१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

बेखानाराँ इंग्लिस बोर्डिङ स्कुल

खास नाम त उसको बेखानारायण हो । तर, सजिलो प्रयोगका लागि ‘बेखानाराँ’ हुन पुग्यो । भाषा खिइँदै जान्छ भनिन्छ नि । बेखानारायण पनि खिइँदै–खिइँदै बेखानाराँ भएको हुनु पर्छ।

टोलमा बेखानाराँको एउटा टेलरिङ पसल छ– बेखानाराँ टेलरिङ सेन्टर । सुन्दा नाम ठूलो भए पनि पसल भने खास ठूलो होइन । पुख्र्याैली पसल हो । टोलमा सबैजसो मानिस लुगा सिलाउन जाने बेखानाराँकै टेलरमा हो।

पसल चलिरहेकै थियो । कमाइ ठिकै थियो । तथापि बेखालाई त्यसको रफ्तार भने मन परिरहेको थिएन । दुनियाँ कहाँबाट कहाँ पुगिसक्यो । बेखाचाहिँ उही दुइटा कलघर मेसिनको चक्कामा घुमिरहेको छ, घुमिरहेको छ । बेखालाई अचेल यो जति चलाए पनि त्यहीँको त्यहीँ घुमिरहने कलघरको चक्का मन परिरहेको छैन।

उसलाई जति बेस्कन घुम्यो त्यति बेस्कन अघि बढ्ने गाडीको जस्तो चक्काले आकर्षित गरिरहेको छ । अब ऊ अघि बढ्न चाहन्छ ।अचेल बेखा सोचिरहन्छ । अब कसरी अघि बढ्ने ? आफूले जानेको सीप त यही लुगा सिउने मात्रै हो । तर, लुगा मात्रै सिलाएर अघि बढ्न त मुस्किल छ।

त्यसैले अरु पनि केही त गर्नै पर्छ । तर गर्ने के ? समस्या त यो पो हो । अघि बढ्नु पर्छ भन्दैमा नजान्या काममा हात हाल्नु त भएन । झन् उल्टो ढकेलिन के बेर । त्यसैले ऊ चाहन्छ आफ्नो यो पुर्खौली पेशालाई नै अझ उन्नति गरौँ । यसैलाई अझ अघि बढाऔँ । मान्छे थपेर हुन्छ कि, पसल बढाएर हुन्छ कि । के गर्दा हुन्छ, उनी सोचिरहेका छन्।

तर, सोच्ने भन्या पनि उही त हो नि । जति दिमाग छ त्यति त सोच्ने हो । सोच्नै नसोच्ने कुरा कहाँ सोच्न सकिन्छ र ? त्यसैले थप सोच्नका लागि बेखाले विभिन्न मानिसहरूसँग सल्लाह गर्न थाले । विभिन्न भनेर जोसुकैसँग होइन ।  जोसँग मन मिल्छ त्योसँग । कुरा गर्दै गए । सल्लाह लिँदै गए । योजना बनाउँदै गए।

‘म अहिले एउटा स्कुल खोल्दै छु दाइ । बोर्डिङ स्कुल ।’
‘स्कुल किन ?,’ मलाई अचम्म लाग्यो, ‘टेलरिङको काम बढाउने भन्या होइन ?’
‘हो दाइ ।’
‘अनि स्कुल किन खोल्ने त ?’
‘त्यो पनि टेलरिङकै काम बढाउनलाई हो दाइ,’ बेखाले झनै रहस्यमय कुरा सुनायो, ‘मलाई एउटा साथीले आइडिया दिएको दाइ । टेलरिङको काम बढाउने हो भने स्कुल खोल्नु पर्छ ।’
 

यो सबैको नतिजा के भयो भने पहिले–पहिले सधैँ कपडाको पोको बोक्दै हिँडिरहने बेखानाराँलाई हिजो मैले फाइलको चाङ बोक्दै हिँडिरहेको देखेँ । बेखानाराँको हातमा फाइल ! हेर्दै अनौठो दृश्य थियो त्यो । बेखानाराँलाई यो नयाँ ‘गेटअप’मा देख्नेबित्तिकै मैले सोधिहालेँ, ‘ओहो ! बेखानाराँ, के हो यो ? हातमा त फाइल पो बोकेर हिँडिरहेको देख्दै छु । के हो कुरा ?’
बेखानाराँ ङिच्च हाँसे । ३२ मा २२ वटा जति दाँत देखियो ।

