७ वैशाख २०८१ शुक्रबार
कला

प्रविधि र व्यवसायमा छलाङ मार्दै नेपाली संगीत

काठमाडौं – दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको मेलोडीमा नयाँपन पाइरहेका छन् । यो समयमा आएका नयाँ संगीतकर्मीले संगीतमा फरक फ्लेबर ल्याइदिए।

संगीतले कलाकारको पहिलाको स्टारडम र अहिलेको स्टारडममा फरक बनाइदिएको छ। पहिला कलाकार आफैं स्टारडम बनाउँथे । तर अहिले गीतसंगीतले उनीहरुलाई स्टार बनाइदिएको छ । उनीहरुको पहिचानलाई पनि फराकिलो बनाइदिएको छ।

 मिडिया, रेकर्डिङ स्टुडियो, स्रष्टा र बजारको सीमिततामा घेरिएको नेपाली संगीतले १० वर्षमा ठूलो छलाङ मारेको छ । आफूले बजारमा ल्याएका गीतको प्रवर्द्धनको शैली थाहा नहुँदा धेरै स्रष्टाले आफ्ना सिर्जनालाई घरमै थन्क्याएर राखिरहँदा अहिलेका स्रष्टा भने यो समस्याबाट मुक्त भइसकेका छन्।

प्रविधि, मिडिया, संगीतको बजार, भिडियो निर्माणमा आएको विविधतासँगै संगीतको शिक्षा र सांगीतिक प्रविधिको माहौलमा रमाइरहने युवापुस्ताको आगमनले आफ्नो क्षमतालाई फराकिलो बनाएका छन् । अहिले युवापुस्तालाई प्रविधिभन्दा पनि प्रतिस्पर्धी वा समकक्षीभन्दा आफ्नो सिर्जनालाई कसरी कर्णप्रिय बनाउन सकिन्छ भन्ने चुनौती प्रष्ट देखिन्छ।


पाश्र्व, सुगम, लोक, पप, रकलगायतका हरेक विधाका संगीतमा नयाँपन आइसकेको छ । विशेषत पप र रकमा पाश्चात्य संगीतसँगै ती संगीतमा नेपाली मौलिक संगीतको फ्युजनले संगीतमा नयाँ स्वाद श्रोता र दर्शकले पाइरहेका छन्।
प्रविधिमा छलाङ
दश वर्षअघिसम्म नेपालमा सीमित मात्र गीतको रेकर्डिङ स्टुडियो सञ्चालनमा आइरहँदा अहिले रेकर्डिङ स्टुडियोको संख्या अनगिन्ती छन् । कुनै समयमा गीत रेकर्ड गराउनकै लागि राजधानी आउनुपर्ने स्रष्टाको बाध्यतालाई मोफसलका विभिन्न सहरमा खुलेका सुविधा सम्पन्न रेकर्डिङ स्टुडियोले ठूलो राहत दिएको छ।

आधुनिकताको विकाससँगै कम्प्यूटरको युगले पनि छलाङ मारिरहँदा नेपाली संगीतले पनि त्यही छलाङलाई पछ्याइरहेको छ । प्रविधिकै विकासको कुरा गर्दा कुनै समय गीत रेकर्डिंका लागि भारतको मुम्बई वा कलकत्ता जानु पर्ने बाध्यताबाट पनि नेपाली संगीत पूर्णतया मुक्त भइसकेका छन्।

गजलमा विद्यावारिधी गरेका गीतकार तथा गजलकार डा. कृष्णहरि बराल संगीतको पछिल्लो दशकलाई ‘उर्वर दशक’का रुपमा मान्छन् । ‘हाम्रो समयमा गीत गाउनका लागि रेडियो नेपालमा गीतको सेन्सर गराएर भ्वाइस टेष्ट पास गर्नुपर्ने अनिवार्य प्रावधान थियो।

दश वर्ष अघिसम्म पनि राजधानीमा मात्र रेकर्डिङ स्टुडियोको बाहुल्यता थियो, ’डा. बराल भन्छन्,‘अहिले अवस्था फेरिएको छ । अहिलेको डिजिटल दुनियाँमा कम्प्युटरले मध्यम स्वर भएका गायकगायिकालाई पनि राम्रो गायकगायिकाका रुपमा अगाडि ल्याइदिएको छ । प्रविधिले गर्दा नयाँलाई भ्वाइस टेष्ट पनि गर्नुपर्दैन्।’

