७ वैशाख २०८१ शुक्रबार
समाज

आठराईमा डिप बोरिङबाट खानेपानी निकाल्न शुरु

आठराई – खानेपानीको चर्को समस्यालाई हल गर्न तेह्रथुमको आठराई गाउँपालिकामा डिप बोरिङ प्रणालीबाट पानी निकाल्न शुरु गरिएको छ। 

गाउँपालिकाको केन्द्र संक्रान्तिबजार नजिकै झुमेडाँडाबाट आज बिहानदेखि पानी निकाल्न शुरु गरिएको हो। बोरिङ गर्न शुरु गरेको दुई घण्टामै पानीको पहिलो सतह भेटिएको छ। काठमाडौँमा रहेको क्रिस्टल ड्रिलिङ कम्पनीले सम्भाव्यता अध्ययन गरी बोरिङको काम शुरु गरेको हो । 

आठराई क्षेत्रको खानेपानीको समस्यालाई हल गर्न झापाको दमकस्थित अर्पिट रियल स्टेट कम्पनीको लगानीमा बोरिङ गरी जमिनमुनिको पानी निकाल्ने काम भएको हो। बोरिङबाट पानी निकाल्न आठराई गाउँपालिका–१ संक्रान्तिबजारको वडा कार्यालयले अर्पिटलाई अनुमति दिएको हो। 

सतहको पानी बोरिङ गरी बाहिर निकाल्न मात्र रु ५० लाख, ट्याङ्की निर्माण र पाइप विस्तारका लागि रु ५० लाख गरी रु एक करोड लगानी हुने अर्पिटका प्रबन्धक भैरव सिटौलाले बताए। पानी निकाल्न स्थानीयवासी झुमनाथ काफ्लेले रु ४० लाख मूल्य बराबरको चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। 

संक्रान्तिबजारस्थित मालपोत चोकबाट पानी निकाल्ने स्थान झुमेडाँडासम्म केजी निर्माण सेवाले रु आठ लाख लागत बराबरको एक किलोमिटर मोटरबाटो निःशुल्क निर्माण गरिदिएको प्रबन्धक सिटौलाले बताए। सुख्खायाम शुरु भएपछि आठराईको संक्रान्तिबजार, थोक्लुङ, चुहानडाँडा, छातेढुङ्गामा खानेपानीको अभाव हुने गर्छ। 

प्रकाशित: ६ वैशाख २०७५ ०७:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App