coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रसुवामा जरायो नाच प्रदर्शन (फोटो फिचर)

नाच प्रस्तुत गर्दै रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह। तस्बिरः हिम/नागरिक

रसुवा – २३ औं  वन्यजन्तु सप्ताहको अवसरमा रसुवामा जरायो नाच देखाइएको छ। रसुवा संरक्षण तथा सांस्कृतिक कला समूहले शुक्रबार धुन्चेमा नाच प्रस्तुत गरेका हुन्।

लाङटाङ राष्ट्रिय निकुञ्ज र जिल्ला समन्वय समिति रसुवाले संयुक्त रुपमा आयोजना गरेका छैंटौ लाङटाङ पर्यटन तथा संरक्षण उत्सव तथा नवौँ जिल्लास्तरीय रेडपाण्डा ट्रफी भलिवल प्रतियोगिताको समापनको अवसरमा नाच प्रस्तुत गरिएको हो।

यो नाच जिल्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने तामाङ समुदायले हरेक वर्ष देखाउने गरेका छन्। २०३५ सालसम्म हरेक वर्ष देखाइदै आएको भएपनि त्यसपछिका दिनमा देखाउन छाडिएपछि धुन्चेमा नाच नै लोप हुने अवस्थामा पुगेको थियो।

नाच लोप हुने अवस्थामा पुगेपछि कला समूहले गत कार्तिकमा नाच देखाएका थिए। नाच देखाउनका लागि धुन्चेमा चार ओटा समूह बनाइएको छ। एउटा समूहमा २६ देखि २८ घरधुरी समावेश गरिएको छ।
संरक्षणको अभावमा लोप हुन लागेको नाच संरक्षणका लागि गत वर्षदेखि कार्य सुरु गरिएको समूहका सचिव कमल तामाङले बताए। नाच देखाउनका लागि २५ जना भन्दाबढि सहभागि हुन्छन्। यो नाच करिब तीनदेखि चार घण्टा देखाइन्छ।

टुल्कु छोलिङ गुम्बाका कार्य समिति सदस्य लामा रिन्जेन घलेका अनुसार पुराना रीतिरिवाज, परम्परा, धर्मसंस्कृति जोगाउनका लागि नाच प्रस्तुत गर्न कार्यको सुरुवात गरिएको हो।

केहो जरायो नाच ?
यो नाचमा वन्यजन्तु संरक्षणका लागि लामाले खेल्ने भुमिका बारे प्रस्तुत गरिन्छ। तिब्बतीयन भाषामा स्यावा भनिने उक्त नाचलाई नेपालीमा जरायो भनिन्छ। यसमा लामा, झाँक्री र जरायोको मुख्य भूमिका हुन्छ। एउटा घनाजंगलमा दुई ओटा जरायो लुकेर बसिराखेको हुन्छ।

शिकारीहरू जंगली जनावरको शिकार गर्नका लागि त्यस क्षेत्रमा पुग्छन्। उनीहरूले सहयोगका लागि दुई ओटा कुकुर पनि लिएर गएका हुन्छन्। शिकार गर्न जाँदा दुई ओटा जरायो फेला पार्छन्। शिकारी देखेपछि जरायो भाग्छ। उनीहरू त्यसलाई लखेट्दै जान्छन्। बाटोमा आउँदै गर्दा जरायोलाई लामाले लुकाइदिन्छन्। शिकारी लामा समक्ष पुगेर लेकमा, भिरको कप्टेरोमा, खोलाको किनारमा कहाँ छ भनेर प्रश्न गर्छन।

लामाले पूर्व, पश्चिम, उत्तर र दक्षिणमध्ये एकतिर जरायो रहेको कुरा सुनाउँछन्। तर उनीहरूले त्यो जरायो फेला पार्दैनन्। अन्तिममा लामाले शिकारीसँग भएका सबै हतियार लामालाई बुझाएपछि मात्र जरायो देखाइदिने बताउँछन्। शिकारीले लामाको माला र टोपी छोएर कहिलै शिकार नगर्ने बाचा गरेपछि लामाले उक्त जरायो मन्त्र प्रयोग गरेर पहिले कै स्थानमा पुर्याउछन्।

लामाले काटमार नगर्ने भएकाले सबै जनावरले लामाप्रति गर्ने विश्वास र सम्बन्ध देखाउनका लागि यो नाच देखाइन्छ। यो नाचको तयारी साउन महिनादेखि सुरु गरिन्छ। साउनमा पुस्तक पढ्ने र कार्तिकमा घ्याङमा व्रत बस्ने तथा सामूहिक पूजा गर्नुका साथै नाच देखाइन्छ।

नाच प्रस्तुत गर्दै रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह। तस्बिरः हिम/नागरिक
नाच प्रस्तुत गर्दै रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह। तस्बिरः हिम/नागरिक
नाच प्रस्तुत गर्दै रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह। तस्बिरः हिम/नागरिक
नाच प्रस्तुत गर्दै रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह। तस्बिरः हिम/नागरिक
नाच प्रस्तुत गर्दै रसुवा संरक्षण तथा सांस्कृतिक कला समूह। तस्बिरः हिम/नागरिक
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App