डा. बराल संगीत उत्पादनको दृष्टिले पछिल्लो दशकलाई उर्वर दशक मान्छन् । उनको बुझाइमा रचना, गायन र संगीत तीनवटै पक्षलाई नियाल्दा हरेक विधामा दश वर्ष ‘स्वर्णिम समय’ हो । ‘संगीत क्षेत्रमा दिनानुदिन नयाँ नयाँ अनुहारको आगमन भइरहेको छ,’डा. बराल प्रष्ट्याउँछन्, ‘नयाँ अनुहार आउँदा गुनासो पनि आउने गर्छन् । गायन, लेखन र संगीतमा सिकारुको आगमनले केही समस्या देखिए पनि त्यो समस्या हल हुँदै गएको छ।’

गीतकार डा. बरालको भनाइसँग संगीतकार शक्ति बल्लभ सहमत छन् । संगीतकार बल्लभ धेरै अर्थमा संगीतमा परिवर्तन आएको स्वीकार्छन् । ‘त्यो परिवर्तन आउनुमा प्रविधिको योगदान विशेष छ । संगीतको स्वादमा परिर्वतन भइसक्यो।

केही श्रोताहरु अहिले पनि संगीतको पुरानै मेलोडी सुन्न चाहन्छन् । पुरानै शैलीको बनाउन त नसकिएला तर त्यसमा प्रविधिको प्रयोगले नयाँ सिर्जना चाहिँ ल्याउन सकिन्छ,’बल्लभको बुझाइ छ,‘हामी पुरानो पुस्ताका स्रष्टाले पनि अहिलेको प्रविधिलाई पछ्याउन पाउनु एउटा ठूलो मौका नै हो । संगीतको ट्युनिङमा नयाँपन कतै आएको छ भने हामीले त्यसको प्रविधिमा पनि नयाँपन छ है भनेर बुझ्नुपर्छ।’पाश्र्व संगीतमा पछिल्लो समयमा सर्वाधिक रुचाइएका संगीतकार अर्जुन पोखरेल दशकयताको संगीत सिर्जनामा दर्शकको रुचि मेलोडीमा बढी देखिएको जिकिर गर्छन्।

‘दशकअघिको सुगम र पाश्र्व दुवै संगीत र अहिलेको संगीतको फ्लेबरमा आकाश पातालको फरक छ । अहिले प्रविधिले गर्दा दर्शकले सिर्जनाको मेलोडीमा नयाँपन पाइरहेका छन् । यो समयमा आएका नयाँ संगीतकर्मीले संगीतमा फरक फ्लेबर ल्याइदिए।

संगीतले कलाकारको पहिलाको स्टारडम र अहिलेको स्टारडममा फरक बनाइदिएको छ । पहिला कलाकार आफैं स्टारडम बनाउँथे । तर अहिले गीतसंगीतले उनीहरुलाई स्टार बनाइदिएको छ । उनीहरुको पहिचानलाई पनि फराकिलो बनाइदिएको छ।’
मिडियाः अवसर र चुनौति
संगीतमा जस्तै मिडियामा पनि ‘डिजिटलाइजेसन’ भएपछि संगीतकर्मीलाई गीत प्रमोसनमा अत्यन्तै सजिलो भएको छ । खास गरी दशकयता फैलिएको सामाजिक सञ्जाल, युट्युब संस्कृति, टेलिभिजन, रेडियो र अनलाइनसँगै पत्रपत्रिकाको संख्या ह्वात्तै बढेपछि संगीतकर्मीलाई आफ्ना सिर्जना पाठक, श्रोता र दर्शकमाझ पु¥याउन सहज बनेको छ ।

‘संगीत क्षेत्रसँगै मिडियाको विकास हुनु पनि राम्रो कुरा हो । तर पछिल्लो समयमा मिडियाको विकासक्रमले संगीत क्षेत्रमा अवसरको सिर्जना गरे पनि त्यसको सही व्यवस्थापन हुन सकेको छैन,’डा. बराल भन्छन्,‘मिडियामा गीत प्रकाशन वा प्रसारण गर्दा गीतको गुणस्तरीयता कस्तो छ । त्योतर्फ मिडियाले ध्यान दिनुपर्ने देखिन्छ।

