coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

राखेपमाथि राजनीतिक मनोमानीको आरोप

काठमाडौं – दक्षिण एसियाली खेलकुद (साग) र एसियन गेमको मिति नजिकिदै जादाँ खेलाडी छनोटका लागि भएको विवादमा तेक्वान्दो पनि मुछिएको छ।

नेपाल तेक्वान्दो संघले खेलाडी छनोटको विषयलाई लिएर आइतबार औपचारिक रुपमै आपत्ती जनाएको छ। यसअघि बक्सिङको पनि खेलाडी छनोट विवादमा परेको थियो। राष्ट्रिय झन्डा बोकेर अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिनिधित्व गर्ने खेलाडी छनोटमा भएको विवाद पेचेलो रुपमा अगाडी आउँदा अविभावक संस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) समस्या समाधान गर्नुको सट्टा आफै राजनीतिमा होमिएको छ।

‘दक्षिण एसियाली, एसियाली र ओलम्पिक खेलजस्तो महाकुम्भबाट देशका लागि धेरै पदक जिताउन सक्ने सम्भावना बोकेको तेक्वान्दो खेलको विकासका लागि अझ दरिलो योजनाका साथ अघि बढ्नुपर्नेमा अन्य संघहरुमा देखिएको विवादको झझल्को दिनेगरी यस संस्थालाई पनि योजनावद्ध ढंगबाट तान्ने र धकल्ने षडयन्त्र शुरु भएको छ,’ नेपाल तेक्वान्दो संघका सचिव दिपक विष्टले भने, ‘नेपालका लागि ओलम्पिक र एशियाली खेलबाट पदक हासिल गरी देशको नाम उचो बनाउन सक्ने खेललाई समाप्त गरी देशलाई हानी गर्ने कार्यको गन्ध आएको छ।’

युवराज लामा सदस्यसचिव हुँदा राष्ट्रिय तेक्वान्दो संघ दर्ता भएपछि अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक जिताउन सफल खेलमा विवाद शुरु भएको थियो। एसियाली गेम्स र साग नजिकिदै गर्दा उक्त विवाद पून उत्कर्षमा आएको छ। राखेपका सदस्यसचिव केशबकुमार विष्टले यसअघि नै दुबै संघका खेलाडीलाई प्रतिस्पर्धा गराएर अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि छनोट गर्ने बताउँदै आएका थिए। तर दुबै संघले आ–आफ्नो ढंगबाट खेलाडी छनोट गरेका थिए। राखेपले एसियन गेम्सका लागि नेपाल तेक्वान्दो संघसँगको समन्वय विना खेलाडी छनोट गरी विशेष प्रशिक्षणमा राखेको समाचार बाहिर आएपछि विवाद सतहमा आएको छ।

‘इन्डोनेसियामा हुने १८औं एशियाली खेलका लागि हामीले उत्कृष्ट खेलाडी छनोट गरी विशेष तालिमलाई व्यवस्थित र सशक्त रुपमा संचालन गरिरहेका छौं,’ ओलम्पियन तथा नेपाल तेक्वान्दो संघका सचिव दिपक विष्टले भने, ‘तर उक्त प्रतियोगिताका लागि अन्तै खेलाडी छनोट गरी विशेष प्रशिक्षणमा रोखेको समाचारले हामीलाई आश्चर्यमा पारेको छ। यसले हाम्रा खेलाडीहरु मात्र नभई सारा तेक्वान्दो परिवार नै किमकर्तव्य विमुढ भएको छ।’

तथापी नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङले आफ्नो संघको सिफारिस विना कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नसक्ने भन्दै खेलाडीलाई भ्रममा नपरी नियमित तयारी गर्न आग्रह गरे।

‘हामीले विश्व तेक्वान्दो महासंघ र दक्षिण एशियाली तेक्वान्दो महासंघबाट मान्यता पाएका छौं। तेक्वान्दोका कुनै पनि आधिकारिक अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल तेक्वान्दो संघको छाप विना कुनै पनि खेलाडीले प्रतिस्पर्धा गर्न पाउदैनन्,’ महासचिव गुरुङले भने, ‘खेलाडी मात्र होइन नेपाली रेफ्री र प्रशिक्षकहरुको सिफारिस गर्ने अधिकार पनि हामीसँग मात्र छ। हाम्रा खेलाडी निरुत्साहीत हुने कुनै पनि काम हामी हुन दिन्नौं। यसमा हामी अडिग छौं।’

महासचिव गुरुङले भारतमा सम्पन्न १२औं साग र इन्चोनमा सम्पन्न एशियन गेम्समा आफ्ना खेलाडीले मात्र सहभागी गरेको भन्दै आहिले अनावश्यक विवाद निकालेको आरोप लगाए। ‘राखेपमा कुन संघ दर्ता भएको छ भन्ने हाम्रो सरोकारको विषय होइन। तर इन्चोन तथा भारतमा भएका प्रतियोगितामा अरु खेलाडी सहभागी गराउन नपर्ने अहिले किन?,’ महासचिव गुरुङले थपे, ‘नेपाल तेक्वान्दो संघले आफ्नो मातहतका खेलाडी बाहेक अन्य कुनै पनि खेलाडीलाई हामी प्रतियोगितामा सहभागी गराउन लादैनौं।’

खेलाडी छनोटमा मात्र नभई कार्यायल भवनकै विषयलाई लिएर तेक्वान्दोमा विवाद भएको थियो। दशरथ रंगशालामा रहेको कार्यालयमा भकम्पले क्षति पु-याएपछि नेपाल तेक्वान्दो संघले आफ्नो काम सातदोबाटोबाट गर्दै आएको थियो। तर अहिले रंगशालाको कार्यालयबाट राष्ट्रिय तेक्वान्दो संघले काम कारवाही गर्दै आएकोछ।

प्रकाशित: १० वैशाख २०७५ ०४:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App