ऊसँग भएको कूल दाँत पनि यति नै हो । ‘अँ...हें...हें...यो टेलरिङको कामलाई अलि बढाउँ कि भनेर लागिरहेको दाइ...’‘ए ! हो र ?’ मैले स्वतस्फूर्त खुसी व्यक्त गरेँ, ‘अनि काम बढाउन के गर्दै छौ त ? सिलाइको कारखाना खोल्दै छौ कि ?’‘कारखाना ? हें...हें...कहाँ कारखाना खोल्नु दाइ ।’ बेखाले टाउको कन्यायो ।‘अनि के गर्दै छौ त ?’‘म अहिले एउटा स्कुल खोल्दै छु दाइ । बोर्डिङ स्कुल ।’‘स्कुल किन ?,’ मलाई अचम्म लाग्यो, ‘टेलरिङको काम बढाउने भन्या होइन ?’
‘हो दाइ।’

‘अनि स्कुल किन खोल्ने त ?’‘त्यो पनि टेलरिङकै काम बढाउनलाई हो दाइ,’ बेखाले झनै रहस्यमय कुरा सुनायो, ‘मलाई एउटा साथीले आइडिया दिएको दाइ । टेलरिङको काम बढाउने हो भने स्कुल खोल्नु पर्छ ।’‘हैन यो टेलरिङ र स्कुलको के सम्बन्ध भन्या हँ ?’ मैले टाउको कन्याएँ।

‘ठूलै सम्बन्ध छ नि दाइ हें...हें...हें...,’ बेखा फेरि ङिच्च पर्यो, ‘स्कुल खोलेपछि त्यहाँ बच्चाहरू भर्ना हुन आउँछन् । बच्चा भर्ना भएपछि उनीहरूलाई स्कुलको ड्रेस चाहियो । त्यो ड्रेस जति मेरै टेलरमा सिलाउने । कम्पलसरी !’‘ओहो ! अनौठो कनेक्सन रहेछ ।’ मेरो दिमाग खुलेजस्तो भयो।‘बच्चाहरूको ड्रेस पनि एक जोर होइन, दुई जोर बनाउने । आइतबार, सोमबार, मंगलबार र बुधबार एक थरिको ड्रेस, बिहीबार र शुक्रबार अर्कैथरिको । हरेक शनिबार खेलकुद हुन्छ।

त्यसको लागि अर्कै ड्रेस । जाडो याममा फेरि अर्कै ड्रेस । हरेक वर्ष यति ड्रेस सिलाएपछि मेरो टेलरिङ त मालामालै होला नि । नहोला दाइ ?’ बेखाको आँखामा यस्तो चमक देखियो मानौं त्यो आँखा होइन कोहिनुर हीरा हो ।‘आइडियाचाहिँ गज्जब छ । अनि यसको लागि स्कुल एक्लै खोल्ने कि अरु पनि छन् पार्टनर ?’ मैले थप जिज्ञासा प्रकट गरेँ।

‘छन् दाइ । अरु दुई जना छन्,’ बेखाले योजना सुनायो, ‘त्यसमध्ये एउटाले स्कुलसँगै क्यान्टिन खोल्छ, अर्कोले किताब र कापी पसल खोल्छ । विद्यार्थीहरूले त्यही क्यान्टिनमा टिफिन किनेर खानु पर्छ, कम्पलसरी । आफूलाई चाहिने किताब र कापी पनि त्यही पसलमा किन्नु पर्छ । त्यो पनि कम्पलसरी ! हुन्न र दाइ ?’

अब हुन्न कसरी भन्नु ? स्कुल खोल्नुजस्तो राम्रो काम गर्न नहुने त कुरै भएन। आखिर शिक्षाले नै देशलाई अगाडि बढाउने हो । उसै पनि देशको कुनै पनि बालबालिका शिक्षाको ज्योतिबाट वञ्चित हुन नपरोस् भन्ने त राष्ट्रको अभियानै छ । राष्ट्रको त्यो अभियानलाई सफल पार्न बेखानाराँ पनि लागेको छ भने त्यो त राम्रै भयो।

अन्तमा मैले सोधेँ, ‘काम त राम्रै हो । अनि स्कुलको नाम चाहिँ के राख्ने भयौ नि बेखा ? अहिले त स्कुलको नाम पनि विदेशी नक्कल गर्नु हुन्न भन्ने छ।’‘नाम त एकदम मौलिक हो दाइ,’ बेखाले हातको एउटा फाइल पल्टाउँदै भन्यो, ‘मेरो स्कुलको नाम हो– बेखानाराँ इंग्लिस बोर्डिङ स्कुल ! कस्तो छ दाइ ?’जवाफ दिन मेरो वक् फुटेन । सायद जवाफ मेरो अनुहारको भावमा छापिइसकेको थियो ।

प्रकाशित: ८ वैशाख २०७५ ०१:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App