coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकपको तयारी पूरा

बिहीबार सुरु हुने माइभ्याली गोल्डकपका लागि बुधबार मैदानमा रेखांकन गरिँदै। तस्बिर: भीम/नागरिक

इलाम – सदरमुकामको ठूलो टुँडिखेलमा बिहीबार सुरु हुने चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप फुटबल प्रतियोगिताको सबै तयारी पूरा भएको छ। प्रतियोगिताका लागि मैदान, प्यारापिट, खेलाडीलाई होटल व्यवस्थापनलगायत सबै तयारी गरिएको आयोजक माइभ्याली फुटबल क्लबले जनाएको छ।

प्रतियोगिताका लागि करिव १० हजार दर्शक अटाउनेगरी बाँसको प्यारापिट निर्माण गरिएको क्लब अध्यक्ष धिरेन चेम्जोङले बताए। उनका अनुसार ८ लाख रुपैयाँ खर्चेर २ हजार बाँस प्रयोग गरी प्यारापिट बनाइएको छ। मैदानको एकापट्टिको पाखामा चाहिँ माटोमै प्यारापिट बनाइएको छ। ‘हामी बिहीबारको उद्घाटन खेलका लागि मैदानमा रेखांकन गर्दैछौं,’ अध्यक्ष चेम्जोङले बुधबार भने, ‘अरू सबै तयारी पूरा भएको छ।’

पूर्वी पहाडकै ठूलो धनराशिको प्रतियोगिता विजेताले नगद ५ लाख, मेडल र ट्रफी पाउने छ। उपविजेताले नगद ३ लाख, ट्रफी र मेडल पाउने आयोजकले जनाएको छ। जिल्लाकै प्रतिष्ठित मानिने माइभ्याली गोल्डकप हरेक वर्ष ‘महासंग्राम’कै रूपमा आयोजना हुने गरेको छ। मैदानमा पक्की प्यारापिट नभएपनि दैनिक ४–५ हजार दर्शकको भीड लाग्ने गरेको छ।

प्रतियोगितामा नेपाल, भारत र बंगलादेशका ए–डिभिजनसहित १२ टिम सहभागी हुँदैछन्। ३ विभागीय टिम नेपाल प्रहरी, त्रिभुवन आर्मी र सशस्त्र प्रहरीको एफिएफ क्लब, मनाङ मर्स्याङ्दी, रमपम झापा–११, थ्रिस्टार, आयोजक माइभ्याली, पोखराको कास्की–११, संकटा क्लबसहित भारतको सिक्किम युनाइटेड, दुर्गापुर स्टिल फुटबल क्लब र बंगलादेशको कावरान प्रगति संघ प्रतियोगितामा भिड्दैछन्। बिहीबारको उद्घाटन खेल घरेलु टोली माइभ्याली र कास्की–११ बीच हुँदैछ। फाइनल १७ गते हुनेछ।

आयोजकले यसपटक सबैखाले पुरस्कारको राशि बढाएको छ। गतवर्षसम्म रहेको प्रथम पुरस्कार राशि ४ लाखबाट अहिले ५ लाख बनाइएको हो। उपविजेताको पुरस्कार पनि अढाई लाखबाट ३ लाख नगद पुर्याइएको छ। प्रत्येक दिनका म्यान अफ् दिन म्याच र प्रतियोगिताका विभिन्न विधामा वितरण गरिने पुरस्कार राशि पनि ५ हजारबाट बढाएर १० हजार पुर्याएको आयोजकले जनाएको छ। प्रतियोगिताका लागि सय, २ सय र १५ सय २ हजार रुपैयाँको टिकट व्यवस्था गरिएको आयोजकले जनाएको छ।

यो पटकको प्रथम पुरस्कार राशि इलाम नगरपालिकाले प्रदान गर्ने सहमति भइसकेको छ। प्रथम पुरस्कारलाई ‘मेयर प्राइज’को नाम दिइएको छ। बाँकी पुरस्कार, खेलाडी व्यवस्थापनलगायत सबैको खर्च करिब ६० लाख अनुमान गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७५ ०८:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App