८ वैशाख २०८१ शनिबार
राजनीति

‘सभापतिको विरोध गर्नेहरूको पार्टीभित्र खैरियत छैन्’

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले रित्त रहेका पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका छन्। 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले पार्टीको केन्द्रीय कार्यसमिति बैठक भोलिबाट सुरु हुने र सोही बैठकले पदाधिकारी मनोनित गर्ने स्पष्ट पारेका हुन् । उनले भने, ‘पार्टी सभापतिजीले चाँडै नै पदाधिकारी मनोनित गर्नुहुन्छ, हुन त यो ढिलो भयो, संगठन क्रियाशिल बनाउनको लागि पनि यो चाँडै गर्नुपर्ने थियो, केही विलम्ब भयो तर अब हुन्छ।’

नले निर्वाचनमा पार्टीले गम्भीर पराजय भोगेको बारेमा केन्द्रीय कार्यसमिति बैठकमा वृहत्त समीक्षा भैरहेको जनाए । उनले भने, ‘छलफल समाप्त भएको छैन, हामी एउटा गम्भीर समीक्षा गर्छौं, समीक्षाबाट आएको निश्कर्षका आधारमा भोलिका दिनमा पार्टीलाई मार्गनिर्देशन बनाउँदै अघि बढाउँछौं।’ उनले पार्टी अब पूर्ण एकताका साथ अघि बढाउने संकल्प सुनाए। 
पूर्वपरराष्ट्रमन्त्री समेत रहेका नेता महतले पार्टीका आन्तरिक विषयहरू भित्रैबाट हल गर्ने पनि सुनाए । उनले भने, ‘नेताहरु त अहिले संयमित हुनुभएको छ, पहिलो एजेण्डा भनेको अब पार्टी एक ढिक्का हुन्छ, यसमा कुनै दुईमत छैन्, दोस्रो कुरा भनेको कम्युनिष्ट सरकारका बदमासीहरूलाई औंल्याउने र खबरदारी गर्ने हो, अहिलेको सरकारले अधिकार केन्द्रित गरिरहेको छ, सरकारलाई पार्टीकरण जस्तो र पार्टीलाई सरकारजस्तो बनाउने काम भयो भने हामी खबरदारी गर्छौं, त्यस्तै सरकारले राम्रो काम गर्यो भने हामी समर्थन गर्छौं।’ डा. महतले सरकारले नियम मिचेर काम गरे पार्टीले एक स्वरमा विरोध गर्नेपनि जनाए । 

नेता महतले यसअघि कांग्रेस नेतृत्वको सरकारले ६५ वर्ष पुगेकाहरुलाई वृद्धभत्ता दिनेबारे गरेको निर्णय वर्तमान सरकारले खारेज गरे आफूहरुले कडा विरोध गर्ने चेतावनी दिए । उनले भने,‘एमाले र माओवादीले चुनावमा ५ हजार दिन्छु भनेर सस्ता नारा दिनुभयो, हामीले गाउँ, दुरदराजमा रहेका बृद्धाहरुलाई हितमा राखेर निर्णय गर्दा किन विरोध गरेको ? उहाँहरुको मोडेलमा जाँदा ६० अर्ब खर्च हुन्छ, तर हाम्रो मोडेलमा जाँदा ४० अर्बमात्रै हुन्छ।’

नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवा भूमिगत गिरोहबाट सञ्चालित हुनुभएको छ भनेर आरोप लगाएको प्रसंगमा उनले भने,‘सभापतिको विरोध गर्नेहरूको पार्टीभित्र अब खैरियत छैन।’

उनले केसीलाई केन्द्रीय सदस्यमा सभापति देउवाले नै मनोनित गराएको स्मरण गराए । उनले भने,‘केसीलाई पनि सभापतिले टिकट दिएर नुवाकोटबाट चुनाव लड्नुभएको हो नि, अहिले कसले के भन्यो भन्ने कुरातिर म जान चाहन्न, मुल कुरा पार्टी एक भएर जान्छ।’

प्रकाशित: ६ वैशाख २०७५ १०:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App