६ वैशाख २०८१ बिहीबार
खेल

माइभ्याली गोल्डकप : डिफेन्डिङ च्याम्पियनसँग एपिएफको बदला

इलाम – सशस्त्र प्रहरीको एपिएफ क्लब डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ सँग हारको बदला लिँदै चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकपको सेमिफाइनल प्रवेश गरेको छ। मंगलबारको दोस्रो क्वार्टरफाइनलमा १ का विरुद्ध २ गोल गर्दै एफिएफले माइभ्याली गोल्डकपको लगातार दुईपटकको विजेता झापालाई क्वार्टरबाटै घर फर्काएको हो।

खेलको ५४औं मिनेटमा एफिएफका नवीन लामाले पहिलो गोल गरी आफ्नो टिमलाई अग्रता दिलाए। उनले डि–बक्सनजिकैबाट गरेको प्रहारमा बलले जाली चुम्यो। तर, एफिएफको अग्रता २ मिनेट टिक्न नपाउँदै झापाका भूषण सुब्बाले अर्काे गोल फर्काए। निकै टाढाबाट आएको पासलाई सदुपयोग गर्दै सुब्बाले ५६औं मिनेटमा विपक्षीको पोस्ट नजिकैबाट आकर्षक गोल गरेपछि खेल झनै रोमाञ्चक बन्यो। ६५औं मिनेटमा एफिएफकै युवराज खड्काले अर्काे गोल थपे। नवीन लामाले दिएको पासलाई युवराजले विपक्षीको गोल पोस्टमा जाली चुमाउँदा डिफेन्डिङ च्याम्पियन समर्थन खचाखच दर्शक निराश बनेका थिए।

खेल अवधिभर एफिएफले झापालाई दबाबमा राखेपनि झापाले पाएका आधा दर्जन अवसर चुकायो। पूर्वार्धमा झापाका खामिरगिल्सन कन्दङ्बाको उत्कृष्ट प्रहार विपक्षी एपिएफका बलरक्षक राजु नगरकोटीले बचाए। झापाकै निरोज बस्नेतले प्रहार गरेको फ्रिकिक विपक्षी टिमका बलरक्षक नगरकोटीबाट उम्किएलगत्तै झापाका कर्ण लिम्बूले गरेको शक्तिशाली प्रहार पनि नगरकोटीले बिफल तुल्याइदिए। झापाकै देवेन्द्र तामाङले कर्नरबाट आएको बल विपक्षीको पोस्टमा प्रहार गर्दा रिबाउन्ड भयो। एपिएफका श्याम नेपालीले विपक्षी झापाको पोस्टमा हेडमार्फत् प्रहार गरेको गोल फ्रेममा पर्न सकेन। एफिएफले पाएका निकैवटा अवसर विपक्षी झापामाथि स्कोर थप्नबाट असफल साबित हुँदा पूर्वार्धमा दुवै टिम गोलरहित बराबरीमा रोकिए।

दोस्रो हाफमा झापाका हेमन्त थापामगरले विपक्षीविरुद्ध गोल पोस्टनजिकैबाट हानेको फ्रिकिक खेर गयो। एपिएफका श्याम नेपालीको शक्तिशाली प्रहार झापाका बलरक्षक किरण चेम्जोङले दर्शकको मनै जित्नेगरी रक्षा गरिदिए। दोस्रो हाफमा पनि झापालाई दबाबमै राख्न एपिएफ सफल बन्यो। मंगलबारको खेलको म्यान अफ् दि म्याच हुँदै एफिएफका कप्तान नवीन लामाले नगद १० हजार र चाँदीको मेडल हात पारे। माइभ्यालीको दोस्रो संस्करणको फाइनलमा झापाले २–० गोल अन्तरले एपिएफलाई पराजित गरी उपाधि उचालेको थियो। तेस्रो संस्करणको सेमिफाइनलमा पनि झापाले एफिएफलाई १–० गोलले पराजित गरेको थियो।     

