१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कञ्चनपुर कारागारमा तेब्बर कैदीबन्दी

कञ्चनपुर – कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन्।

कारागारका जेलर श्यामप्रसाद भट्टले कारागारमा क्षमताभन्दा तेब्बर बढी कैदीबन्दी पुगेको बताए। कारागारभित्रका कोठामा ठाउँ नभएपछि कैदीबन्दीलाई ग्यालरी, खाली ठाउँ र एकै कोठामा धेरै जनालाई राखिएको छ।

कैदीबन्दीले पटक–पटक समस्याबारे कारागार प्रशासनलाई जनकारी गराउँदै आएका छन्। कारागार प्रशासनले जिल्ला प्रशासन कार्यालय र कारागार विभागलाई जानकारी गराउँदै आएको छ। कैदीबन्दीका समस्याबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै आएका छौँ, जेलर भट्टले भने, ‘समस्या समाधान भएको छैन।’

कारागारमा कैदीबन्दी बस्नका लागि दुई ब्लक छन्। ती दुवै ब्लकको ग्यालरीमा कैदीबन्दी बस्ने गरेका छन्। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, धनगढीले भवन निर्माण गर्ने जानकारी आएको जेलर भट्टले बताए। ‘कारागारमा भवन बन्ने कुरा आएको छ, त्यो भवन बनेपछि मात्रै समस्या समाधान हुन्छ,’ उनले भने।

कैदीबन्दीले संघर्ष समिति बनाएर कारागार सुधारका लागि आन्दोलनसमेत गर्दै आएका छन्। कारागारका जेलर भट्टले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि विद्युत्, पानी र शौचालयको समस्या भएको बताए। ‘विद्युत्को हकमा पुरानो छ, त्यो जुन बेला पनि सर्ट हुनसक्ने डर छ’, जेलर भट्टले भने। रासस

प्रकाशित: ६ वैशाख २०७५ ०४:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App