७ वैशाख २०८१ शुक्रबार
खेल

बार्दलीका दर्शक

इलामको ठूलो टुँडिखेलमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप चलिरहेका बेला घरको बार्दलीबाट खेल हेरिरहेका दर्शक। तस्बिर: भीम चापागाईं/नागरिक

इलाम – हरेक हिउँद लाग्नेबित्तिकै इलामका जन–जनमा माइभ्याली गोल्डकपको चर्चा हुन थाल्छ। सदरमुकाममा ‘कुम्भमेला’ लाग्ने वर्षभरकै एउटा अवसर भएकाले पनि माइभ्याली गोल्डकप इलामे नर–नारीमाझ प्रिय बनेको छ। बालबालिकादेखि बुढापाकासम्मका दर्शक माइभ्यालीको ‘मेला’मा रमाउन आउँछन्।

बाहिरी जिल्लाका खेलाडीले यहाँ आउँदा प्रशंसा गरिदिएजस्तै छन् इलामे दर्शक पनि। बाँसका प्यारापिटमा घन्टौं बसेर फुटबलको मज्जा लिने त छँदैछन्, प्यारापिटमा नअटाएर के भो ! नजिकैको घरको बार्दली, छत, भुइँ र सडकलाई पनि दर्शकले आफैं बनाइदिन्छन् ‘प्यारापिट’। त्यो पनि, आयोजकको टिकट काटेरै।

अहिले सदरमुकामको ठूलो टुँडिखेलमा चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप चलिरहेको छ। वैशाख ६ मा सुरु प्रतियोगिताको क्वाटरफाइनलका खेल बिहीबार सकिँदैछन् भने फाइनल आउँदो १७ गते हुँदैछ। प्रतियोगिताको सुरुका दिनमा मैदानको प्यारापिट खाली तर प्यारापिटबाहिरको घरका बार्दली दर्शकले खचाखच देखिन्थे। दोस्रो क्वार्टरफाइनल (मंगलबार) चलिरहँदासम्ममा मैदान र घर दुवैतिरका ‘प्यारापिट’ दर्शकले भरिँदैछन्। ‘प्यारापिटमा बस्न सयदेखि २ हजार रुपैयाँसम्मको टिकट काट्नुपर्छ, यहाँ बस्यो भने, कहिले टिकट काट्दा हुन्छ, कहिले नकाटेपनि हुन्छ,’ महेन्द्ररत्न बहुमुखी क्याम्पस परिसर नजिकै डाँडाबाट टुँडिखेलको खेल नियालिरहेका एक युवक भन्छन्, ‘जहाँबाट भएपनि खेल हेर्नु त हो।’

पहाडी क्षेत्र भएकाले सदरमुकामको ठूलो टुँडिखेलमा अग्लो भूभागबाट मैदानको खेल हेर्न गाह्राे छैन। पहिलो, दोस्रो र तेस्रो संस्करणमा जस्तै अहिले पनि मरब क्याम्पसको छत, मुनिपट्टिका डाँडाकाँडा, सडक दर्शकले ढाकिएका छन्। टुँडिखेलमाथि र मुनिपट्टिका घरका बार्दली, छतमात्र नभएर नजिकैको इलाम नगरपालिकाको सभाहलको बार्दली र छतमा उभिएका खचाखच दर्शक पनि टुँडिखेलको खेल नियालिरहेका देखिन्छन्। खेलको मध्यान्तरअघि अलि पातलो संख्यामा देखिने यी ‘बार्दलीका दर्शक’ मध्यान्तरपछि अझ खचाखच हुनेगरेका छन्। ‘टुँडिखेलमा खेलेको खेल प्यारापिटभन्दा राम्ररी यहाँबाटै देखिन्छ, म त पैसा तिरेरै हेरिरहेको छु,’ टुँडिखेलभन्दा माथिल्लोपट्टिको घरको बार्दलीमा उभिएर फुटबल हेरिरहेका सुरज देवले गेटमा काटिएको टिकट देखाउँदै सुनाए, ‘तर, पैसा नतिरी हेर्नेको संख्या पनि यहाँ कम चाहिँ छैन।’

