५ वैशाख २०८१ बुधबार
शिक्षा

बोर्डिङ छोडेर सरकारी विद्यालयमा लहर

सुर्खेत– वीरेन्द्रनगर–३ कि बन्दना खड्काले आफ्ना दुई छोरालाई जिल्लाकै पुरानो मध्येको एक जन माविमा भर्ना गरिन्। मोन्टेश्वरी हुँदै अघिल्लो शैक्षिकसत्रसम्म छोराहरुलाई बोर्डिङ स्कूलमा पढाएकी खड्काले सामुदायिक विद्यालय पनि पढाईमा अब्बल हुँदै गएकाले छोराहरुलाई बोर्डिङबाट निकालेर सामुदायिकमा ल्याएको बताइन्। उनका जेठा छोरा मिसन कक्षा ४ र कान्छा छोरा मिलन कक्षा दुईमा जन माविमा भर्ना भएका छन्।

अघिल्लो शैक्षिकसत्रमा बोर्डिङ स्कूलबाट कक्षा सातमा एप्लस ल्याएका शैपाल देवकोटा पनि जन माविमा कक्षा आठमा भर्ना भएका छन्। ‘बोर्डिङको भन्दा राम्रो पढाई हुने थाहा पाएपछि यहाँ भर्ना भएको हुँ’ बुधबार विद्यालय परिसरमा भेटिएका उनले भने, ‘विगतको उत्कृष्ट नजिता, अनुशासित र राम्रो शैक्षिक वातावरण भएकाले बोर्डिङ छोडेर सामुदायिकमा आएको हुँ।’ 

कक्षा आठसम्म बोर्डिङ स्कूलमा अध्ययन गरेका सन्दीप खत्री वीरेन्द्रनगरकै श्रीकृष्ण संस्कृत माविमा भर्ना भएका छन्। श्रीकृष्णमा पनि अंग्रेजी र नेपाली दुबै माध्यमबाट पढाई हुन्छ। केही अघिसम्म राम्रो शिक्षाको खोजीमा सरकारी स्कूलबाट बोर्डिङमा जाने परम्परा थियो। अहिले बोर्डिङ छोडेर सरकारीमा आउने लहर चल्न थालेको छ। केही सरकारी विद्यालयले आफूलाई पढाई, शैक्षिक वातावरण र नतिजामा आफूलाई अब्बल बनाएपछि अहिले बोर्डिङ छोडेर सामुदायिकमा आउनेको संख्या बढ्दैछ। 

विद्यार्थीको चाप बढेपछि जन माविले समय अगावै आवेदन रोकेको छ। ‘बढीमा तीन सय विद्यार्थीका लागि बिहीबारसम्म आवेदन खुल्ला गरेका थियौं’ विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठले भने, ‘बुधबारसम्म १४ सय बढीले आवेदन फर्म भरेका छन्।’ आवेदन दिनेमध्ये ८० प्रतिशत अघिल्लो शैक्षिकसत्रसम्म बोर्डिङ स्कूलमा पढेका विद्यार्थी छन्। ‘यसले पनि सामुदायिक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण कस्तो छ भन्ने देखाउँछ’, उनले भने, ‘यहाँका केही विद्यालय बोर्डिङ भन्दापनि उत्कृष्ट र राम्रा छन्।’

