६ वैशाख २०८१ बिहीबार
अन्य

जब घरमै जात काँढियो

डा. तारानाथ शर्मा

म २००७ सालमा पिता नभएको अवसर पारेर इलामको फिक्कलबाट १६ जना लाहुरे अर्थात् बेलाइती सेनामा सेवा गरी अवकाश पाएकालाई लिएर झापातिर झरेँ।

झापामा नेपाली कांगे्रसको नेतृत्वमा राणा ‘सरकारसँग युद्ध हुँदै थियो । मलाई त्यही झापा शिविरमा बन्दुक चलाउन सिकाइयो । त्यहा“ तीन-चार महिनासम्म युद्घ चल्यो । मैले नेपाली सबै दाजुभाईसँग कुनै भेदभाव नगरी एउटै ठाउँमा जुत्तासहित पल्याँटी कसेर अनेक प्रकारका मासु र खानेकुरा खाएँ । त्यसको कारण के थियो भने हाम्रो सनातन वैदिक धर्ममा लेखिएको छ भनी मेरो गुरुले सिकाउनु भएको थियो– ‘माता हुन् पार्वतीदेवी पिता हाम्रा महेश्वर, सबै मानव बन्धु हुन् सारा पृथ्वी नै भर!’

त्यती बेला जातभात उग्र रूपले पालन गरिन्थ्यो । हाम्रो युद्घ झापा जनताको विजयसहित सकियो । इलाममा भने राणाराजै थियो । जब व्यवस्थित रूपले हाम्रा सेनालाई जननेताहरूले इलामतिर लाने व्यवस्था गर्दै हुनुहुन्थ्यो, मैले अचानक मेरा पितालाई राणा सरकारले थुन्यो भन्ने नराम्रो खबर सुनेँ । उहाँ सरकारी कर्मचारी हुनुहुन्थ्यो । म असह्य भएर बिदा मागेर दार्जिलिङ तिरबाट घर फर्के । घरमा आमाले ‘तेरो जात गइसकेकाले तलाई धोती फेरिरहने आवश्यकता छैन,’ भनेर चुलामा जान नदिई, मुन्तिर क्षेत्री मितबा दीपबहादुर बस्नेतसँगै पिरा ओछ्याइदिनु भयो।

‘लडाईमा तैले शत्रुहरूसँग बसेर मनपरी खाइस् भनेर इलामभरी हल्ला छ, हाम्रो पनि जात काढिन्छ, त्यसैले तलाई चौका मुनी बसाउन लागेकी हुँ’ भन्दै आमाले मलाई पस्केको भात तल सारिदिनु भयो । त्यसपछि धोती फेरेर आएको म लगत्तै कोठामा फर्के र दौरा सुरुवाल कोट सहित जुत्तासमेत लगाएर फर्के । म खाना खान मात्र के लागेको थिए मेरा पिता पधेँरोमा नुहाएर त्यती बेलै फर्कनु भयो र झस्कदैँ भन्नुभयो, ‘ए तारा ! तैलेँ के गरेको हँ ? जाँ, धोती फेरेर आइज!’

‘म धोती फेरेरै आएको थिए, तर आमाले तेरो जात गयो भनेर चुल्हातिर चढ्नै दिनु भएन अनि लौ त भनी धोती फुकाली पूरा लुगा र जुत्ता समेत लगाएर यहीँ तल बसेको हुँ,’ मैले भने । पिताले आमालाई सोध्नु भयो, ‘यो हाम्रो छोरो हो कि हैन ? हो भने किन तल ?’ अनि म तिर फर्केर भन्नुभयो, ‘ए बाबु जा, लुगा फेरेर धोती लगाई आइज । अँ तैले आज गायत्री त जपिस् ?’ ‘जपेँ बा, नुहाए पनि,’ मैले भने।

घरमा आमाले ‘तेरो जात गइसकेकाले तलाई धोती फेरिरहने आवश्यकता छैन,’ भनेर चुलामा जान नदिई, मुन्तिर क्षेत्री मितबा दीपबहादुर बस्नेतसँगै पिरा ओछ्याइदिनु भयो ।

