coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एथलेटिक्समा उदाउँदै दिर्पा

शुक्रबार दिक्तेलमा दशौं राष्ट्रपति रनिङ कपको स्वर्ण पदक थाप्दै दिर्पा बस्नेत। तस्बिर: दमन राई/नागरिक

खोटाङ – सुरु–सुरुमा खेलकुद क्षेत्रमा लाग्दा खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी १७ वर्षीय दिर्पा बस्नेतलाई परिवारकै साथ थिएन। खेल क्षेत्रमा लागेर ‘न भविष्य बन्ने न भाग्य नै चम्कने’ भन्दै खेल क्षेत्रमा समय बरबाद नगर्न दिर्पालाई परिवारको दबाव आउने गरेको थियो। तर, दौडमा असाधारण तेज भएकी दिर्पाले हार खाइनन्, निरन्तर आफ्नो गन्तव्यमा लागिन।

गाउँ तथा जिल्लामा हुने राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगीतामा एथलेटिक्सतर्फका दौडका कुनै पनि प्रतिष्पर्धा छुटाइनन्। क्रमशः बिभिन्न एथलेटिक्स अन्तर्गतका दौड प्रतियोगिमा पुरस्कार जित्न थालिन्। पुरस्कारसँगै परिवारको विश्वास पनि जितिन्। अहिले जिल्लामा एथलेटिक्स दौडमा सम्भावना बोकेकी प्रतिभाका रुपमा उनको परिचय बनेको छ। विना अभ्यास पनि उनको दौड क्षमताले प्रशंसा पाउने गरेको छ।

आमा नन्दकुमारी र बुवा टंकबहाहदुरको कान्छी छोरी हुन् दिर्पा। २०५७ सालमा जन्मिएकी उनका तीन दाजु र एक दिदि छन्। सानैदेखि छरितो ज्यान भएकी उनले छोटो समयमै जिल्ला, क्षेत्रदेखि राष्ट्रिय स्तरका एथलेटिक्स अन्तर्गतका दौड प्रतियोगितामा समेत भाग लिएर पुरस्कार जितिसकेकी छन्। उनले दौडका लागि प्रशिक्षण लिएकी छैनन्।

विना प्रशिक्षण नै उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका माध्यमबाट २०७१ सालदेखि जिल्ला, क्षेत्र हुँदै राष्ट्रिय स्तरका प्रतियोगितामा पुग्ने क्षमता विकास गरेकी हुन्। उनको घरमा अहिले बिभिन्न प्रतियोगीतामा जितेको मेडल र प्रमाणपत्रको थाक लाग्न थालेको छ। एथलेटिक्सतर्फका जिल्ला स्तरिय प्रतियोगीतामा प्रायः उनी दोश्रो भएकी छैनन्। ‘गाउँमा अभ्यास गर्ने वाताबरण छैन, अभ्यासविनै प्रतियोगीतामा सहभागी हुनुपर्छ,’ दिर्पाले भनिन्, ‘त्यही पनि प्रतियोगिताबाट रित्तो हात फर्कन परेको छैन।’ अवसर मिले खेलकुदमै जीवन विताउने उनको सपना छ।

हाल पृथ्बी उच्च मावि बाक्सिलामा कक्षा ११ अध्यनरत दिर्पाले सानैदेखि विद्यालयमा हरेक बुधबार हुने अतिरिक्त क्रियाकलापलाई कहिल्यै छुटाइनन्। खेलकै लागि उनले हरेक बुधबार कहिल्यै विद्यालय जान छुटाइनन्। गाउँबाट बिद्यालय जाँदा आउँदाको दौडधुप, गाउँमा घाँस दाउराकाक्रममा गरिने उकाली ओराली नै उनका लागि दौडको अभ्यास बन्यो। दिर्पाले सानैदेखि आफ्नो पढाइलाई भन्दा खेललाई नै प्राथमिकता दिने गरेकी छन्। यही लगावका कारण हरेक प्रतियोगिताबाट उनले खाली हात फर्कने परेको छैन्। उनको प्रगतीका कारण परिवार पनि सन्तुष्ट छन्।

२०७३ साल जेठ १५ र १६ गते काँकडभिट्टामा आयोजित आठौं पूर्वाञ्चल क्षेत्रीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगीता अन्तर्गत एथलेटिक्स १५ सय मिटर र ३ हजार मिटर दौडमा प्रथम तथा ४ इन्टु ४०० रिले दौडमा दोश्रो स्थान प्राप्त गरेकी दिर्पाले सोही वर्षको जेठ १९ देखि २१ सम्म काठमाडौंमा भएको आठौं राष्ट्रिय राष्ट्रपति रनिङ शिल्ड तथा विद्यालय खेलकुद प्रतियोगीतामा ३ हजार मिटर दौडमा प्रथम र १५ सय मिटर दौडमा दोश्रो स्थान प्राप्त गरेकी थिइन्। उनले २०७३ सालमै एथलेटिक्स संघले काठमाडौंमा आयोजना गरेको जुनियर च्याम्पियनसीपमा स्वर्ण जितेकी थिइन्।

प्रकाशित: ८ वैशाख २०७५ ०७:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App