अहिले युट्युबमा एक करोड दर्शक पुगेको छैन् भने त्यसमा अन्य संगीतकर्मीको चासो गएको देखिँदैन । करोड बढी दर्शक पाएका गीतवापत सम्बन्धित स्रष्टाले पनि रोयल्टीका रुपमा रकम पाउनुपर्ने प्रावधान आवश्यक छ।’संगीतकार बल्लभ सिर्जना र मिडिया एकअर्काका परिपुरक भएकाले पनि संगीतको बजार व्यापक बन्दै गएको दाबी गर्छन् । ‘अहिले गीतभन्दा पनि त्यसको म्युजिक भिडियो बनेको छ या छैन भन्ने कुरामा चासो बढी हुन्छ।

भिडियो बनेपछि दर्शकमाझ पुर्‍याउने माध्यम मिडिया नै हो,’उनी भन्छन्,‘दशक अघिको मिडियाको सीमित मिडियाको संख्या अहिले असीमित बनेको छ । मिडियाको विकासले कलाकर्मीलाई पनि आफ्ना सिर्जनाका बारेमा श्रोता, दर्शक र पाठकको सकारात्मक र नकारात्मक प्रतिक्रिया बुझ्न सजिलो भएको छ ।’ बल्लभ टेलिभिजनमा संगीत सम्बन्धी रियालिटी सो बढ्नुलाई पनि संगीत विकासको एउटा उपलब्धि मान्छन् ।

प्रवासी नेपालीको उत्साहजनक उपस्थिति
पछिल्लो दशकमा नेपाली अर्थतन्त्रको वृद्धिमा ‘रेमिट्यान्स’ को योगदान महत्वपूर्ण छ । रोजगारीका लागि विदेशीने युवावर्ग आफ्नो कमाइ केवल घरखर्चका लागि मात्र पठाउँदैनन् । उनीहरुले आफूले प्रवासमा सिर्जना गरेका गीतका शब्दलाई संग्रहित गरेर गीति एल्बम निकाल्न पनि उस्तै सक्रियता देखाइरहेका छन्।

राजधानीमा भइरहने एल्बम सार्वजनिक कार्यक्रमको माहौललाई हेर्ने हो भने एल्बमसँग सम्बन्धित अधिकांश स्रष्टा विदेशमा बस्ने गैर आवासीय नेपालीहरु छन् । संगीतको फरक–फरक विधामा भए पनि उनीहरु आफ्नो कमाइको केही हिस्सा संगीतमा नै लगानी गरिरहेका छन्।

संगीतकार पोखरेलको अनुभवमा विदेशमा बस्न नेपालीको चासो संगीतमा दिनानुदिन बढिरहेको छ । ‘विदेशमा बस्ने दाजुभाइ दिदीबहिनीको संगीतमा उल्लेख्य रुचि पाएको छु । विदेशमा श्रम गरे पनि त्यो कमाइ नेपाली संगीतमै लगाउने काम तारिफ योग्य छ,’पोखरेल भन्छन्,‘उहाँहरुको सहयोगले हामी जस्ता व्यावसायिक संगीतकर्मीलाई आफ्नो व्यवसाय बलियो बनाउन धेरै सजिलो बनाइदिएको छ।’

संगीत क्षेत्रको विकासक्रमलाई आर्थिक पक्षले पनि फराकिलो बनाइदिएको छ । संगीतकार बल्लभ शोखले संगीतमा लागेका पुराना पुस्ता भन्दा संगीतकै अध्ययन गरेर यसैमा लगानी गर्ने अहिलेको पुस्ता उदाहरणीय बनेको जिकिर गर्छन्।

‘म बैंकको जागिरे भए पनि शोखले संगीत क्षेत्रमा लागें । तर अहिलेको पुस्ता यसैलाई शैक्षिक योग्यता बनाएर यसमै लगानी गरिरहेका छन् । त्यसकारण अहिलेको संगीत महंगिएको छ । यो महंगो माहौलमा विदेशमा बस्ने नेपालीको योगदान उच्च छ,’संगीतकार बल्लभको दाबी छ,‘विदेशमा गएर भए पनि सानैदेखिको संगीतको लगावलाई पूरा गर्न अहिलेको पुस्ता दत्तचित्त छन् । उनीहरुको उत्साह आश्चर्यजनक छ।’
 

प्रकाशित: १२ वैशाख २०७५ ०२:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App