६ वैशाख २०८१ बिहीबार
राजनीति

विप्लवका दुई कार्यकर्ता पक्राउ

सिन्धुली – जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नेकपा माओवादी (विप्लब) नेतृत्वका थप दुईजना कार्यकर्ता पक्राउ गरेको छ।

हरिहरपुरगढी गाउँपालिका– ६ कोवाडाँडाबाट हिजो दिउँसो ३ बजे उनीहरुलाई बम विष्फोटन गराउने सामग्री तथा बन्दोबस्तीका सामानसहित प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयमा शनिबार पत्रकार सम्मलेन गरी पक्राउ गरिएका व्यक्तिको विवरण र बरामद सामानबारे जानकारी गराइएको छ। पक्राउ पर्नेमा धनुषा जिल्ला मिथिला नगरपालिका–१० निवासी विप्लव समूहका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका केन्द्रीय सदस्य २२ वर्षीय राजन बस्नेत र सिन्धुली जिल्ला हरिहरपुरगढी गाउँपालिका– ७ बस्ने अखिल क्रान्तिकारी विद्यार्थी संगठन सिन्धुलीका जिल्ला अध्यक्ष २० वर्षीय पूर्णबहादुर भुजेललाई पक्राउ गरिएको प्रहरी नायब निरीक्षक विनोद शर्माले जानकारी दिए।

पक्राउ गरिएकामध्ये बस्नेत यस भन्दा अगाडि चन्दा संकलन मुद्दामा पक्राउ परी अदालतबाट दुई हजार धरौटी राखी तारेखमा छुटेका हुन्।

उनीहरुको साथबाट जिलेटिन –नियोजेल ९०० ५७ थान, डेटकर्ड तार अन्दाजी दुई मिटर, डिजिटल मल्टिमिटर दुई थान, कैची एक थान, डेटोनेटर तीन पिस, मोबाइल दुई थान, ३८०० नगद, बा ३८ प ४२८६ नम्बरको कालो रंगको पल्सर र क्यानखोला नियन्त्रण उपभोक्ता समिति, सिन्धुली लेखिएको स्ट्यामप्याड छाप एक थान बरामद गरिएको प्रहरी नायब उपरीक्षक शर्माले जानकारी दिए।

विष्फोटन समानमासहित विप्लवका कार्यकर्ता पक्राउ गर्न सफल प्रहरी टोलीलाई आफूले हिजैराति कार्यालयमा आउनासाथ पुरस्कृत गरेको पनि शर्माले जानकारी दिए।

गत चैत १९ गते राति धरान चतारा सडक निर्माणमा प्रयोग गरिएका कालिका कन्ट्रक्सनका पार्किङ गरी राखिएका सवारीमा आगलागी र बम विष्फोट गराई तीन करोड भन्दा बढीको क्षति गरेपछि अहिले त्यस क्षेत्रमा विशेष प्रहरी परिचालन गरी विप्लव समूहका कार्यकर्ताको खोजी भइरहेको समेत उनले जानकारी दिए।

विप्लव माओवादीले हरिहरपुरगढी गाउँपालिकामा पूर्वी कमाण्डको वेशक्याम्प बनाउन थालेको र नेत्रविक्रम चन्दले यही वैशाख ५ गते शैन्य तालीमको समापन गरेको भन्ने जानकारी प्राप्त हुनासाथ प्रहरीले त्यस क्षेत्रमा थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए। रासस

प्रकाशित: ८ वैशाख २०७५ ०७:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App