coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भूकम्पको तीन वर्षः उठे १८ प्रतिशत घर

माथागढी गाउँपालिका–४, पाल्पा बगालेका केशरबहादुर विक आफूले बनाएको घर देखाउँदै। तस्बिरः मुक्तिप्रसाद न्यौपाने/नागरिक

काठमाडौं – १२ वैशाख २०७२, नेपालमा महाविनाशकारी भूकम्प गएको दिन। आजभन्द ठीक तीन वर्षअघिको त्यो त्रासदीपूर्ण घटनाको स्मरण धेरै नेपालीमा ताजै छ। तीन वर्ष बितिसक्यो, तर महाविनाशकाली भूकम्पबाट पीडित भएका नेपालीमा भने त्यो भूकम्पले छाडेर गएको पीडा ज्यूँका त्यूँ छ। पीडित परिवारमा आफन्त गुमाउनुको पीडा त छँदै छ, भूकम्पका भत्किएको घर समेत ठडिन सकेको छैन।

तीन वर्षमा पुननिर्माण प्राधिकरणको कार्यकारी प्रमुख समेत तेस्रो पटक फेरिएको छ। पहिलो सिइओ सुशील ज्ञवाली र दोस्रो सिइओको रुपमा गोबिन्द पोख्रेलले जिम्मेवारी लिइसकेका छन्। वर्तमान सिइओका रुपमा युवराज भुषाल आएका छन्। तर, पुनः निर्माणले अपेक्षित गति लिन सकेको छैन। हालसम्म भूकम्पले भत्काएका १८ दशमलव ४६ प्रतिशत घर मात्र तयार भएका छन्। २०७२ को भूकम्पबाट ७ लाख ६७ हजार ७ सय ५ वटा निजी घरमा क्षति पुगेको थियो। प्राधिकरणका अनुसार क्षतिग्रस्त ती घरमध्ये हालसम्म १ लाख ४१ हजार ७ सय ८६ को निर्माण सकिएको छ।

भूकम्प गएको तीन वर्ष सकिदा ७१ हजार पाँच सय १२ जना पीडितले पहिलो किस्तावापतको अनुदान रकम नै पाउन सकेका छैनन्। प्राधिकरणका अनुसार हालसम्म ७ लाख ९ हजार एक सय ८० पीडितसँग अनुदान सम्झौता भएको छ। तीमध्ये दोस्रो किस्ता पाउने लाभग्राहीको संख्या ३ लाख ७२ हजार ४ सय ३९ छ। यस्तै, तेस्रो किस्ता पाउने लाभग्राहीको संख्या १ लाख २० हजार ३ सय ६९ रहेको छ। अहिले ३ लाख ३७ हजार १ सय ४० घरहरू बन्दै गरेको प्राधिकरणका प्रवक्ता यमलाल भुषालले बताए। प्राधिकरणमा २ लाख ३७ हजार ८५ गुनासो दर्ता भएकोमध्ये २ लाख ५ हजार ५ सय ८४ गुनासो फर्छौट भएका छन्।

जबकी, गत मंसिरभित्रमा पहिलो किस्ता उपलब्ध गराइसक्ने सरकारी लक्ष्य थियो। अझै पनि ठूलो संख्याका पीडितले जग खन्ने पैसासमेत पाउन सकेका छैनन्। आगामी चैतसम्म दोस्रो र असारसम्म तेस्रो किस्तावापतको अनुदान उपलब्ध गराउने दाबी प्राधिकरणको छ।

प्राधिकरणको आँकडा हेर्दा हालसम्म पुनः निर्माण भएका निजी आवास बाहेकका संरचना न्यून संख्यामा देखिन्छन्। भूकम्पबाट क्षति पुगेका ७ हजार पाँच सय ५३ विद्यालयमध्ये हालसम्म ३ हजार ६ सय १३ को मात्र पुनः निर्माण भएको छ। १ हजार ७ सय १९ वटा विद्यालय भवन निर्माणाधीन छन्। यस्तै, भूकम्पबाट क्षति व्यहोरेका ११ सय ९७ स्वास्थ्य संस्थामध्ये हालसम्म ५ सय ८६ वटाको पुनः निमार्ण सकिएको छ।

१ सय ८० वटाको संरचना निर्माणाधीन छ। जबकी पछिल्लो एक वर्षमा ३१ वटा स्वास्थ्य संस्थामात्र पुनः निर्माण भएका छन्। ३ सय ८९ सरकारी भवन पुनः निर्माण गर्ने लक्ष्य राखिएकोका २ सय २० सम्पन्न भै १ सय ४७ पुनः निर्माणको क्रममा छन्। ३ सय ८३ सुरक्षा निकायको भवन पुनः निर्माणको लक्ष्य रहेकोमा ७९ मात्र सम्पन्न भएको छ।  ७ सय ५३ वटा पुरातात्विक तथा सांस्कृतिक सम्पदामा क्षति पुगेकामा हालसम्म एक सय वटाको मात्रै पुनः निर्माण सम्पन्न भएको छ। तीन सय २९ यस्ता सम्पदा निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ।

खर्च प्रगतिमा वृद्धि
प्राधिकरणले मंगलबार गरेको पत्रकार सम्मेलनको तथ्याङ्क अनुसार भूकम्पपछि करिब १ सय २० अर्ब रुपैयाँ खर्च भइसकेको छ। भूकम्प गएको वर्ष २०७२–०७३ मा ४ अर्ब २० करोड, आव २०७३–०७४ मा ४९ अर्ब र चालू आवमा ६६ अर्ब खर्च भैसकेको छ।

पाल्पा जिल्लामा १० हजार ३ सय ९८ घरमा सर्वेक्षण गरिएकोमा ४ हजार ६ सय ५२ लाभग्राही सूचीमा सूचिकृत छन्। अहिलेसम्म कुनै पनि घर पूर्ण रुपमा निर्माण सम्पन्न भैसकेको छैन। हालसम्म २१ घरधनीले तेस्रो किस्ताका लागि अनुदान सम्झौता गरेका छन्। यस्तै, दुई सय ६४ घरधनीले दोस्रो किस्ता र तीन हजार ८ सय २९ ले पहिलो किस्ताको सम्झौता गरेका छन्।

प्रकाशित: १२ वैशाख २०७५ ०५:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App