७ वैशाख २०८१ शुक्रबार
खेल

चोरीधन्दामा संलग्न फुटबलर श्रेष्ठसहित २ पक्राउ

काठमाडौं– महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीधन्दामा संलग्न फुटबलरलाई पक्राउ गरेको छ। केही समयअघि म्याच फिक्सिङ प्रकरणमा राष्ट्रिय टिमका कप्तानसहित केही खेलाडीमाथि मुद्दा चलेको घटना सेलाउन नपाउँदै प्रहरीले चोरी धन्दामा संलग्न भएको आरोपमा ए डिभिजनको सरस्वती क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठलाई विहीबार कपनबाट पक्राउ गरेको हो।

चोरीको सामान किनबेच गर्दै आएका सुवास खड्कालाई काठमाडौं ८ को रेम्बोडाँडाबाट नियन्त्रणमा लिई सोधपुछ गर्दा उनले साथीहरु मिलेर सामान किनबेच गर्ने भन्दै दिपेशको नाम खुलाएका थिए। प्रहरीले दिपेशको कोठामा छापा मार्दा चोरीका सामान भेटिएपछि उनलाई पनि नियन्त्रणमा लिएको हो।

काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार श्रेष्ठलाई जिल्ला अदालतबाट म्यान थप गरी अनुसन्धान कार्य अघि बढाइएको छ। ‘चोरीको सामग्रीका जो जो धनी छन्, उनीहरुको जाहेरीका आधारमा कारवाही अगाडि बढाउँछौं’, उनले भने।

श्रेष्ठको टिममा ४/५ जना रहेको र उनीहरुको खोजी भइरहेको पोखरेलले बताए। ‘चोरीको सामान लिने र नेटवर्किङ गरेर बच्ने गरेको पाइएको छ। श्रेष्ठले दुई महिना मात्रै भो काम थालेको भनेका छन्’, उनले भने।
श्रेष्ठले धेरै क्लबबाट फुटबल खेलेका छन्। प्रहरीले उनको कोठामा छापा मार्दा ३३ वटा मोबाइल, २ आइफोन, पावरपोइन्ट ३ थान, सोनी कम्पनीको ३२ इञ्च टिभी, एलसिडी १ थान, क्यामेरा २ थान, ५ थान ल्यापटप, ४३ हजार नगदसहित महत्वपूर्ण सामान बरामद गरेको छ।

‘यो समूहले चोरीको सामान किन्ने र सस्तोमा बेच्ने गर्दाेरहेछ। श्रेष्ठले आफैं म फुटबल खेलाडी हो, मोबाइल मर्मत गर्छु। बाहिरबाट ल्याएर विक्री गर्छु भन्ने वयान दिएका छन्’, एसएसपी पोखरेलले भने– ‘उनीमाथि म्याद थप गरी आवश्यक अनुसन्धान हुँदैछ। अभियुक्तमाथि मुलुकी ऐन चोरी महल बमोजिम कारवाही हुन्छ।’

प्रकाशित: ६ वैशाख २०७५ १०:०० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App