१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

महेन्द्र हिँडेको गोरेटोले सडकको रुप लियो

बाम्राङमा एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक उद्घाटन गर्दै मेयर दिपनारायण रिजाल। तस्बिर : दमन राई/नागरिक

खोटाङ – खोटाङको बाम्राङमा एकैसाथ पाँच सडक उद्घाटन गरिएको छ। गोरेटो बाटो छँदा ६२ वर्षअघि तत्कालिन राजा महेन्द्रले पैदल हिँडेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक, वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक, झ्यालीकुवा–वडा कार्यालय सडक, इटाभट्टी–सुर्के–थापाटोल–देबिस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक शिलान्यास गरिएको हो। आर्थिक वर्ष २०७४/०७५ मा नगरपालिकाबाट वडा कार्यालयका लागि विनियोजित ५० लाखको खर्चमा निर्माण गरिएको पाँच वटा सडक बुधबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन्।

४ किलोमिटर लम्बाई भएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक ३० लाखको लागतमा र वडा कार्यालय–नंग्रेखोला–सार्कीगाउँ–रातोपानी–कट्टी सडक ८ लाखको लागतमा निर्माण गरिएको वडाध्यक्ष ललितकुमार राईले बताए। बिक्रम सम्बत २०१३ सालमा पुर्वाञ्चल भ्रमणमा निस्केका तत्कालिन राजा महेन्द्रले दिक्तेल–बुईपा गोरेटो बाटो अन्तरगत एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे हुँदै ओखलढुंगातर्फको यात्रा गरेका थिए। २०६६ सालमा तत्कालिन जिविस र गाबिसको बजेटबाट सामान्य ट्र्याक खोलिएको सो बाटोलाई यस आर्थिक वर्ष ८ मिटर चौंडाईमा फराकिलो बनाइएको हो। अहिले पनि स्थानीयले सो सडकलाई ‘राजा हिँडेको बाटो’कारुपमा चिनाउने गरेका स्थानीय कृष्ण मगरले बताए।

यस्तै, झ्यालीकुवा–वडा कार्यालय सडक, इटाभट्टी–सुर्के–थापाटोल–देबिस्थान सडक र सिमेडाँडा–माझ थापाटोल–वडा कार्यालय सडक ४/४ लाखको खर्चमा निर्माण गरिएको हो। पाँच वटै सडक ग्रेड मिलाएर ८ किलोमिटर चौंडाईमा निर्माण गरिएको एक्ले पिपल–नेवारगाउँ–मगरटोल–भँडारे–सिरिसे सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष भरत राईले बताए। गाउँलाई सडकको पहुँचमा पु-याउनका लागि वडाको ५० लाख बजेट सडक निर्माणमा विनियोजन गरिएको वडाकार्यालयले जनाएको छ।

सडक उद्घाटनकाक्रममा सडकमा गुडेको गाडी र अतिथिलाई स्थानीयले अबिर दलेर खुसीयाली मनाएका थिए। सडक निर्माणको नाममा बजेट सक्ने प्रबृत्ति बढिरहेका समय बाम्राङबासीले भने गुणस्तरिय सडक निर्माण गरेको मेयर रिजालले बताए। एमालेका जिल्ला उपाध्यक्ष राम दंगाल, कांग्रेसका जिल्ला सदस्य प्रकाश श्रेष्ठ, राप्रपाका अध्यक्ष जीवन श्रेष्ठ लगायतले फराकिला सडक निर्माण गरेकामा उपभोक्ता समितिको प्रशंसा गरे।

प्रकाशित: ६ वैशाख २०७५ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App