काठमाडौं – मस्कुलर डिस्ट्रोफी फाउन्डेसन नेपाल (एमडीएफ–नेपाल) ले शनिबार मस्कुलर डिस्ट्रोफी पीडितहरुलाई लक्षित गर्दै एक दिने स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
फाउन्डेसनले मस्कुलर डिस्ट्रफीबाट प्रभावित बालबालिका एवं अपाङको गुणस्तरीय दीर्घजीवनलाई लक्षित गर्दै हरेक वर्ष स्वास्थ्य परीक्षण शिविरको आयोजना गर्ने गरेको छ। यस वर्ष लायन्स क्लब अफ काठमाडौं समपर्णको सहयोगमा शिविर आयोजना गरिएको फाउन्डेसनले जनाएको छ।
यस वर्ष ग्रामीण भेगका नियमित सम्पर्कमा आउन नपाएकालाई विशेष प्राथमिकता दिइएको फाउन्डेसनले जनाएको छ। स्वास्थ शिविरमा ६० जनाको सहभागिता रहेको थियो। स्वास्थ्य शिविरमा बिरामीको एक्सरे, इसिजी, इकोलगायतको सम्पूर्ण खर्च फाउन्डेसनले व्योहोरेको छ। शिविरमा नशा तथा मांसपेशी विशेषज्ञ प्रा. डा. जगदिशप्रसाद अग्रवाललगायतले सहयोग गरेका थिए।
शिविरमा १८ जिल्लाका ५० जनालाई ह्विल चेयर पनि प्रदान गरिएको थियो। मस्कुलर डिस्ट्रोफी मानवशरीरमा हरेको जीनबाट देखा पर्ने विकृतीहरुको एक समूह हो। यसले मांसपेशीहरुमा सुक्ष्म परिर्वतन ल्याई क्षीण तथा कमजोर बनाउने गर्दछ। सानो उमेरदेखि वयस्क र वृद्धसम्म विभिन्न उमेरमा यो समस्या देखापर्ने गर्छ। यसमध्ये डुचेनमस्कुलर डिस्ट्रोफी केटाहरुमा मात्र देखिने रोग हो। नेपालमा हाल डुचेनमस्कुलर डिस्ट्रोफीबाट प्रभावित करिब ६ सय रहेका छन् भने अन्य मस्कुलरका बिरामी तीन सय गरी कुल नौ सय छन्। यसमध्ये करिब एक सय मस्कुलर डिस्ट्रोफी बिरामीहरुले उपचारको अभावमा अति अल्पआयुमै मृत्युवरण गरेको संस्थाले जनाएको छ।
प्रकाशित: १० वैशाख २०७५ ०२:२७ सोमबार