८ वैशाख २०८१ शनिबार
अर्थ

तामाखानी सञ्चालनमा आएन

म्याग्दी – जिल्लाको मालिका गाउँपालिका–४, भिरखानीको तामाखानीलाई स्थानीय राजनीतिक दलका नेताले स्थानीय तह, प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनमा आफ्नो चुनावी नारा नै बनाए।

चुनावी अजेन्डामा प्राथमिकतामा रहेको तामाखानी सञ्चालनका बारेमा अहिले स्थानीयदेखि केन्द्रसम्मका जनप्रतिनिधिले कुनै चासो नदेखाउँदा स्थानीय निराश छन् । ओखरबोट गाउँबाट २० मिनेटको दूरीमा रहेका दुईवटा खानीको करिब दुई किलोमिटरको सुरुङ खनेर २०३६ सालसम्म नियमित सञ्चालन गरिए पनि सरकारी उपेक्षा र आधुनिक प्रविधिको अभावका कारण बन्द भएको तामाखानीमा तामा भेटिए पनि सम्बन्धित निकायले चासो नदेखाउँदा सञ्चालनमा समस्या भएको स्थानीय युवा नवीन पुनले बताए।

‘तामाखानी चुनावी नारा मात्रै बने, अहिले जनप्रतिनिधिको कुनै चासो छैन’, पुनले भने । उनकाअनुसार करिब पाँच मिनेटको दूरीमा रहेका दुईवटा तामाखानीको करिब २५ मिटरभित्रसम्म सहजै पुग्न सकिन्छ । खानी उत्खनन्का क्रममा प्रयोग गरिएका सामग्री, पुराना काठका साथै खानीलाई बलियो बनाउन पुराना ढुंगाहरू समेत खानीभित्र रहेका छन् । स्थानीय वृद्धवृद्धाका अनुसार उन्नाइसौं शताब्दीमा पत्ता लागेको तामाखानी जिल्लाका अन्य गाउँमा बन्द भए पनि आवश्यकताअनुसार खानी सञ्चालन गर्ने गरेका थिए।

स्थानीय जगदीश रसाइँलीका अनुसार हाल वडा अध्यक्षसमेत रहेका दिलीप शेरचनले तत्कालीन समयमा तामाखानीको ठेक्कासमेत लिएर सञ्चालन गरेकोमा पुनः सञ्चालनका लागि सरकारी निकायमा अनुमति माग्दासमेत बेवास्ता भएपछि अलपत्र अवस्थामा रहेको बताए।

खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई व्यवस्थित बनाउन प्रदेश सरकारले खानीसम्बन्धी कानुन बनाउनुपर्ने छ।

खानी चल्दा साविकको धौलागिरि अञ्चलका चारवटै जिल्लाका साथै देशका धेरै ठाउँमा कच्चा पदार्थको पूर्ति हुनुका साथै पुँजी पलायनसमेत रोकिएको थियो । खानीमा प्रयोग गरिएका सयौं वर्ष पुराना कलात्मक ढुंगासमेत चोरी हुन थालेका छन् । तामाखानी आसपासका क्षेत्रमा सुनखानीसमेत हुन सक्ने भन्दै एक वर्षसम्म नर्वेबाट आएका टोलीले गाउँका विभिन्न स्थानमा उत्खनन् गर्ने क्रममा ओखरबोट मावि आसपासका जंगलमा सिसाको खानीसमेत फेला परेको थियो।

ओखरबोटको तामा नर्वेसम्म पुगे पनि सरकारी प्रक्रिया पूरा गर्न नसक्दा विमानस्थलमै अलपत्र परेपछि निर्यात समेत रोकिएको वडा अध्यक्ष दिलीप शेरचनले बताए । उनकाअनुसार तामाखानीबाट धमाधम तामा निस्कने जानकारी पाएपछि २०३० साल मंसिर ७ गते स्वर्गीय राजा वीरेन्द्र शाह र रानी ऐश्वर्य दुईवटा हेलिकप्टरमा तामाखानी भएको स्थानमै पुगेर अवलोकन गरी फर्किएका थिए । तामाखानी सञ्चालन भइरहेको अवस्थामै खानीमा पुगेका स्वर्गीय राजाले आफ्नो देशभित्रको सम्पत्तिलाई नियमित सञ्चालन गर्ने वातावरण बनाउने प्रतिबद्धतासमेत जनाएका थिए।

यता मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले प्रयास भए पनि सरकारी निकायबाट असहयोग रहेको बताए । उनकाअनुसार अनुमति पाए तत्काल काम गर्ने दाबीसमेत गरे । खानी तथा भूगर्भ विभागबाट प्रक्रियालाई व्यवस्थित बनाउन प्रदेश सरकारले खानीसम्बन्धी कानुन बनाउनुपर्ने जवाफ दिएको अध्यक्ष रोकाले बताए । म्याग्दी जिल्लाको मालिका, धौलागिरि, रघुगंगा गाउँपालिकाभित्र करिब एक दर्जन खानी रहेका छन्।

सयौं वर्षअगाडि खानी उत्खनन् गर्ने क्रममा छन्त्याल जातिले ताकमको मच्छिम, गुर्जा, मल्कवाङ, कुइनेमंगले लगायतमा मानवबस्तीसमेत विस्तार गरेका थिए । जिल्लाका माथिल्लो क्षेत्रमा तामा, चुनढुंगा, क्वार्ज, कप्रक, स्लेटढुंगा, मार्बल र इन्धनका खनिज पदार्थमा तातोपानीका मुहानसमेत रहेका छन्।

प्रकाशित: ६ वैशाख २०७५ ०१:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App