८ वैशाख २०८१ शनिबार
राजनीति

आगामी वर्षमा पुरातात्विक सम्पदा पुनः निर्माण : मन्त्री अधिकारी

काठमाडौं- पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले हनुमानढोकास्थित ‘भग्नावशेषबाट पुनरुत्थान’ प्रदर्शनी कक्ष शुभारम्भ गरेका छन्।

हनुमानढोका दरबार संग्रहालय विकास समितिले बनाएको उक्त कक्ष शुभारम्भ गर्दै उनले आगामी वर्षमा भूकम्पबाट क्षति भएको पुरातात्विक सम्पदाको पुनः निर्माण गरिसक्ने बताए।

भूकम्पपछि सम्पदाको पुनः निर्माणले गति लिन नसकेकमा अबदेखि कार्ययोजना बनाई अघिबढ्नेमा जोड दिंदै मन्त्री अधिकारीले दुई वर्ष बित्न लाग्दा पनि धरहरा र काष्ठमण्डप बन्न नसक्नु दुःखद भएको बताए। पुनः निर्माणमा बिगतको सरकारले काम गर्न सकेको थिएन तर अब स्थायी सरकार भएकाले पुनः निर्माणलाई तीव्रता दिइने र यस्ता काममा प्रतिपक्षलाई पनि सँगै लिएर जाने उल्लेख गरे।

कार्यक्रममा काठमाडौँमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुनः निर्माणको कामले सोचजस्तो प्रगति हासिल गर्न नसकेको बताए।
शताब्दी पुरुष सत्यमोहन जोशी पुर्खाले बनाएको सम्पदा संरक्षण गर्नुपर्ने भएकाले भूकम्पबाट क्षति भएका सम्पदा पनि चाँडो बनाउनुपर्नेमा जोड दिए। करीब रु २८ लाखको लागतमा निर्मित कक्षमा भूकम्प र भूकम्पपछिको उद्धारसम्बन्धी फोटा, भूकम्पपछि काठमाडौँमा उत्खनन गरिएका पुरातात्विक फोटा राखिएका छन्।

सोही अवसरमा मन्त्री अधिकारीले हनुमानढोकास्थित प्रताप मल्लको पुनः स्थापित शालिकसमेत अनावरण गरे। भूकम्पबाट ढलेको सालिकको पुनः निर्माण ललितपुर मंगलबजारका कलाकार बुबा श्याम डंगोल र छोरा कपिल डंगोलले गरेका हुन्।

 

प्रकाशित: १२ वैशाख २०७५ १०:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App