८ वैशाख २०८१ शनिबार
समाज

जगमै सिमित भूकम्प पीडितको घर

धादिङको बेनिघाट रोराङका भूकम्प पीडितले घर बनाउन हालिएको अलपत्र अवस्थाको जग। तस्बिरः सरिता /नागरिक

धादिङ – डीपीसी सकिएर छोडिएको घर। चारैतिर एक–एक वटा रड गाडिएको छ। वरपर गाडिएको रड बाङ्गा टिङ्गो भइसकेको छ। बेनिघाट रोराङ १ का बीरबहादुर तामाङले सुरु गरेको घरको जग अलपत्र छ। तामाङले पहिलो किस्ताको ५० हजार लिएर घर बनाउन सुरु गरेका थिए।

पुसमै डीपीसी गरेर छोडेको जगलाई पूरा गर्न सकेको छैन। घरको पुनः निर्माण गर्न नसक्दा टहरामा नै बास भएको तामाङले बताए। ‘बैकमा पैसा लिन पनि झन्झट छ, सरकारले दिएको रकमले पनि पुग्दैन’ तामाङले भने, ‘भूकम्पपछि घामपानी सहदै टहरामानै छु।’ उनी अहिले भूकम्पले भत्काएकै घरमा टहरा बनाएर बसिरहेका छन्।

तामाङले दोस्रो किस्ता लिनका लागि माघ महिनामा फोटो खिचेर निवेदन दिएका थिए। बैंकमा दोस्रो किस्ता पनि आइसक्यो होला तर उनले डीपीसी गरेको घरलाई पूरा गर्न सकेका छैनन्। घरदेखि बैंकसम्मको दूरी टाढा र बैंकको झन्झट सम्झेर पनि घर निर्माण पूरा गर्न नसकेको तामाङले बताए। ‘बैकमा पैसा लिन गयो के के कागजपत्र मिलेन भन्छन्’ तामाङले भने, ‘आवास निर्माणका लागि आएको खर्च आउजाउमै खर्च हुन्छ।’ पहिलो किस्ता लिन जादा पनि तामाङले झन्झट व्यहोर्नु परेको थियो। अन्य निर्माण सामग्रीको मूल्यमा भारी वृद्धि भएपछि जग राखेको घर अलपत्र भएको हो।

पहिलो किस्ता लिएर घर बनाउन सुरु गरेका अधिकांश भूकम्प पीडितको घरको जग अलपत्र अवस्थामा छ। डीपीसी गरिएर छोडिएको ठाउँ बालबालिकाको खेल्नै मैदान, अन्नबाली राख्ने ठाउँ, गाईबस्तु बाँध्ने ठाउँ र पूराना सामान थन्काउने ठाउँ बनेको छ। सरकारले पहिलो पटक पुस मसान्तसम्म दोस्रो किस्ता लिने म्याद तोकिएपछि त्यतिबेला किस्ताका लागि रातारात सयौं घरका जग थपिएका थिए। थपिएका जग अहिले त्यतिमै अलपत्र अवस्थामा छन्। दोस्रो किस्ता लिने म्याद गुज्रनै लाग्दा पनि अलपत्र जगलाई पूरा गर्न भूकम्प पीडित हौसिएका छैनन्।

सरकारले अनुदान दिने अवधि सकिदै छ भन्ने सन्देश विभिन्न संचारमाध्यमबाट थाहाभएपछि त्यतिबेला घरको जग थपिएको थियो। एकैपटक धेरै घर निर्माण गरिएपछि कामदार नपाउने, ज्याला बढ्ने, निर्माण सामग्रीको महङगी जस्ता समस्या देखिएको त्रिपुरासुन्दरी गाउँपालिकास्थित मुलपानीका गोपाल अधिकारीले बताए। ‘ढुवानी नै दोब्बर लाग्छ कसरी घर पूरा गर्नु’ अधिकारीले भने, ‘त्यसले पनि कतिपय पीडितले बनाउन थालेका घरहरु त्यसै अलपत्र बनेका हुन्। कतिपय ठाउँमा डीपीसी गरिएपछि प्राविधिक नै गाउँमा नपुग्दा दोस्रो किस्ता लिन नपाउदाँ घरको जग अलपत्रै परेका हुन्।

घरको आवश्यकता नहुनेहरूले पनि किस्ता लिनकै लागि भनेर जग हालेका छन्। भूकम्पपछि जिल्ला बाहिर बसोबास गर्नेहरूले पनि अुनदान लिएर जग हालेका छन्। जिल्लाको बेनिघाट, गजुरी, पीडा, मुलपानी लगायतका ठाउँहरूमा हालिएको घरको जग त्यतिकै छ। भिरालो जग्गामा बनाइएको घरको जगमा माथिबाट पहिरोले परिएको छ भने कसैले जगमाथि नै जस्ता छाएर गाईबस्तु बाँधेका छन्।

अनुदान पाउने प्रक्रियाको झन्झटले कतिपयले घरको जग हालेर त्यतिकै छाडेका छन्। बनाएकाहरूले पनि दोस्रो किस्ता लैजान सकेका छैनन्। आवास अनुदान लिएर निर्माण थालिएका जिल्लाका अधिकांश घरहरू अनुदान पाउनकै लागि मात्रै बनाइएको छ।  गाउँबस्तीमै बस्न बाध्य हुनेहरूले मात्रै आफ्नो परिवार बस्न अनुकूलको घर बनाएका छन्। केहीले एकदेखि २ कोठसम्मका टहरा निर्माण थालेका छन्। सरकारले दिने ३ लाख अनुदानमा कम्तीमा ११ फिट लम्बाई र ८ फिट चौडाई तोकेपनि अधिकांश बस्तीमा परिवार बस्न नमिल्ने खालका एकैनाशका घर निर्माण भइरहेका छन्।

जिल्लामा ७३ हजार २ सय ७६ कुल लाभग्राही रहेकोमा ६९ हजार ६ सय ५८ घरधुरीले अनुदान सम्झौता गरेका थिए। सरकारले आवास निर्माणका लागि तीन चरणमा अनुदान दिएपछि ६८ हजार ८ सय ४० घरधुरीले पहिलो किस्ता लिएका थिए। तर पहिलो किस्ता लिएर जग हालेपनि कतिपयले जगमै सिमित बनाएका छन्। २७ हजार ३ सय ७३ जनाले मात्र दोस्रो र ६ हजार ९२ घरधुरीले तेस्रो किस्ताको रकम लिएका छन्। राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार जिल्लामा भूकम्पपछि १८ हजार ९ सय ४० घरधुरी निर्माण सम्पन्न भइसकेका छन्। अनुदान पाएका ४५ हजार १ सय २३ घरहरु अहिले बन्दै गरेका छन्।

प्रकाशित: ६ वैशाख २०७५ १०:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App