्थापित गर्ने विषयमा सकारात्मक थालनी गर्नेछ।’

आइसिसीका उपाध्यक्ष इमरान ख्वाजालाई उद्धृत गर्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘विधानको विषयमा आइसिसी बोर्ड प्रस्ट छ  र यसमा कुनै सम्झौता हुने छैन । नेपालको आइसिसी सदस्यता विषयमा त्यहाँको विशेष साधारणसभाले गर्ने निर्णयमा भर गर्नेछ । नेपालको विशेष साधारणसभा सकिएलगत्तै आइसिसीको बोर्ड बैठक बस्नेछ । त्यहाँ नेपालको अवस्थाबारे विशेष छलफल हुनेछ।’

क्यानले पनि निलम्बन फुकुवाका लागि आवश्यक लचकता अपनाउने योजना बनाएको महासचिव अशोकनाथ प्याकुर्‍यालले पत्रकार सम्मेलनमा बताए । ‘नेपाली क्रिकेटले भोगेको समस्याको समाधानतर्फ जान हामी पदाधिकारी जुन हदसम्म भए पनि  लचकता अपनाउन तयार छाै‌,’ महासचिव प्याकुर्‍यालले भने, ‘विधानमा उल्लेख भए बमोजिम साधारणसभामा पुग्नुअघि प्रतिनिधिहरूलाई संशोधनसहितका एजेन्डाहरू जानकारी गराएका छौं । पारित हुने नहुने विषय विशेष साधारणसभाको निर्णयमा भर पर्नेछ।’

नेपाली क्रिकेटमा निर्वाचित क्यानका पदाधिकारीहरूलाई बाधकको रूपमा हेरिएजस्तो अनुभव भएको बताउँदै प्याकुर्‍यालले आफ्नो स्वार्थभन्दा नेपाली क्रिकेटमा पद्धति बसाल्न आफूहरूले निरन्तर संघर्ष गरिरहेको बताए । उनले थपे, ‘यो बीचमा हामीले सरकार, अदालत र आइसिसी सबैको सामना गर्यौं । तर पनि नेपाली क्रिकेटलाई स्थिर बनाउन हामीले आफ्नो अडान छोडेनौं।’

बिहीबार र शुक्रबार हुने विशेष साधारणसभाको तयारी पनि पूरा भएको क्यानले जनाएको छ । साधारणसभामा आइसीसीका प्रतिनिधि नेपाल आउने जानकारी दिइयो । ‘तर पनि अझैसम्म को–को आउने भन्नेमा टुङ्गो लागिसकेको छैन,’ प्याकुर्‍यालले भने।

विशेष साधारणसभाले आइसिसी प्रतिनिधिको रोहबरमा बनेको सल्लाहकार समितिले बनाएको विधानलाई अनुमोदन गर्ने योजना छ । आइसिसी र राष्ट्रिय खेलकुद परिषद्का प्रतिनिधिको उपस्थितिमा विशेष साधारणसभाले पारित गरेपछि क्यानले नयाँ विधान पाउनेछ । विधान संशोधनका लागि दोस्रो पटक साधारणसभा हुँदै छ।

विशेष साधारणसभाले विधान पारित गरेपछि आइसिसीका ३, राष्ट्रिय खेलकुद परिषद् र निर्वाचित क्यानका एक÷एक गरी कुल पाँच पदाधिकारीको सुपरिवेक्षण कमिटी गठन हुनेछ । उक्त कमिटीले क्यानको निर्वाचन गराउँदै नयाँ नेतृत्व  प्रदान गर्नेछ । त्यसका लागि अहिलेसम्म ३७ जिल्लामा निर्वाचन भइसकेको छ।

यसअघि पछिल्लो पटक नेपाली क्रिकेटको निलम्बन फुकुवाको विषयमा छलफल गर्न काठमाडौं आएका आइसिसी  प्रतिनिधिहरूले नेपाललाई अन्तिम मौकाको रूपमा साधारणसभाबाट विधान पारित गर्दै सुपरिवेक्षण कमिटीको रोहबरमा क्यानको निर्वाचन गर्न निर्देशन दिएको थियो।