गतवर्षहरूजस्तै यो वर्ष पनि सेमिफाइनल र फाइलन खेलमा दशौंहजार दर्शक सहभागी हुने आशा आयोजकलाई छ। र, आयोजकको अनुमान छ, टुँडिखेलमा नजर पुर्याउन सकिने घर, कार्यालयका बार्दली र छत अब भरिनेछन्, सडकमा उभिने दर्शकसमेत अटाइनअटाइ हुनेछन्।

गतवर्षका प्रतियोगितामा आएका दर्शकको संख्यालाई आधार मान्दा आयोजकको अनुमान गतल पनि होइन। गाउँ–गाउँ र विभिन्न जिल्लाबाट माइभ्याली गोल्डकप हेर्न आउने दर्शकको संख्याले नै आयोजकलाई बर्सेनि प्रतियोगिताको निरन्तरतामा हौस्याएको हो। गोल्डकप हेर्नकै लागि सदरमुकाममा डेरा लिएर बस्ने युवाको संख्यासमेत कम छैन। कथंकदाचित यो बेला स्कुल, कलेज र कार्यालयहरूको बिदा परे गोल्डकप हेर्नकै लागि सदरमुकाम आएर बस्ने युवाको हुल ठूलै हुन्छ।

‘माइभ्याली गोल्डकप हेर्नकै लागि भनेर १५ दिनका लागि सदरमुकाममै डेरा लिएर बसेको छु,’ माङ्सेबुङ गाउँपालिकाका सन्दीप राईले सुनाए, ‘यहाँ फुटबलको महासंग्राम चलिरहेको छ, घरमा कसरी चुप लागेर बस्न सकिन्थ्यो र !’ उनले महिनाको २ हजारका दरले तिर्दा दुई साताको १ हजार रुपैयाँ कोठाभाडा तिरेको र ‘भातखुवाइ’ चाहिँ होटलमा भइरहेको बताए। गतवर्षहरूमा पनि सदरमुकामको फुटबल हेर्न कोठा भाडा लिएरै बस्ने गरेको अनुभव माइजोगमाई गाउँका लोकेन थेबेको छ।

आयोजक माइभ्याली फुटबल क्लबले चौथो संस्करणका लागि सयदेखि २ हजार रुपैयाँसम्मको टिकट व्यवस्था गरेको छ। दिनहुँ ३–४ हजार दर्शकले प्रतियोगिता हेरिरहेको आयोजकको अनुमान छ। फाइनलमा चाहिँ दश हजारभन्दा बढी दर्शक भेला हुने अपेक्षा गरेको माइभ्याली फुटबल क्लबले जनाएको छ।

क्लब अध्यक्ष धिरेन चेम्जोङले बाहिरपट्टिका घरको बार्दली, छत र सडकमा उभिएका दर्शकले पनि आयोजकलाई सहयोग गर्न टिकट चाहिँ किन्ने गरेको सुनाए। ‘कतिपय दर्शकले लुकीचोरी हेरेका हुनसक्छन् तर सभ्य दर्शकले प्यारापिटभन्दा बाहिरै आफूलाई सहज महसुस गरी टिकट काटेर सहयोग गर्नुभएको छ,’ उनले भने, ‘हामी सबै दर्शकलाई प्यारापिटमै आएर प्रतियोगिता अवलोकन गर्न आग्रह गर्छाैं, नभए टिकट काटेर सुरक्षित स्थानबाट प्रतियोगिता नजर गरिदिन अनुरोध गर्छाैं।’

उनले १० हजारभन्दा बढी दर्शक अटाउने प्यारापिट बनाएकाले दर्शकलाई अहिले मैदाननजिकै बस्न कुनै असहज नभएको पनि बताए। ‘क्वार्टरफाइनलसम्म आइपुग्दा दर्शकको आकर्षण क्रमसः बढ्दैछ तर प्यारापिट भरिएको छैन,’ उनले भने, ‘बाहिरबाट हेर्ने सबै सयौं दर्शक प्यारापिटमै अटाउनुहुनेछ, प्यारापिटमै आरामले बसेर नजिकैबाट खेल हेरिदिन हाम्रो आग्रह छ।’ क्लबले दर्शककै लागि अहिलेसम्म मैदानमा बाँसको अस्थायी प्यारापिट निर्माणका लागि ३० लाख रुपैयाँभन्दा बढी खर्चिएको जनाएको छ।

प्रकाशित: १२ वैशाख २०७५ ०६:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App