coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

सेलिब्रेटीबीच लोकप्रिय

स्मार्टफोनको अगाडि अहिलेका किशोरकिशोरी र युवा पुस्ताले लिपसिङ गरिरहेका छन् भने उनीहरूले पक्कै पनि म्युजिकल डट ली प्रयोग गरिहेका हुन सक्छन्।

यस एपलाई प्रयोगकर्ताहरुले म्युजिकल्ली पनि भन्ने गरेका छन् । केही वर्षअघि आएको डब्म्यासभन्दा अझ विकसित रूपमा आएको म्युजिकल्लीले अहिले धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान तानिरहेको छ।

म्युजिकल्लीले यसका प्रयोगकर्तालाई म्युजिक अर्थात् संगीतसँग मिल्ने गरी आफ्नै भिडियो बनाउन र प्रोफाइलमा सेयर गर्न सक्ने सुविधा दिएको छ । यसमा सर्वसाधारण सामाजिक सञ्जाल प्रयोगकर्ता मात्र नभई सेलिब्रटीले पनि आफ्नो कला देखाइरहेका छन् । चाहे आफ्नो फुर्सदको समयमा सामाजिक सञ्जालमा जोडिन होस् वा आफ्नो चलचित्रको प्रवद्र्धनमा होस्, सेलिब्रेटीले पनि म्युजिकल्ली प्रयोग गर्दै आइरहेका छन्।

भिडियो बनाउन, सन्देश पठाउन र लाइभ प्रसारणसम्म गर्न सक्ने सुविधा भएको चिनियाँ भिडियो सामाजिक सञ्जाल एप सन् २०१४ मा सार्वजनिक गरिएको थियो । यो एपको प्रयोग गरेर प्रयोगकर्ताले आफूले चाहेको र उपलब्ध साउन्ड ट्रयाकको प्रयोग गरेर १५ सेकेन्डदेखि एक मिनेटसम्मको भिडियो बनाउन सक्छन् । यसमा भिडियोको विभिन्न गति विकल्प (टाइम ल्याप्स, ढिलो, सामान्य, चाँडो) छान्न र पहिले नै रहेका फिल्टर र इफेक्ट पनि प्रयोग गर्न सकिन्छ।

दुई वर्षअघि बिजनेस इन्साइडरले सार्वजनिक गरेको एउटा सर्वेक्षणमा ६ मध्ये एक किशारकिशोरीले म्युजिकल्लीलाई आफूलाई सबैभन्दा रोचक लाग्ने एपको रूपमा उल्लेख गरेका थिए । यसले गर्दा, कलाकारहरूले उनीहरूको नयाँ नयाँ गीत सार्वजनिक र प्रवर्द्धन गर्ने प्लेटफर्मको रूपमा यसलाई प्रयोग गरिहेका छन्।एरियना ग्रान्ड, डेमी लोभाटो, एन्ड्रा डे, सेलेना गोमेज, शाकिरा, मेघान ट्रेनरलगायतका कलाकारले यो एपलाई आफ्नो नयाँ गीत सार्वजनिक गर्न प्रयोग गरेका छन्।

२५ करोडभन्दा धेरै प्रयोगकर्ता रहेको यो एपमार्फत दैनिक दुई करोडभन्दा धेरै भिडियो अपलोड हुन्छन् । भारतमा मात्र यसको प्रयोगकर्ताको संख्या डेढ करोडभन्दा बढी पुगिसकेको छ । भारतमा प्रतिभा भएका नवप्रवेशी कलाकारका लागि म्युजिकल्ली चर्चित हुने र सांगीतिक करियरलाई सहयोग गर्नका लागि यो उपयोगी भएको पाइएको छ।

भारतका किशोरकिशोरी मात्र होइन, कलाकारमाझ पनि यो एप चर्चित हुँदै गइरहेको छ । बलिउड सेलिब्रेटी श्रद्धा कपुर, टाइगर शराफ, शाहिल कपुर, डिसा पटानीलगायतले म्युजिकल्लीको यात्रा सुरु गरिरहेका छन् । उनीहरूको म्युजिकल्ली प्रोफाइलमा विभिन्न खालका रमाइला भिडियोहरू देख्न पाइन्छ ।

नेपालमा म्युजिकल्ली
आफ्नो फिल्म ‘कोहलपुर एक्सप्रेस’को प्रवर्द्धनमा व्यस्त रहेकी नायिका केकी अधिकारीको म्युजिकल्लीमा सोही फिल्मको गीत र डाइलग हेर्न पाइन्छ । केही दिन अघि मात्र यो एपमा अकाउन्ट बनाउन उनलाई उनका बहिनीले कर गरेका थिए । बहिनीकै करमा एप खोलेपनि उनलाई अहिलेसम्म तीनवटा मात्र भिडियो राखेकी छन्।