पिताजीले व्याख्या गर्नुभयो, ‘लडाँइमा के खाइन्छ के गरिन्छ त्यो एउटा क¬रा हो, महाभारतको युद्धमा हाम्रा पुर्खाहरूले भाग लिएकै हुन्, तर त्यहाँ गायत्री जप्ने, नुहाउने, जातभात मान्ने, खानेक¬रामा छनोट गर्ने व्यवस्था नै हुन सक्दैनथ्यो । तैलँे पनि झापाको राण विरोधी लडाँइमा के खाइस्, कसरी खाइस् र कसले पकाएको खाइस् भनेर खोजीनिति गर्नु हास्यापद हुन्छ । तर घरमा आएपछि र शान्तिकालमा भने आफ्ना रीति, आफ्ना नियम र धर्मलाई छोड्न¬ हुँदैन ! फेरि हाम्रो धर्मले ‘वासुधैव कुटुम्बकम’ अर्थात् विश्वभरीका सबै मानिस बराबर हुन् र ती आफ्नै बन्धु हुन् भनेकै छ।’

त्यसरी मेरा पिताको शिक्षाको प्रभावले म बढ्दै गए, पढ्दै गए । अनि पहिले त म रुद्री, चण्डी, भास्वती र पाणिनीको व्याकरण पढ्थेँ, पछि २००९ सालमा पिताजीले मलाई लगेर अंग्रेजी उच्च विद्यालय (खर्साङ)मा भर्ना गरिदिनु भयो । मलाई त्यहाँको छात्रवासमै भर्ना गरिएको हुनाले समस्त वातावरण अंग्रेजीमय थियो, क्राइस्टधर्मी थियो।

छात्रवासमा अंग्रेजी माध्यमको साथै बिहान–बिहान प्रार्थना पनि क्राइस्टधर्म अर्थात् नेपालीमा ‘क्राइस्टेली धर्म’ र अंग्रेजीमा ‘क्रिश्चियन रिलिजन’मै हुन्थ्यो । प्रार्थनाको एक घन्टा समय छात्रवासका समस्त छात्रले अनिर्वाय रूपले उपस्थित हुनैपथ्र्यो । विद्यालयका प्रधानाध्यापक ‘फादर म्याकी’ मलाई असाध्यै माया गर्नुहुन्थ्यो । प्रार्थनामा बस्दाको मेरो स्थिति उहाँ सधैँ ध्यानपूर्वक अध्ययन गर्नुहुँदो रहेछ। एक बिहान उहाँले प्रार्थना गर्दागदै मलाई बिस्तारी बोलाएर डोर्‍याएर अर्को कोठामा लानु भयो र भन्नुभयो, ‘तारानाथ ! प्रार्थनाको समयमा तिम्रो स्थिति म केही दिनदेखि हेर्दै आएको छुँ।

हो, तिम्रो धर्म अर्कै छ र तिमीलाई क्रिस्चियन प्रार्थना मन पर्दैन तर यहाँको अनुशासन पनि त विचार गर्नुप¥यो नि । तिमीलाई थाहै छ, म सधैँ हाम्रा छात्रलाई कक्षामा पढाउँदा आध्यात्मिक प्रश्न गर्छु जो क¬नै विशेष धर्मसित मात्र सीमित हुँदैन । तिमी सधैँ ती प्रश्नको उत्तरमा सर्वप्रथम हुदैँ आएका छौँ । मैले बुझेको छ तिमी आफ्नो परम्परागत वैदिक धर्मलाई नै मान्यता दिएर सोच्ने हुनाले महादेवको कृपाले तिमी आध्यात्मिक ज्ञानमा सर्वप्रथम हुदैँ आएका हौँ।

‘जसरी नेपाली, गणित, भूगोल र अंग्रेजीमा समेत तिमी सर्वप्रथम हुन्छौ, त्यसरी नै उनै आफ्नै भगवान् शिवको भक्त हुनाले तिमी आध्यात्मिक ज्ञानमा पनि अगाडि छौ । हेर, विद्यालयको अर्थात् कक्षाको आफ्नै अनुशासन हुन्छ, त्यसैले यहाँ क्राइस्टको प्रार्थना छोडेर अरु धर्मको प्रार्थना गर्न मिल्दैन । तिमीलाई प्रार्थना कक्षमा नबस भन्न मिल्दैन।

कृपया आऊ, प्रार्थना कक्षमा जाऊ । तिमी उसरी नै आफ्नो आसनमा चुपचाप बस्नु र अरु क्रिस्चियन प्रार्थना गर्छन्, तिमी चुप लागेर मनमनै आफ्नै भगवान् शिवलाई सम्झदैँ उनकै अर्थात् शिवजीकै जप गरेर बस्नु ।’यसरी मलाई आध्यात्मिक ज्ञान दिने ती मेरा गुरु फादर म्याकीलाई म सधैँ आदर गर्छ। हो त, सबै धर्म बराबर छन् र सबैले हामी सबैका परमेश्वरको गुण गाउँछन्, प्रार्थना गर्छन्।

 

प्रकाशित: ८ वैशाख २०७५ ०१:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App