८ वैशाख २०८१ शनिबार
कला

युवतीको राेजाइ जम्पसुट

समर सिजनको विशेष फेसनको रूपमा चलेको जम्पसुट सहरिया महिलाको फेवरेट समर वेयर बनेको छ । गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन्।  

स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू पूरै झकिझकाउ छन् । जम्पसुटको फेसनमा फुल र हाफमा मात्र नभएर अफ–सोल्जर्स, फुल स्लिभ, हाफ स्लिभ, स्लिभलेस लगायत विभिन्न डिजाइनमा जम्पसुट पाइन्छन् । जम्पसुट वान पिसमा ड्रेसको रूपमा लगाइने पहिरन हो । यद्यपि जम्पसुट सेटको रूपमा पनि पाइने बताउँछिन्, ललितपुरमा रहेको जेन्टल वुमन क्लोदिङकी सञ्चालक कोपिला चौलागाईं। समरको सिजनमा फ्लोरल प्रिन्टको जम्पसुटको माग अत्यधिक रहेको उनी बताउँछिन्। 

गर्मीसँगै विभिन्न थरि जम्पसुटमा ठाँटिनेहरू बढ्दैछन् । स्ट्राभ स्लिभलेस, इनर एट्याच, सिफन, चेकको कपडा, स्ट्रेचेबल फेब्रिकका कपडाको जम्पसुटले बजारका स्टोरहरू पूरै झकिझकाउ छन्।

कोपिला भन्छिन्, ‘वसन्त ऋतुको समयमा सबै ड्रेसमा फ्लोरल प्रिन्टको फेसन चलेको छ । त्यसैले जम्पसुटमा पनि फ्लोरल प्रिन्ट नै खोज्ने धेरै हुन्छन्।’    

गर्मी मौसम अर्थात् फेसनको मौसम । ट्रेन्डी फेसन पछ्याउनेको मौसम पनि हो । यो मौसममा केही वर्षयता युवतीको छनोट बन्ने गरेको छ, जम्पसुट। 

शीरदेखि पाउसम्म कम्बिनेसन मिलाएर ड्रेस लगाउन मन पराउनेको छनोट बनेको छ, जम्पसुट । हिजोआज जम्पसुटले नै फेसन बजारलाई कब्जामा लिएको देख्न सकिन्छ। 

बजारमा प्रचलित केही जम्पसुटहरू 
प्लेन जम्पसुट

चिसो मौसममा प्रयोग गरिने लुगाभन्दा गर्मी मौसममा लगाइने लुगामा धेरैले स्टाइल खोज्छन् ।  तुलनात्मक रूपमा गर्मी मौसममा फेसन गर्नेहरू पनि अघिपछि भन्दा बढी हुन्छन् । बजारमा उपलब्ध हुने विभिन्न फेसनेबल डिजाइनका लुगाको हुलमा पनि युनिक कलेक्सन खोज्नेको जमात निकै बढेको देख्न सकिन्छ । नेपालका युवतीहरू विशेष गरेर प्लेन जम्पसुट लगाउन मन पराउने गरेको व्यापारी बताउँछन् । सिफन वा कटनको कपडामा प्लेन जम्पसुटको माग बढी हुने चौलागाईं बताउँछिन् । उनी भन्छिन्, ‘युवतीहरू विशेष गरेर कालो, सेतो, कलेजी, गाढा हरियो रङका जम्पसुट मन पराउँछन् ।’ 
प्लेन जम्पसुटले गर्मीको मौसममा कुल देखिने र हरेक ठाउँमा लगाउँदा स्मार्ट देखिने उनी बताउँछिन् । धेरै बुट्टा र चम्किलो रङ मन नपराउनेका लागि प्लेन जम्पसुट राम्रो विकल्प बन्न सक्छ । युवतीहरू प्लेन जम्पसुट मन पराउने कोपिलाको अनुभव छ । मिलाएर ह्यांगरमा राखिएका जम्पसुटमध्ये सेतो रङको जम्पसुट हातमा लिएर आफूलाई ऐनामा हेर्दै मख्ख थिइन्, रिना मगर (२४) । मैतीदेवी बस्ने उनी समरको लागि लुगा किन्न आएकी थिइन्। ‘गर्मीको मौसममा लुगा किन्दा सोचेर लिनु पर्छ, हातमा सेतो रङको जम्पसुट देखाउँदै उनले भनिन्, ‘गर्मी मौसममा हलुका तथा शीतल हुने लुगा लगाउन मन पर्छ । त्यसैले यो कटनको जम्पसुट लिएकी हुँ ।’ उनी गर्मीमा सफ्ट लुगा लगाउन मन पराउँछिन्। अचेल लुगा किन्नेहरू सबैले सुहाउँदो, नरम, फेसनेबल र युनिक डिजाइन खोज्ने गरेको व्यापारी कोपिला बताउँछिन्।

