८ वैशाख २०८१ शनिबार
अर्थ

कामदारले परिवार लैजान पाउने बनाउन पहल

 

काठमाडौं – कोरिया रोजगारीमा रहेका कामदारले आत्महत्या गर्ने र मानसिक सन्तुलन गुमाउने क्रम बढेपछि उक्त रोजगारीलाई सहज बनाउन पहल थालिएको छ।

पारिश्रमिकका दृष्टिले आकर्षक मानिएको गतव्य कोरिया पुगेकाले आत्महत्या  गर्ने र मानसिक सन्तुलन गुमाउने क्रम बढेपछि वैदेशिक रोजगार विभाग अन्तर्गतको इपिएस कोरिया शाखाले उक्त प्रक्रिया थालेको हो।

कामदारले आफ्नो कार्यकालमा परिवारको निकटतम सदस्यलाई कोरिया लैजान पाउने हो भने आत्महत्याका घटनामा कमी आउने शाखाले अपेक्षा गरेको छ।  ‘घर, परिवारबाट लामो समय टाढा हुँदा ‘होमसिक’ हुने र यसले कामदार डिप्रेसनमा जाने भएकाले कार्यकालमा कम्तीमा एकपटक परिवारको सदस्य लैजाने व्यवस्था होस् भनेर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सुझाव दिएका छौं,’ इपिएस शाखाका प्रमुख कृष्ण खनालले भने।

  •  परिवारको निकटतम सदस्य सँगै भए आत्महत्याका घटनामा कमी आउने अपेक्षा
  •  कोरियामा हालसम्म ३६ जनाले आत्महत्या गरिसकेका छन्

कोरियासँगको दुईवर्षे श्रम समझदारी (एमओयु) को अवधि सकिएर पुनः नवीकरणको प्रक्रिया थालिएको बेला कामदारले परिवार लैजान पाउने व्यवस्था सोही नवीकरणमा समावेश गर्न सकिने बताइएको छ। भाषा परीक्षा उत्तीर्ण गरेका व्यक्तिलाई कोरियन रोजगारदाताको छनोटपछि चार वर्ष १० महिनाको भिसा दिने गरिन्छ।

उक्त अवधिमा काम र रोजगारदाता चित्त नबुझे पनि कामदारले रोजगारदाता कम्पनी छोड्न पाउँदैन। कोरियामा डर्टी, डिफिकल्ट र डेन्जरस (फोहरी, कठिन र खतरनाक) काम गर्ने कामदारले समस्या सेयरिङ गर्ने व्यक्ति नहुँदा आत्महत्याको बाटो रोज्ने गरेको धेरैको अनुमान छ। कोरिया सरकारले समेत नेपाली कामदारले आत्महत्या गर्ने क्रम बढेपछि कम गर्ने उपाय अवलम्बन गर्न नेपाललार्ई दबाब दिँदै आएको मन्त्रालयका कर्मचारी बताउँछन्।

नेपाली कामदारले आत्महत्या गर्ने क्रम बढेपछि कोरियाले अन्तर्राष्ट्रिय जगतमा आफ्नो बेइज्जत भएको भन्दै पटकपटक कुरा उठाउने गरेको छ। इपिएस सुरु भएयता (सन् २००८) रोजगारीका लागि कोरिया पुगेका ३६ जनाले आत्महत्या गरेको शाखाले जनाएको छ। सोही अवधिमा कोरियामा कालगतिले एक सय ३० को मृत्यु भएको छ।

चर्को प्रतिस्पर्धा गरी कोरिया पुगेका कामदारले आत्महत्या गर्ने क्रम बढ्नुमा कुनै न कुनै समस्या कारक रहेकोमा दुवै देशका अधिकारी सहमत छन्। ‘आर्थिक प्रगति गर्ने उद्देश्यले कोरिया पुगेको व्यक्तिले धमाधम आत्महत्या गर्नु भनेको समस्या टार्न नसकेरै हो,’ मन्त्रालयका अधिकारीले भने, ‘परिवारको निकट सदस्यलाई कोरिया लैजान पाए कमसेकम आफ्ना समस्या त बताउन सक्छन्, जसले गर्दा भित्री समस्या थाहा पाएर तुरुन्तै उद्धार गर्न सहज हुन्छ।’ रोजगारीको क्रममा परिवारका सदस्यसँग भेटघाट हुँदा आत्महत्या गर्ने व्यक्तिको मन परिवर्तन हुन सक्ने मनोविद्हरूको धारणा छ।

सरसर्ती हेर्दा भने कोरियाको रोजगारी निकै आकर्षक मानिन्छ । अतिरिक्त समय (ओभरटाइम) काम नगर्नेले पनि कोरियामा मासिक पारिश्रमिक एक लाख ५० हजार रुपैयाँभन्दा बढी पाउने गर्छन्। रोजगार अनुमति प्रणाली सुरु भएयता करिब ५१ हजार युवायुवती कोरिया गइसकेका छन्। तीमध्ये अझै कोरियामा करिब ३० हजारले काम गरिरहेको बताइन्छ।

कोरियन रोजगारदाताले नेपालीलाई मन पराएका कारण नेपालबाट कामदार लैजाने क्रम जारी राखेका छन्। सन् २०१९ मा उड्न पाउने गरी कोरिया सरकारले सात हजार पाँच सय कोटा तोकेको छ। यसका लागि शाखाले आवेदन फारमसमेत संकलन गरिसकेको छ। जेठ २६ र २७ गते हुने भाषा परीक्षाका लागि ८२ हजार दुई ६४ ले आवेदन दिएका छन्। त्यसमा महिलाको संख्या १२ हजार आठ सय ७७ छ।

शाखा प्रमुख खनालले कोरियाको रोजगारीलाई सुधार गर्न आत्महत्या र अस्वाभाविक रूपमा मृत्यु भएकालाई समेत बिमा सुविधा उपलब्ध गराउन आवश्यक रहेको बताए। हाल कोरियन रोजगारदाताले कामदारको कार्यस्थल बिमा दुर्घटना मात्र गराएका छन्। कार्यस्थलभन्दा बाहिर कामदारको मृत्यु तथा अंगभंग भए बिमा दाबी गर्न पाउँदैनन्। ‘हामीले कोरियाको रोजगारीका देखिएका समस्या अन्त्य गर्ने पहलस्वरुप भित्री पाटा केलाएर थप प्रक्रियाका लागि मन्त्रालयमा सुझाव दिइसकेका छौं,’ खनालले भने, ‘समस्या समाधानका लागि मन्त्रालय तहबाट पहल हुने अपेक्षा छ।’

प्रकाशित: १० वैशाख २०७५ ०६:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App