८ वैशाख २०८१ शनिबार
समाज

विहेको आश्वासन दिएर जनप्रतिनिधिले महिलालार्इ गर्भवती बनाएपछि...

रुकुम– रुकुम पूर्वको सिस्ने गाउँपालिकाका एक जनप्रतिनिधिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उक्त गाउँपालिका–३, पोखराकी एक महिलालाई जबर्जस्ती गर्भपतन गराएको आरोपमा गाउँ कार्यपालिका सदस्य रुद्रबहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। 

कार्यपालिका सदस्य सुनारले विवाह गर्ने आश्वासन दिँदै बेलाबेला अवैध यौन सम्पर्क गरेर आफूलाई गर्भवती बनाएको भन्दै ती महिलाले प्रहरीसमक्ष उजुरी दिएकी छिन्। उनको उजुरीका आधारमा कार्यपालिका सदस्य सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको यहाँका प्रहरी नायब उपरीक्षक प्रविनलाल श्रेष्ठले जानकारी दिए। प्रहरीका अनुसार सुनार विवाहित हुन्। उनका दुई श्रीमती, चार छोरा र तीन छोरी छन्। यता महिला भने माइतीघरमा बस्दै आएको बताइएको छ। 

सहमतिमा अवैध यौन सम्पर्क भए पनि गर्भपतनपछि अत्यधिक रक्तस्राव भएपछि महिलाले प्रहरीसमक्ष उजुरी दिएको बताइएको छ। स्वास्थ्यमा असुरक्षा हुने भएपछि उनी प्रहरीसमक्ष पुगेकी हुन्। निजी स्वास्थ्य संस्थाबाट औषधि किनेको महिलाले प्रहरीसमक्ष बताएकी छिन्। 

श्रीमान्–श्रीमतीले नै विभिन्न धम्की दिएर चार महिनाको बच्चा गर्भपतन गराउन लगाएको पीडित महिलाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ। पीडित महिलाको जाहेरीअनुसार कार्यपालिका सदस्य सुनारलाई प्रहरीले पक्राउ गरी मुद्दा दर्ता गराएको छ। यस विषयमा अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। 

प्रकाशित: ८ वैशाख २०७५ १२:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App