प्रिन्टेड (फ्लोरल) जम्पसुट 
समरको सिजनमा निकै रुचाइने डिजाइन हो, फ्लोरल प्रिन्ट । स्प्रिङ सिजन थरिथरिका फूल फुल्ने मौसम हो । यो मौसममा फेसन नै फूलको देख्न सकिन्छ । स्प्रिङ सिजनका लुगामा फ्लोरल प्रिन्टको फेसन अत्यधिक देख्न सकिन्छ । रत्नराज्य क्याम्पसमा स्नातकोत्तर अध्ययनरत पूजा गिरी (२१) स्प्रिङ सिजनमा जम्पसुट लगाउन रुचाउँछिन् । फ्लोरल प्रिन्ट भएको फुल स्लिभ वा क्वाटर स्लिभ जम्पसुट लगाउन मन पराउने उनले बताइन् । फेसन फलो गर्ने उनी घुम्न जाँदा जम्पसुट लगाउँदा सजिलो हुने बताउँछिन् । उनी भन्छिन्, ‘दिनमा साथीहरूसँग घुम्न तथा स्विमिङ गर्न जाँदा, सपिङ गर्दा लङ वा क्वाटर जम्पसुट लगाउन मन पर्छ, । हेर्दा आकर्षक, लगाउँदा कम्फर्टेबल र सजिलो हुन्छ त्यसैले लगाउँछु ।’ 
लगाउँदा सहज हुने र फेसनेबल देखिने भएकाले धेरै युवतीको रोजाइमा पर्न सफल भएको जम्पसुट हाफ, क्वाटर र फुल लेन्थमा बजारमा पाइन्छन् । सामान्यतः जम्पसुटको मूल्य क्वालिटी र डिजाइन अनुसार फरक हुने व्यापारी चौलागाईं बताउँछिन्। 

ब्याकलेस जम्पसुट
फेसनलाई फलो गर्नेहरूको जमात दिनानुदिन बढेको देख्न सकिन्छ। समय परिवर्तनसँगै लगाइने तरिकामा पनि परिवर्तन आएको देख्न सक्छौं । फेसन गर्नलाई नै गर्मी मौसम कुरेर बसेकाहरूको विशेष रोजाइमा पर्छ ब्याकलेस जम्पसुट। 
ब्याकलेस जम्पसुट विशेष गरी समयअनुसारको फेसन फलो गर्नेको माग हुने व्यापारी बताउँछन् । ब्याकलेस जम्पसुटको लागि छुट्टै डिजाइनको इनर प्रयोग पनि गरिन्छ। भित्री वस्त्रको डिजाइन देखाउन पनि ब्याकलेस जम्प सुट लगाउन रुचाउने पुनम रेडिमेडका सञ्चालक भोलाकुमार बताउँछन्।  आफ्नो स्टोरमा विभिन्न डिजाइनका जम्पसुट खोज्न महिलाहरू आउने गरेको उनी सुनाउँछन्। ग्रे कलरको जम्पसुट निकै चलेको उनले सुनाइन्। 

जिन्स/डेनिम जम्पसुट 
डेनिम जम्पसुट टिनएजर्सको रोजाइमा पर्ने व्यापारी बताउँछन् । टिनएजका युवतीका लागि फङ्सनको ड्रेसदेखि  ट्राभल आउटफिटको लागि डेनिम जम्पसुट रोज्ने गरेको व्यापारी कोपिला बताउँछिन्। 

विशेष गरी मिलिटरी कपडा, निलो डेनिमको कपडा नेपालमा चल्ने उनी बताउँछिन् । हाफ प्यान्ट्स, ग्रन्जदेखि विभिन्न डिजाइनमा उपलब्ध भए पनि फुट जम्पसुट विशेष बिक्री हुने भोला बताउँछन् । उनी भन्छन्, ‘डेनिम जम्पसुट लगाउँदा बच्चाको जस्तो क्युट लुक्स् आउँछ । त्यसैले टिनएजर्सले निकै रुचाउँछन्।’

डार्क फ्लेम जम्पसुट
विभिन्न कार्यक्रम तथा पार्टीमा सारी लेहेंगा, वानपिस ड्रेस मात्र नभएर डार्क फ्लेम जम्पसुट लगाउने ट्रेन्ड चलेको छ । डार्क फ्लेम जम्पसुट सिल्कको कपडामा विशेष माग रहेको व्यापारी बताउँछन् । घुमघाम र अघि–पछि पनि लगाइने जम्पसुट अचेल पार्टी वेयर बनेको छ । गह्रौं पहिरन लगाउन झन्झट मान्नेहरूको लागि डार्क फ्लेम जम्पसुट फेसनेबल पार्टी वेयर ड्रेस बन्न सक्छ । कम समयमा पर्फेक्ट लुक्स दिनका लागि उपयुक्त हुने डार्क फ्लेम लगाउँदा पनि निकै सहज हुने बताउँछिन्, स्वीकृति घिमिरे । कानुनको विद्यार्थी स्वीकृतिलाई झकमक्क पर्न मन पर्दैन । पार्टीमा जान परेमा डार्क फ्लेम जम्पसुट लगाउने उनी बताउँछिन् । उनी भन्छिन्, ‘पार्टीमा लगाइने लुगा चम्किलो र गरुङ्गो हुन्छ । ड्रेसअनुसारको गहना, जुत्ता र मेकअप गर्नुपर्दा दिक्क लाग्छ । त्यसैले डार्क फ्लेम जम्पसुट लगाउन रुचाउँछु।’ 

बजारमा डार्क कलरको माग धेरै रहेको कोपिला बताउँछिन् ।  उनी भन्छिन्, ‘हरेक कलरसँग राम्रो कम्बिनेसन हुने भएका कारण महिलाले डार्क कलरको फ्लेमको जम्पसुट खोज्छन् ।’ जम्पसुट लगाउँदा स्टाइलिस र युनिक पहिरन भए पनि लामो समयसम्म लगाउन समस्या हुने उनी बताउँछिन् । उनी भन्छिन्, ‘बाथरुम जानको लागि समस्या पर्छ । तर, पनि जम्पसुट लगाउने बानी भएकालाई अप्ठ्ेरो लाग्दैन ।’ लामो दूरीको यात्रामा जम्पसुटको प्रयोग नगर्न कोपिला सुझाउँछिन्। लगाउन हलुका, युनिक र फेसनेबल भएसँगै जम्पसुट लगाउनुको बेफाइदा भए पनि माग भने बढेको उनी भन्छिन्।

प्रकाशित: १० वैशाख २०७५ ०७:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App