१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

माइभ्याली गोल्डकप : आयोजकमाथि मनाङको कठिन जित

इलाम– आयोजक माइभ्याली क्लबविरुद्ध १–० गोलको कठिन जित निकाल्दै मनाङमस्र्याङ्दी क्लब चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। राष्ट्रिय टिमका कप्तान विराज महर्जनसहित मैदानमा उत्रिएको मनाङले सोमबारको पहिलो क्वार्टरफाइनलमा आमदर्शकको अपेक्षाअनुसार नतिजा हासिल गर्न भने सकेन। 

खेलको ३७औं मिनेटमा मनाङका नाइजेरियन खेलाडी काचीले माइभ्यालीविरुद्ध गोल गरे। मनाङका हेमन गुरुङले डि–बक्सनजिकैबाट हानेको फ्रिकिकलाई सदुपयोग गर्दै काचीले हेडमार्फत आकर्षक तरिकाले बललाई जाली चुमाएका हुन्। उनकै गोल मनाङका लागि सेमिफाइनल यात्रा गर्न पर्याप्त बन्यो।

पहिलो हाफमा १ गोलले पछि परेको माइभ्यालीले दोस्रो हाफमा मनाङलाई दबाबमा राख्दा इलामे दर्शकको हुटिङ बढ्यो। मनाङका खेलाडीले पाएका धेरै अवसर चुकाउनु र माइभ्यालीले विपक्षीको गोल पोस्टमा उत्कृष्ट प्रहार गर्नुले घरेलु टोलीप्रति दर्शकको सहानुभूति थपिएको थियो। तर, निर्धारित समयसम्म कुनै गोल गर्न नसक्दा आयोजक माइभ्याली प्रतियोगिताबाट बाहिरिन बाध्य भएको छ।

मनाङका काचीले विपक्षीको पोस्टमा गरेको शक्तिशाली प्रहार रिबाउन्ड भयो भने माइभ्यालीका मनिष थापाको त्यस्तै प्रहार मनाङका रक्षक विशाल श्रेष्ठले बचाउ गरे। खेलभर मनाङ र माइभ्याली दर्जनौं उत्कृष्ट अवसर सदुपयोग गर्नबाट चुकेका थिए।

माइभ्यालीका कप्तान सुवास राईले आफ्नो टिमले सोचेभन्दा राम्रो प्रदर्शन गर्न सकेको बताए। ‘हामीले मनाङजस्तो टिमसँग यत्तिको प्रदर्शन गरिन्छ भन्ने सोचेका थिएनौं,’ उनले भने, ‘खेल सोचेभन्दा राम्रो भयो, हामी पराजित भयौं तर सोमबारको खेलले हाम्रो हौसला बढेको मात्र छैन, इलामे दर्शककै हामीप्रति आशा बढाएकोसमेत अनुभव भएको छ।’ माइभ्याली गोल्डकपमा चौथो संस्करणसम्मकै पहिलो जित निकाल्दै आयोजक माइभ्याली  क्वार्टरफाइनल प्रवेश गरेको थियो। माइभ्यालीले उद्घाटन खेलमा कास्की–११ विरुद्ध ३–२ गोलको जित निकालेको थियो।

मनाङका कप्तान विराज महर्जनले चौथो संस्करणको उद्घाटन खेल आफूहरूले हेरेको र माइभ्यालीलाई कम नआँकेको प्रतिक्रिया दिए। ‘माइभ्यालीमा निकै राम्रा खेलाडी छन्, त्यो टिम कमजोर छैन भन्ने थाहा थियो,’ महर्जनले भने, ‘आफूसँग भएको क्षमता माइभ्यालीले प्रदर्शन गर्दा हामीलाई जित निकाल्न निकै कठिन भयो।’ उनले इलामको खेलमैदान र टिम दुवै गत वर्षभन्दा राम्रो पाएको बताए। ‘पोहोर हामी आउँदा यो ग्राउन्डमा खेल्न निकै समस्या परेको थियो,’ उनले भने, ‘यो पटक चौर भएकाले सजिलो भएछ।’ आफूहरूलाई दोस्रो हाफमा माइभ्यालीले निकै प्रेसर दिएपनि जित नै अन्तिम नतिजा भएको मनाङका नाइजेरियन प्रशिक्षक फुजा टोपेले बताए। उनले आउँदा खेलमा टिम अझ सशक्त भएर उत्रिने पनि जनाए।

राष्ट्रिय टिमका कप्तान विराज महर्जनकै कप्तानीमा राष्ट्रिय टिमका सुजल श्रेष्ठ, अञ्जन विष्ट, हेमन गुरुङ, विशाल श्रेष्ठसहित मनाङ मैदानमा थियो। आयोजक माइभ्यालीले अन्डर–१९ का छिरिङ गुरुङ, मनिष थापा, सुजित गुरुङ र अन्डर–१६ का दर्शन गुरुङसहितलाई अनुभवी खेलाडी सुवास राईको कप्तानीमा मैदान उतारेको थियो। माइभ्यालीकै तीर्थ बस्नेतले सोमबारको म्यान अफ् दि म्याच हुँदै नगद १० हजार र चाँदीको मेडल जिते।

आउँदो १२ गते हुने युनाइटेड सिक्किम र त्रिभुवन आर्मीको विजेतासँग सोमबारको विजेता मनाङले १४ गते सेमिफाइनल खेल्नेछ। मंगलबारको खेल सशस्त्र प्रहरीको एपिएफ क्लब र रमपम झापा–११ बीच हुने तालिका छ।

प्रकाशित: १० वैशाख २०७५ १३:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App