केही वर्षअघिसम्म वीरेन्द्रनगरकै केन्द्रमा रहेको भएपनि जन माविमा विद्यार्थी संख्या न्यून थियो। पछिल्लो समय विद्यालयले अंग्रेजी माध्यमबाट पठन–पाठन सुरु ग-यो। अनुशासन र शैक्षिक वातावरणमा ध्यान दियो। उत्कृष्ट भौतिक पूर्वाधार बनायो। कार्यरत शिक्षक–कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउने निर्णय ग¥यो। त्यसैको प्रभाव हुनुपर्छ अहिले यो सामुदायिक विद्यालयमा भर्ना हुन विद्यार्थीले प्रवेश परीक्षा उत्तीर्ण गर्नुपर्छ। उत्तीर्ण नभएका विद्यार्थीहरुले यहाँ भर्ना पाउँदैनन्। विद्यालयमा आफ्ना नानीबाबु भर्ना गराउनका लागि ‘सोर्सफोर्स’ लगाउनुपर्ने अवस्था छ। विद्यार्थीको अत्याधिक चापका कारण चालू शैक्षिकसत्रदेखि विद्यालयले कक्षा १ देखि १० सम्म २३ वटा कक्षा सञ्चालन गर्ने निर्णय गरेको छ।

‘राम्रो विद्यालयमा सबैको आकर्षण हुन्छ’ बोर्डिङ छुटाएर कक्षा २ मा छोरीलाई भर्ना गराएका खगेन्द्र पुलामीले भने, ‘सस्तो शुल्कमा उत्कृष्ट पढाई हुने भएकाले बोर्डिङ खुटाएर सामुदायिकमा भर्ना गर्न ल्याएको हुँ।’ उनले वीरेन्द्रनगरमा कम्प्युटर इन्ष्टिच्यूट सञ्चालन गर्छन्। एउटा बोर्डिङ स्कूलमा शेयर सदस्य पनि हुन्। बोर्डिङ भन्दा उत्कृष्ट भौतिक संरचना, बोर्डिङको जस्तै अंग्रेजीमा पढाई, शैक्षिक र पारिवारिक वातावरणका साथै उत्कृष्ट अनुशासन भएकाले आफूले छोरीलाई सामुदायिक विद्यालयमा भर्ना गराएको उनले बताए।

जन माविमा मात्रै होइन् वीरेन्द्रनगरको श्रीकृष्ण, अमरज्योति नमूना मावि नेवारे, हस्तवीर आधारभूतलगायतका सरकारी विद्यालयमा पनि विद्यार्थी र अभिभावकको आकर्षण उत्तिकै छ। श्रीकृष्ण संस्कृत तथा साधारण माविका सूचना अधिकारी देव गौतमले चालू शैक्षिक सत्रका लागि बोर्डिङ स्कूलबाट आएका एक सयबढी विद्यार्थीहरुले आवेदन फर्म भरेको बताए।

‘हरेक वर्ष बोर्डिङ छोडेर सामुदायिक विद्यालयमा विद्यार्थीहरु आउनेक्रम बढ्दो छ’ उनले भने, ‘बोर्डिङको जस्तै पढाई, शैक्षिक वातावरण, न्यून शुल्कलगायतका कारणले सामुदायिक विद्यालयहरु अभिभावक र विद्यार्थीको रोजाईमा पर्न थालेका छन्।’ श्रीकृष्णले कक्षा ६ देखि नौसम्म मात्रै भर्ना लिने गरेको छ। 

बोर्डिङ छोडेर सरकारीमा आएका विद्यार्थीहरु तुलनात्मक रुपमा सरकारी स्कूलमा पढ्न सजिलो हुने बताउँछन्। ‘सरकारीमा शिक्षक र विद्यार्थीको सम्वन्ध राम्रो हुने भएकाले पढाईमा सहजता हुन्छ’ श्रीकृष्णमा अघिल्लो शैक्षिकसत्रबाट भर्ना भएका लक्ष्मी खत्रीले भने, ‘सरकारी विद्यालयको वातावरण शान्त हुनुका साथै अनावश्यक तनाव पनि हुँदैन्।’
शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख जीतबहादुर शाहले सामुदायिक विद्यालयको स्तरबृद्धि र केही विद्यालयहरुले अंग्रेजी माध्यममा पढाउन थालेपछि अभिभावकको आकर्षण बढ्न थालेको बताए। 

प्रकाशित: ५ वैशाख २०७५ १५:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App