लगातारको विवाद, अपारदर्शिता, सुशासनको अभावका कारण क्यान प्रशासनप्रति आजित आइसिसीले गत वर्ष वैशाखमा सरकारी हस्तक्षेपको आरोपमा नेपालको सदस्यता निलम्बन गरेको थियो । राष्ट्रिय खेलकुद परिषद्ले निर्वाचित क्यानलाई मान्यता नदिई नयाँ तदर्थ समिति बनाएपछि आइसिसीले त्यस्तो निर्णय गरेको थियो।

पछि नेपालको समस्या समाधानका लागि आइसिसीले नेपाली क्रिकेटका सबै सरोकारवाला समेटेर क्यानका पूर्वअध्यक्ष विनयराज पाण्डेको अध्यक्षतामा सात सदस्यीय सल्लाहकार समूह बनाएको थियो । सल्लाहकार समितिले प्रस्ताव गरेको विधानलाई भदौमा बसेको निर्वाचित क्यानको साधारणसभाले संशोधनसहित पास गरेपछि निलम्बन फुकुवाको प्रतीक्षा लम्बिएको थियो।

तर माघमा अन्तिम मौकास्वरूप भन्दै ख्वाजा नेतृत्वमा आएको आइसिसी प्रतिनिधि मण्डलले दिएको रोडम्यापअनुसार निर्वाचित क्यान, सल्लाहकार समूह र राखेपले इमानदारीपूर्वक आइसिसी प्रतिनिधिमण्डलसँग भएको सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । नेपाली क्रिकेटको विवादमा दीर्घकालीन समाधान निकाल्ने उद्देश्यसाथ काठमाडौं आएको आइसिसी टोली सबै सरोकारवालासँगको छलफलपछि फर्किएलगत्तै सरोकारवालाको यस्तो प्रतिबद्धता आएको थियो।

आइसिसी टोलीले सल्लाहकार समूहका सबै पक्षसँग छुट्टाछुट्टै तथा संयुक्त रूपमा भेटेपछि राखेप सदस्यसचिव केशवकुमार विष्टसँग भेटेको थियो । चरणबद्ध रूपमा भएका छलफलमा यसअघि समूहले बनाएको विधानमा उल्लेख गरिएको क्यान केन्द्रीय समितिका पदाधिकारीहरूको योग्यताको महल हटाउने निर्वाचित समितिको मागमा सहमति भएको थियो।

यसै गरी निर्वाचित कमिटीले मताधिकार नहुने तर उम्मेदवार हुन पाउने गरी कार्यसमितिका १७ जना तथा राखेपका ७ प्रतिनिधिले साधारणसभामा भाग लिन पाउनुपर्ने प्रस्ताव पनि सहमतिमा अस्वीकृत भएको थियो । सहमतिअनुसार विधानलाई कानुनविद्ले अद्यावधिक बनाएर केही दिनभित्रै पेस गर्ने र निर्वाचित क्यानले साधारणसभाबाट त्यसलाई जस्ताको तस्तै पास गर्ने पनि सहमति भएको थियो।

सहमतिअनुसार निर्वाचित क्यानले साधारणसभा बोलाएपछि आइसिसीले आफ्ना तीन तथा राखेप र निर्वाचित कमिटीका एक÷एक प्रतिनिधि राखेर ५ सदस्यीय सुपरिवेक्षण कमिटी बनाउने र त्यसले क्यानलाई निर्वाचन प्रक्रियामा लैजान सबै सहमत भएका थिए।

सुपरिवेक्षण कमिटीले जिल्ला निर्वाचनको अध्ययन गरी प्रक्रिया नपुगेका वा विवाद भएका जिल्लामा पुनः निर्वाचन गराउने र विवादरहित तथा प्रक्रिया पुगेकाको हकमा मान्यता दिने सहमति भएको थियो।

प्रकाशित: ५ वैशाख २०७५ ०४:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App