८ वैशाख २०८१ शनिबार
राजनीति

‘बसपछि ट्याक्सीको सिण्डिकेट तोड्ने तयारीमा सरकार’

काठमाडौं- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बससँगै  अब ट्याक्सीको समेत सिण्डिकेट तोड्ने उद्घोष गरेका छन्। 

सोमबार रिपोर्टर्स क्लबद्वारा आयोजित साक्षात्कारमा बोल्दै मन्त्री महासेठले भने, ‘बसको त सिण्डिकेट धेरै पहिले नै खारेज गरेको हो, हामीले नौलो काम गरेकै होइन नि, हामीले त कार्यान्वयन गराएका हौं, सम्मानित सर्वोच्च अदालतले आजभन्दा १८ वर्ष पहिल्यै नै सिण्डिकेट खारेजको निर्देशन दिएको हो, हामीले कार्यान्वयन गरेका छौं, अब मिनिबस र ट्याक्सीमा पनि सिण्डिकेट खारेजी गरेर कम्पनी ऐन अन्तर्गत व्यवस्थित गर्छौं।’

पर्यटक र आम सर्वसाधारण जनताले निर्धक्क भएर सुविधाजनक यात्रा गर्न पाउनुपर्ने बताउँदै उनले सरकार सोही अनुसार अघि बढिरहेको स्पष्ट पारे। उनले भने, ‘विकृति र विसंगतिका विरुद्ध हाम्रो प्रयास हो, हामी सफल भएर छाड्छौं, अन्तिममा आएर बस व्यवसायीहरुलेपनि आन्दोलन फिर्ता गरेर हामीलाई सहयोग गर्नुहुन्छ।’

उनले तीन महिनाभित्रै कम्पनी ऐन अन्तर्गत व्यवसायीहरु नआए आफूहरुले बाध्य भएर बैकल्पिक व्यवस्था अपनाउने चेतावनी दिए। महासेठले भने, ‘सरकार आफै बस सञ्चालन गरेर व्यवसाय गर्ने पक्षमा छैन, यदि उहाँहरुले आम हड्ताल फिर्ता लिनुहुन्न भने हामी बाध्य भएर बैकल्पिक व्यवस्थाबारे सोच्छौं, हामी पर्यो भने नयाँ बस ल्याउन सक्छौं।’

कम्पनी ऐन अन्तर्गत व्यवसायीहरु आउँदा यसले बसका असली मालिकहरुलाई फाइदा हुने उनको भनाई थियो। उनले भने, ‘कम्पनी अनुसार आउँदा कर्मचारीहरुको रोजगारीको सुनिश्चितता् हुन्छ, चालक तथा सह–चालकको पनि रोजगारी यसले ग्यारेण्टी गरेको छ, सिण्डिकेटले कृत्रिम बस मालिकहरुलाई मात्रै फाइदा छ।’ 

उनले कम्पनी ऐनअन्तर्गत आउने काम सम्पन्न भएसँगै आफूहरुले सवारीमा ड्राइभरको ‘ड्रेस कोड’, सिटको उचित प्रबन्ध, जेष्ठ नागरिक तथा महिलाहरुको लागि छुट्टै सिटको व्यवस्था गरिने पनि जनाए। 

सिण्डिकेट अन्त्य गर्न सबैको साथ र सहयोग रहेकोले अब सरकारले अघि सारेको यो कदमलाई सफल बनाउनको लागि कांग्रेस र मधेशवादी दलहरुलेपनि साथ दिनुपर्ने उनको भनाई छ। 

अझैपनि सिण्डिकेट फर्किन्छ कि भन्ने डर, त्रास र शंका नपाल्नको लागि आम जनतालाई आग्रह गर्दै मन्त्री महासेठले भने, ‘ढुक्क हुनुहोस्, अब सिण्डिकेट फर्किँदैन्, सदाका लागि अन्त्य भैसकेको छ, यो खारेजी भैसकेको छ।’

उनले सिण्डिकेटका विरुद्धमा सरकारलाई साथ दिईरहेका बस व्यवसायीहरुको सरकारले पूर्ण रुपमा सुरक्षा प्रदान गर्ने विश्वास दिलाए। उनले भने, ‘सरकारले पूर्ण रुपमा सुरक्षा दिन्छ, यसमा कुनै दुईमत छैन, सरकार चुपचाप बस्दैन, तोडफोड गर्नेहरुलाई कडा कारबाही गर्छौं।’

प्रकाशित: १० वैशाख २०७५ १३:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App