४ वैशाख २०८१ मंगलबार
खेल

एफिएफसँग कावरान स्तब्ध

चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपमा शुक्रबार भिड्दै एफिएफ क्लब (सेतो) र बंगलादेशको कावरान प्रगति संघका खेलाडी । तस्बिर : भीम

इलाम – सशस्त्र प्रहरीको एपिएफ क्लब बंगलादेशको कावरान प्रगति संघलाई पराजित गर्दै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको क्वार्टरफाइनल उक्लेको छ । खेलको पूरै समय विपक्षीलाई दबाबमा राखेको एपिएफले १ का विरुद्ध ३ गोलको जित नतिजा निकाल्यो । 

ठूलो टुँडिखेलमा भएको दोस्रो दिनको खेलमा एपिएफका युवराज खड्काले खेलको १० मिनेटमै पहिलो गोल गरे । श्याम नेपालीको पासमा युवराजले डि–बक्सभित्रैबाट सहज गोल गरेका थिए । खेलको ३५औं मिनेटमा एफिएफकै रूपबहादुर लामाले आकर्षक गोल गरे । आफैंले गरेको प्रहार विपक्षीको पोस्टमा रिबाउन्ड भएपछि पुनः उनले बललाई जाली चुमाएका थिए । 

पूर्वार्धमा २–० गोलले पछि परेको कावरानमाथि उत्तरार्धको तेस्रो मिनेटमै एपिएफका नवीन लामाले अर्काे गोल थपिदिए । कारवरानका अलाम्गिरले उत्तरार्धको ३३औं मिनेटमा निकै आकर्षक तरिकाले बललाई जाली छुवाए । कर्नरलाई हेडमार्फत् उनले गोल गरेपनि जितका लागि पर्याप्त हुन नसक्दा पहिलोपटक माइभ्यालीमा प्रतिस्पर्धा गरेको कावरान प्रि–क्वार्टरबाटै घर फर्किन बाध्य भयो । 

खेल अवधिभर दुवै टिमले निकै सुनौला अवसर सदुपयोग गर्न सकेनन् । पूर्वार्धमा कावरानका अलाम्गिरले विपक्षीको गोल पोस्टछेउमा पाएको सुनौलो अवसर खेल फाले । उत्तरार्धमा पनि उनले त्यस्तो अवसर सदुपयोग गर्न सकेननन् । एफिएफका खेलाडीले दर्जन हाराहारी सहज मौका गुमाए । एपिएफका रूपबहादुर लामा म्यान अफ् दि म्याच घोषित हुँदै नगद १० हजारका भागीदार बने । एफिएफ क्लब राष्ट्रिय टिमका आदित्य चौधरी र रञ्जन बिष्ट तथा अन्डर–२३ का सुदीप सिक्राकारसहित नवीन लामाको कप्तनीमा मैदानमा थियो ।

राष्ट्रिय टिमका खेलाडीहरू रोनी, राजोन र डिडार तथा अन्डर–२३ का राजीवसहित मैदानमा उत्रेको कावरान बंगलादेशको ए–डिभिजन टोली हो । बंगलादेशका धेरै प्रतियोगिता जितेपनि इलाम आउन करिब ३० घण्टा यात्रा गर्नुपरेकाले खेलाडी थाकेर आफूहरूले उत्कृष्ट प्रदर्शन गर्न नसकेको कावरानका प्रशिक्षक उज्जल खानले बताए । ‘खेलको व्यवस्थापन, निर्णायकलगायत सबै पक्ष राम्रो लाग्यो तर हाम्रा खेलाडी लामो यात्राबाट आएकाले थकित भएर खेल्न सकेनन्,’ उनले भने, ‘सर्ट पासमा उल्लेख्य अवसर सदुपयोग भएन ।’ उनले आफ्नो विपक्षी एफिएफका खेलाडीको कम्बिनेसन र सेटिङ उत्कृष्ट लागेको पनि बताए। 

एफिएफका प्रशिक्षक गणेश लावतीले बंगलादेशलाई आफूहरूले कमजोर नसोची तयारी गरेर आएकाले सफल भएको बताए । ‘हाम्रो पनि सबै अवसर सदुपयोग हुन सकेन, राम्रा अवसर चुकेका थिए,’ उनले भने, ‘आउँदा खेलमा ती कमजोरी सुधार गर्नेछौं ।’ उनले आफ्नो क्लब चौथो संस्करणको माइभ्याली गोल्डकपको फाइनलसम्म पुग्ने नै लक्ष्यले सहभागी भएको पनि बताए । ‘गत सिजनमा ६ वटा फाइनल खेल्दा एउटमा हाम्रो जित थियो,’ उनले भने, ‘यो पटक पनि हाम्रो तार्गेट फाइनल खेल्ने नै हो ।’ विजेता एफिएफले आउँदो वैशाख ११ मा झापा–११ सँग क्वार्टर फाइनल खेल्नेछ। 

प्रतियोगिताको शनिबारको खेल काठमाडौंको संकटा क्लब र भारत सिक्किमको सिक्किम युनाइटेडबीच हुनेछ। 
 

प्रकाशित: ७ वैशाख २०७५ १३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App