coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
कला

मिस नेपाललाई सरकारले प्राथमिकता नदिएको श्रृङ्खलाको गुनासो

बृद्धबृद्धालाई खाना बाड्दै मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडा। तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर – मिस नेपाल वल्र्ड २०१८ शृङ्खला खतिवडाले मिस नेपाललाई सरकारले प्राथमिकता दिनुपर्ने बताएकी छिन्। मिस नेपालले विश्वमा देशको प्रतिनिधित्व गर्ने भएपनि सरकारले कम प्राथमिकता दिँदै आएकोमा उनले गुनासो पनि पोखिन्।

गृहनगर हेटौंडा आएकी उनले पत्रकारसँग कुरा गर्दै खेलाडीहरूलाई जस्तै सरकारले मिस नेपाललाई पनि सहयोग गर्नुपर्नेमा जोड दिइन्। ‘मिस वल्र्डमा शृङ्खला भनेर बोलाईदैन, मिस नेपाल भनेरै चिनिन्छ,’ उनले भनिन् ‘त्यसलाई बुझेर सरकारले महत्व दिए विश्वभरै राम्रो सन्देश जान्थ्यो र हामीलाई उत्साह मिल्थ्यो।’

प्रायः सबै मिस नेपाल उपाधी विजेताहरू फिल्मी क्षेत्रमा छन्, तपाईको योजना के छ ? भन्ने पत्रकारको प्रश्नमा उनले फिल्मी क्षेत्रमा कुनै रुची नभएको बताइन्। ‘मेरो रुची नै आर्किटेक्टमा रहेको छ,’ उनले भावी योजनाबारे सुनाउँदै भनिन् ‘मेरो अभिनय र नृत्य राम्रो छैन, त्यसैले रुची, दक्षता नभएकोले फिल्मी क्षेत्रमा आउँने सम्भावना छैन।’

आमा मुनु र बाबु बिरोध खतिवडा राजनीतिकर्मी भएपनि राजनीतिमा आउनेबारे स्पष्ट बताईनन्। उनले राजनीति बुझ्नुपर्ने भन्दै युवामा बितृष्णा भएपनि बुझाइको कमी रहेको बताइन्। राजनीतिमा नबुझी हालेको भोट विकास र प्रगतिको बाधक हुने भन्दै उनले राजनीतिमा लाग्ने खासै रुची नभएको तर्क गरिन्।

‘मिस वल्र्डमा बालिका बलात्कार, बालबालिका शिक्षा, महिला शिक्षालगायतका धेरै बिषय छन्,’ उनले भनिन् ‘दीर्घकालिन प्रभाव पार्ने विषयलाई छनौट गरेर मिस वल्र्डमा प्रस्तुत गर्नेछु।’ पूर्व मिस नेपाल ईशानी श्रेष्ठले मिस वल्र्डको हालसम्मको ब्यूटी विथ प्रपर्स उपाधीसहित उत्कृष्ट ५ मा पर्न सफल रहेको भन्दै आफूले पनि राम्रो उपलब्धी हासिल गर्न पहल गर्ने बताइन्। मिस नेपाल भएपछि केही उदाहरणीय काम गृह जिल्लामै गर्ने पनि खुलासा गरिन्।

यसैबिच, मिस नेपाल खतिवडाले मंगलबार हेटौंडामा मानवसेवा आश्रममा आश्रित ७५ जना बृद्धबृद्धालाई खाना खुवाइन्। आमा मुनु सिग्देल र बाबु बिरोध खतिवडासहित आश्रम पुगेकी उनले बृद्धबृद्धालाई चकलेट बाँडेर खुशी पनि साटिन्। मिस नेपाल खतिवडाको आमा सिग्देल एमाले जिल्ला अध्यक्ष एवम् प्रदेशसभा सदस्य हुन् भने बाबु खतिवडा प्रतिनिधि सभाका साँसद एवम् एमालेका केन्द्रिय सदस्य हुन्।

प्रकाशित: ११ वैशाख २०७५ ०६:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App