coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

फेसबुकको प्रेमीले बन्धक बनाई बलत्कार गराए

सुर्खेत – दुई वर्षसम्मको फेसबुक र फोनमा परेको ‘लभ’ पछि रुकुमकी २७ वर्षीया एक युवती कोहलपुर, बाँकेका ३० वर्षीय तेजेन्द्र तिवारीसँग विवाह गर्न राजी भइन्। फोन र फेसबुकबाटै ‘भाग्ने’ मिति तय भयो। तिवारी फागुन चार गते युवतीलाई भगाउन रुकुम पुगे। तिवारीलाई कुरिरहेकी युवतीको राति १० बजे चौरजहारी बसपार्कमा तिवारीसँग प्रत्यक्ष भेट भयो। फेसबुक र फोनमै संगै जीउने र मर्ने कसम खाइसकेकाले त्यहीँ राति उनीहरु भागेर सुर्खेत आइपुगे।

१० दिन सुर्खेत र नेपालगञ्जका होटलमा विताएपछि उनीहरु भारतको गुजरात पुगे। तिवारीले युवतीसँग चिनजान हुँदै आफू ‘भारतीय प्रहरी’ को जागिरे रहेको बताउने गरेका थिए। गुजरात पुग्दासम्म तिवारीसँग शंका गर्नुपर्ने कुनै ठाउँ थिएन्।

जव उनी गुजारत पुगिन्, कहालिलाग्दा दिनहरु सुरु भए । गुजरात पु-याएकै रातिबाट उनीमाथि सामुहिक बलात्कार हुन थाल्यो। ‘होटलको कोठामा बन्धक बनाएर ममाथि दैनिक बलात्कार हुन थाल्यो’ युवतीले भनिन्, ‘चिच्याउँदा मुख थुन्थे, मार्ने धम्की दिन्थे।’ युवतीका अनुसार दैनिक तीनदेखि छ जनासम्म युवकहरु आउँथे। बलात्कार गरेर जान्थे । प्रतिकार गर्न खोज्दा धम्की दिन्थे।

भाषा बुझिन्नथ्यो। युवतीको चित्कार आउनेहरुले सुन्दैनथे। फागुन १५ देखि चैत २० गतेसम्मका ३५ दिन उनका लागि जीवनकै कहालिलाग्दा भए। सँगै बाँच्ने र मर्ने कसम खाएकैबाट होटलको कोठामा बन्दी बनाएर बलात्कृत हुँदाको पीडा उनी शब्दमा व्यक्त गर्न सक्दिनन्। ‘दिनभरी केटाहरु पठाउँथ्यो, बलात्कार गरेर जान्थे, राति आफू आउँथ्यो’ युवतीले भनिन्, ‘पैसाका लागि तलाई बेचिदिन्छु, यहाँबाट बाहिर जाने ठाउँ छैन् भन्दै धम्क्याउँथ्यो।’

चैत २१ गते दिउँसो उनी होटल सञ्चालकको सहयोगमा नेपालीको सम्पर्कमा पुगिन्। उनीहरुकै सहयोगमा नेपालसम्म आइपुगेकी युवतीले चैत २८ गते इलाका प्रहरी कार्यालय कोहलपुरमा मानव बेचविखन र जवरजस्ती करणीमा उजुरी दिइन्।

युवतीलाई पछ्याउँदै आएका तिवारीलाई प्रहरीले बैशाख २ गते पक्राउ ग¥यो। सुरुको घटना सुर्खेतको बोटेचौरमा भएकाले कारवाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरले लिखित जाहेरी र पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय छिन्चुलाई बुझाएको छ।

छिन्चु प्रहरीले जिल्ला अदालतबाट म्याद थप गरेर घटनाको अनुसन्धान गरिरहेको छ। ‘प्रारम्भीक अनुसन्धानबाट विभिन्न प्रलोभनमा पारेर भारत पु-याई बन्धक बनाएर युवतीमाथि सामुहिक बलात्कार भएको देखिन्छ’ इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक मधुसुदन न्यौपानेले भने, ‘हामी अनुसन्धानकै क्रममा छौं, सबै विवरण अहिले नै भन्न मिल्दैन्।’ युवतीलाई बेचविखन गर्ने उद्देश्यले प्रलोभनमा पारेर भारत पु-याइएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ। ‘भारतमा पु-याएर होटलको कोठामा बन्धक बनाइनु, केटाहरु पठाएर बलात्कार गर्न लगाउनुलगायतका कारणहरुले बेचविखन गर्न लगेको हुनसक्छ’ उनले भने, ‘बयान लिने काम भइरहेको छ, केही नयाँ तथ्यहरु पनि खुल्दैछन्।’

रुकुमबाट भगाएर ल्याएपछि खर्च अभाव रहेको भन्दै तिवारीले युवतीले लगाएका सुनका झुम्का, सिक्री बेच्न लगाएका थिए । युवकले आफू अविवाहित रहेको बताएका थिए। प्रहरी अनुसन्धानबाट उनले यसअघि तीन वटा विवाह गरिसकेको खुलेको छ। ‘पहिलेका तीन वटी श्रीमतीबाट तीन वटा सन्तान पनि रहेछन्’ न्यौपानेले भने, ‘अरु अनुसन्धान हुँदैछ।’

प्रकाशित: ७ वैशाख २०७५ ०५:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App