८ वैशाख २०८१ शनिबार
खेल

नेपालका रविनलाई स्वर्ण

स्वर्ण हात पारेपछि नेपाली जुडो खेलाडी रविन श्रेष्ठ। तस्बिरः नागरिक

काठमाडौं – ओलम्पियन फूपूल्यामु खत्री भारतकी सुनिबाला देवीसँग पराजित हुँदा नेपालका रविन श्रेष्ठले नेपालका लागि आठौं दक्षिण एसियन जुडो च्याम्पियसिप प्रतियोगिता अन्तर्गत १ सय केजी मुनी तौल समूहमा शनिबार स्वर्ण  पदक जितेका छन्।

लगनखेल स्थित नेपाली सेनाको प्रशिक्षण केन्द्रमा भएको खेलमा नेपालका रविन श्रेष्ठले राउन्ड रोविन लिगको अन्तिम खेलमा बंगलादेशका मोहम्मद अबुल कलाम अजादलाई पराजित गर्दै लगातार तीन खेलमा विजयी हुँदै नेपालका लागि स्वर्ण पदक दिलाएका हुन्। यस अघि लिग चरणको पहिलो खेलमा श्रेष्ठ नेपालका सुर्यमान श्रेष्ठलाई तथा दोस्रो खेलमा श्रीलंकका बन्दुला बाजालालाई पराजित गरेका थिए।  

उता नेपालका लागि आशा गरिएकी साफ गोल्ड मेडलिस्ट फुपू ल्यामु खत्री ६३ कोजी मुनि तौल समूहको फाइनलमा भारतकी सुनिबाला देवीसँग ग्राउन्ड टेक्निसमा पराजित भइन्। सोही स्पर्धामा श्रीलंकाकी वास्ना करुनाराथान र बंगलादेशकी कानिज सुल्तानाले कांस्य पदक हात पार्दा नेपालकी निर्मला घर्ती पाँचौ भइन्।

शनिबारै सम्पन्न १ सय केजी माथिको तौल समूहमा  पाकिस्तानका शाह हुसेन शाहले स्वर्ण पदक हात पारे। श्रीलंकका यसिथ रथनायकेसँग पराजित हुँदै रजत पदक हात पारे भने भारतका उदयवीर सिंह र नेपालका राजन जोशीले कांस्य पदक हात पारे। सोही स्पर्धामा नेपालका शिव बहादुर बराम कांस्य पदकालागि भएको स्पर्धामा पराजित भए।

यस्तै, ४८ केजी मुनीको तौल समूहमा भारतकी सुशिला देवी लिक्मबामले शनिबार स्वर्ण पदक हात पारिन्। फाइनलमा सुशिला देवीसँग पाकिस्तानी हुमारिया असिक पराजित हुँदै रजत पदकमा चित्त बुझाइन्। ४८ केजी मुनी तौल समूहमा भुटानकी डेम फु मोन्गेर तथा नेपालकी सुमित्रा राई कांस्य पदकमा चित्त बुझाए भने नेपाली रत्न तामाङ पाँचौ तथा शर्मिला थारु र सुश्मिता लावत सातौं बने।

५२ केजी मुनी तौल समूहमा भारतकी कल्पना देवी थाउडामले स्वर्ण पदक हात पार्दा पाकिस्तानकी मारयामले रजत तथा नेपालका देवीका खड्का र अन्जु पाण्डेले कांस्य पदकमा चित्त बुझाए। ५२ केजी मुनीको तौल समूहकै अन्य खेलमा नेपाली खेलाडीको प्रदर्शन राम्रो हुन सकेन्।

उता ५७ केजी तौल समूहमा पहिलो खेलमा श्रीलंकन खेलाडीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेकी मनिता श्रेष्ठ प्रधान भारतकी अनगोम अनिता चानूसँग पराजित हुँदै कांस्य पदक हात पारिन्। भारतकी चानूसँगै फाइनल भिडेकी नेपालकै लिला अधिकारीले पराजित हुँदै रजत पदकमा चित्त बुझाउँदा चानूले स्वर्ण पदक हात  पारिन्। सोही स्पर्धामा नेपालकी पुर्ण राई पाँचौ स्थानमा रहिन्।

च्याम्पियसिप अन्र्तगत नै शनिबार सम्मपन्न ९० केजी मुनीको स्पर्धामा पाकिस्तानका क्वाइसर खानले नेपालका श्रीराम मकाजुलाई पराजित गर्दै स्वर्ण पदक हात पारे। फाइनलमा पराजित श्रीरामले रजत पदकमा चित्त बुझाए भने नेपालकै रमेश बहादुर चन्द र भारतका जोबन्दीप सिंहले कांस्य पदक हात पारे।

प्रतियोगिताको पहिलो दिन शनिबार भारत सबै भन्दा बढी ४ स्वर्ण पदक हात पार्दै तालिकाको पहिलो स्थानम छ भने पाकिस्तान २ स्वर्ण सहित दोस्रो, नेपाल १ स्वर्णबाट तेस्रो स्थानम छ भने श्रीलंका, बंगलादेश र भुटानले स्वर्ण पदकको खाता खोल्न सकेनन्। यस्तै, पकिस्तानले २, नेपालले ३, श्रीलंकाले र बंगलादेशले समान १–१ रजत पदक हात पार्दा भारतले २, नेपालले ७, श्रीलंकाले २ तथा बंगलादेश र भुटानले समान १–१ कांस्य पदह जिते।

सोमबार सम्म चल्ने प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानका खेलाडीहरूको सहभागिता रहेको छ। प्रतियोगितामा पुरुष र महिला एकलतर्फ ७–७ स्वर्ण, ७–७ रजत, १४–१४ कांस्य तथा पुरुष र महिला टिम इभेन्ट्समा समान १–१ स्वर्ण र रजत, २–२ कांस्य गरी ६४ पदकका लागि १ सय ६ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्।

प्रकाशित: ९ वैशाख २०७५ ०४:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App