‘मैले यो एप खोल्नुको खास कारण पनि कोहलपुर एक्प्रेसको प्रमोसन होस् भनेर हो, तीन वटा मात्रै भिडियो राख्दा पनि थुप्रै रियाक्सन पाएको छु रमाइलो लागेको छ,’ उनी भन्छिन् । उनका फ्यानलगायत धेरैले कोहलपुर एक्सप्रेसको गीत ‘सि ओ डब्लु काउ माया’ देखि लिएर अन्य डायलगमा पनि अभिनय गरेको देखेर उनी निकै प्रभावित भएकी छन्।

‘यस्तो यस्तो छ भनेर उनको बहिनीहरूले एपमा अन्य प्रयोगकर्ताको अभिनय देखाएपछि उनले आफूले पनि फ्यानको मायालाई सम्मान गर्दै यो एप चलाउन थालेका उनी बताउँछिन्। सुटिङबाट थोरै केही ब्रेक मिलेको बेला म्युजिकल्ली बनाउँदा रमाइलो हुने उनले अनुभव गरेकी छन्। म्युजिकल्ली एपमा उनको तीनवटा मात्रै भिडियो भएपनि फ्यान फलोअर्स भने एक हजार ६ सय ६ जना रहेका छन् । उनले आफ्नो तीन वटा भिडियोमा नै ह्यासट्याग कोहलपुर एक्सप्रेस प्रयोग गरेकी छिन्।

पछिल्लो समयमा नेपाली चलचित्रमा अभिनय गर्दै आएकी र धेरै फ्यान रहेकी नायिका वर्षा राउतको म्युजिकल डट लिमा करीब ५० वटा भिडियो छन् । उनको म्युजिकल्लीमा हिन्दी तथा नेपाली गीत, डायलगमा अभिनय गरेका  पोस्टहरू प्रसस्तै देख्न पाइन्छ । कहिलेकाँही फुर्सद भएको बेला बनाउन यो एपमा भिडियो बनाउन उनलाई रमाइलो लाग्छ।

‘सुटिङबाट ब्रेक मिलेको बेला म विभिन्न भिडियो बनाइरहेको हुन्छु,’ उनी भन्छिन् ।  पहिला डब्सम्यासमा पनि धेरै भिडियो पोस्ट गर्ने उनलाई म्युजिकल ली को विशेषताले प्रभावित पारेको छ । ‘डबम्यासमा टाइम ल्याप्स, स्लो मोसन मिल्दैन थियो, यसमा धेरै इफेक्टस पनि छन् त्यसैले यो रमाइलो लागेको छ,’ उनले भनिन् । उनको यस एपमा अहिलेसम्म ४२ हजार एकसय २९ जना फ्यान रहेका छन् भने दुई लाख ६९ हजार रियाक्सन पाइसकेकी छन्।

पहिले कसैको अभिनय सजिलै हेर्न सकिँदैन थियो भने अहिले थोरै समयको भएपनि विभिन्न प्रयोगकर्ताको बेजोड अभिनय यस एपमा देख्न पाइन्छ । राउतलाई पनि यस्तै लागेको छ । ‘मैले धेरै जना अभिनय गर्न सक्ने मान्छेहरू यो एपमा भेटेकी छु । आफ्नै आवाजमा डब गरेको र एक्सप्रेसन गरेको देखेकी थिएँ’, उनी थप्छिन्, ‘यस्तो देख्दा रमाइलो सँगसँगै अभिनयको बारेमा पनि सिक्न सकिन्छ जस्तो लाग्यो।’

यो सधैँका लागि एडिक्सनजस्तो भने हुन नहुने यी दुवै नायिका बताउँछन् । त्यस्तै ‘नाई नभन्नु ल– ४’ मा उनीसँगै अभिनय गरेकी नायिका आँचल शर्मा दवाडी पनि यो एपको फ्यान भएकी छन् । उनको हिन्दी तथा नेपाली गीतमा लिपसिङ र डायलग प्रसस्तै भेटिन्छ । उनका विभिन्न भिडियो हेरेर अहिलेसम्म करीब ३५ हजार फ्यान फलोअर्स बनिसकेका छन् । त्यस्तै मोडल तथा पूर्व मिस नेपाल मलिना जोशीको पनि विभिन्न खाले अभिनय तथा श्रृंगारका पोस्ट यस एपमा देख्न सकिन्छ।

नेपाली म्युजिकल्ली युजर, गोर्खाली भनेर ह्यासट्याग प्रयोग गरेर विभिन्न पोस्टहरू देखिन्छ । पहिले डब्म्यासको चर्चामा रहेजस्तै अहिले त्यसको ठाउँ म्युजिकल डट लिले लिएको छ। किशोरकिशोरी र कलाकारको यसमा विशेष आकर्षण बढ्दै गइरहेको छ । विदेशमा बसेर नेपालीम्युजर भन्ने ह्यासट्याग प्रयोग गर्दै भिडियो पोस्ट गर्ने प्रसस्तै प्रयोगकर्ता छन् । नेपालमा भने मञ्जिल, विपिन सिक्देल, रेश्मा घिमिरे, क्रान्ति राना चर्चित अकाउन्ट हुन् ।