झापा–११ का टिम प्रशिक्षक प्रवेश कटवालले टिममा खेलाडीको सेटिङ परिवर्तन भइरहेकाले यो पटक सफलता हासिल हुन नसकेको बताए। ‘पाएका धेरैवटा अवसर हाम्रा खेलाडीले सदुपयोग गर्न नसक्नु पराजयको मुख्य कारण हो,’ उनले भने, ‘टिममा नयाँ खेलाडी पनि थपिएकाले टिमवर्कमा कमजोरी भयो।’ उनले स्ट्राइकर पनि नयाँ भएकाले पाएका अवसर सदुपयोग गर्न नसकेको बताए। ‘तैपनि, जस्तो खेल हुन्छ भन्ने सोचेका थियौं, त्यस्तो हुन सकेन,’ उनले भने, ‘पोहोरभन्दा टिम फेरबदल भएकाले असफल भयौं।’

झापाका कप्तान कर्ण लिम्बूले टिमका खेलाडी बल लिने र दिने बेलामा ‘कन्फ्युज’मा परेकाले सफल हुन नसकेको बताए। ‘एपिएफ आफैं राम्रो टिम पनि हो,’ उनले भने, ‘हाम्रा साथीहरूबीच राम्रो कम्बिनेसन हुन सकेन, बल लेखदेनमा कन्फ्युज भएकाले पाएका अवसर पनि सदुपयोग हुन सकेनन्।’

विजेता एफिएफका प्रशिक्षक गणेश लावतीले मंगलबारको खेल आफ्ना खेलाडीले शतप्रतिशत पूरा गरेको बताए। ‘फाइनलमा हुनुपर्नेजस्तो प्रदर्शन हाम्रा खेलाडीले देखाएका छन्,’ उनले भने, ‘हार–जितको खेल आधा–आधा अनुपातमै थियो तर हाम्रा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे।’ उनले एफिएफका खेलाडीले पनि केही राम्रा अवसर चुकाएको र रेफ्रीले पनि सहायक रेफ्रीको संकेतमा लागिसकेको गोललाई आधिकारिक नमानेको आरोप लगाए। ‘विपक्षी झापाको पोस्टमा गोल लागेको संकेतकै ह्विसेल मुख्य रेफ्रीले बजाइसकेका थिए तर सहायक रेफ्रीले त्यसलाई अफ् साइड देखाएर असफल बनाइदिए,’ उनले भने, ‘रेफ्रीबीचको कम्युनिकेसन राम्रो नभएको पाइयो ।’

राष्ट्रिय खेलाडीहरू आदित्य चौधरी, रञ्जन विष्ट, अन्डर–२३ का सुदीप सिंखाकार, अन्डर–१९ का विश्वास उदास र राजन गुरुङसहित नवीन लामाको कप्तनीमा एफिएफ मैदानमा थियो। झापा–११ ले कर्ण लिम्बूको कप्तानीमा राष्ट्रिय खेलाडी देवेन्द्र तामाङ, हेमन्त थापामगर, अन्डर–२३ का पूजन उपरकोटी, अन्डर–१९ का निरोज बस्नेतसहितका खेलाडी मैदान उतारेको थियो । माइभ्यालीको गत ७ गतेको प्रि–क्वार्टरमा एफिएफले बंगलादेशको कावरान प्रगति संघलाई ३–१ गोलान्तरले पराजित गरेको थियो । झापाले भने सोझै क्वार्टरमा प्रवेश पाएको हो।

विजेता एफिएफले नेपाल पुलिस क्बल र थ्रिस्टार फुटबल क्लबबीच आउँदो १३ गते हुने चौथो क्वार्टरफाइनलको विजेतासँग १५ गते दोस्रो सेमिफाइनल खेल्नेछ। बुधबारको तेस्रो क्वार्टरफाइनल त्रिभुवन आर्मी र भारत सिक्किमको युनाइटेड सिक्किमबीच हुनेछ।

प्रकाशित: ११ वैशाख २०७५ १४:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App