गोपनीयता र सुरक्षा
एप्पलको एप स्टोरको शीर्ष १० फोटो तथा भिडियो एप्समा रहेको म्युजिकल्ली एप गुगल प्लेमा सबैभन्दा धेरै डाउनलोड भएका ५० वटा एप्सको सूचीमा छ । आफ्नो निजी र चाहेको म्युजिक भिडियो बनाएर प्रस्तुत गर्न सुविधा दिने यो एप नयाँ पुस्ताको विशेष आकर्षणमा रहेको छ । अभिनय र लिपसिङको माध्यमबाट आफ्नो कला देखाउन चाहने उत्साही सामाजिक सञ्जाल प्रयोगकर्ताका लागि यो उपयुक्त प्लेटफर्म बनेको छ।

अन्य सामाजिक सञ्जालजस्तै म्युजिकल्लीमा प्रयोगकर्ताको गोपनीयता र सुरक्षाको कुरा उठ्ने गरेको छ । विशेष गरी यो एप चलाउने प्रयोगकर्ता नयाँ पुस्ताका रहेका र साइबर सुरक्षा र गोपनीयताका बारेमा अनभिज्ञ रहने भएकाले अभिभावकमा चिन्ता थपेको अध्ययनले देखाएका छन् । पछिल्ला अध्ययनले नचिनेका मानिसले आफ्ना बालबालिकालाई अनुचित सामग्री पठाएको बताएको देखाएका छन् । दी न्यूजिल्यान्ड हेराल्डको एक समाचारमा एक जना महिलाले आफ्नो आठ वर्षीय छोरीलाई कोही अज्ञात व्यक्तिले जस्टिन बिबर भन्दै सन्देशहरू पठाएको बताएकी थिइन्।

धेरै सोसल मिडिया एपहरू जस्तै, म्युजिकल्ली प्रोफाइलहरू सार्वजनिक प्रोफाइल हुन् जसले गर्दा प्रयोगकर्ताले अनुपयुक्त सन्देशहरू पाउने सम्भावना रहन्छ । म्युजिकल्लीको टम्बलरमा अभिभावकहरूका लागि भनेर राखिएको पेजमा म्युजिकल्लीले १३ वर्षभन्दा कम उमेरका बालबालिकालाई यसमा खाता खोल्न निरुत्साहित गरेको छ । साथै, म्युजिकल्लीले इन्टरनेट गोपनीयता र साइबर बुलिङबाट जोगिने उपायका बारेमा स्रोत उल्लेख गरेको छ । ‘हामीले तपाईंलाई तपाईंको किशोरावस्थामा इन्टरनेट अनुभवका लागि सक्रिय भूमिका निर्वाह गर्न प्रोत्साहन गछौँ,’ स्रोतमा भनिएको छ।

म्युजिकल्लीले दिने एउटा प्रमुख सुरक्षा विकल्प भनेको आफ्नो खातालाई प्राइभेट अर्थात् निजी राख्न दिने सुविधा हो । यसले प्रयोगकर्तालाई कसलाई फलो गर्न दिने र कसलाई नदिने भनी छान्ने मौका दिन्छ । यसले गर्दा तपाईंले फलो गर्न अनुमति नदिनुभएको व्यक्तिले सन्देश पठाउन सक्दैन । यदि प्रोफाइल पब्लिक नै छ भने पनि, साथीहरूले मात्र सन्देश पठाउन सक्ने विकल्प छान्न सकिन्छ।

म्युजिकल्लीमा प्राइभेट खाता भएपनि, प्रोफाइल पिक्चर, युजरनेम र छोटो विकरण भने सबैले देख्न सक्छन् । यो एपले अभिभावकलाई आफ्नो बच्चासँग उनीहरूको उमेर, ठेगाना वा फोन नम्बरजस्ता व्यक्तिगत विवरण उनीहरूको प्रोफाइलमा उल्लेख नगर्न सल्लाह दिन पनि सचेत बनाएको छ । साथै, म्युजिकल्लीले ब्लक र रिपोर्ट गर्ने विकल्प पनि दिएको छ।

हरेक समाजिक सञ्जालको सकारात्मक तथा नकारात्मक पक्ष हुन्छन् ।  म्युजिकल्लीमा पनि फ्यान फलोअर्स बढाउन धेरै ग्ल्यामरर्स देखिने र आफ्नो शरीर एक्पोज गरेका भिडियो छन्। कतिपय अवस्थामा यस्ता भिडियो पोस्ट भएका खाता म्युजिकल्लीले सस्पेन्ड पनि गरिदिन्छ । आफ्नो अभिनय र रमाइलोका लागि गरिने भएकाले यसमा धेरै नभुल्न र नकारात्मक सन्देश जाने भिडियो पोस्ट गर्न नहुने प्रयोगकर्ता आफैँ स्वीकार गरेका छन्।

प्रकाशित: ८ वैशाख २०७५ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App