८ वैशाख २०८१ शनिबार
खेल

पिपल्स च्वाइसको मनोनयनमा सन्दिप

काठमाडौं– इन्डियन प्रिमियर लिग (आइपीएल) को टोलीमा अनुबन्ध हुने पहिलो नेपालीको रुपमा इतिहास लेखाएका क्रिकेटर सन्दिप लामिछानेले अर्को महिना हुने पल्सर स्पोर्टस अवार्डको पिपल्स च्वाइस विधाको पुरस्कार जित्न भलिबल, फुटबल, गल्फ र टेबल टेनिसका चार खेलाडीसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ।

अवार्डको आयोजक नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार पिपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गर्दा सन्दिपसहित भलिबलका मानबहादुर श्रेष्ठ, फुटबलका किरणकुमार लिम्बु, गल्फकी प्रतिमा शेर्पा र टेबल टेनिसका स्यान्टु श्रेष्ठ शीर्ष पाँचमा पर्न सफल भएका छन्। मनोनितमध्येबाट खेलप्रेमीले गरेको एसएमएस र फेसबुक लाइक तथा राष्ट्रिय प्रशिक्षक र खेल पत्रकारले  गरेको मतका आधारमा बाजी मार्ने एक खेलाडीले जेठ ३ मा हुने कार्यक्रममा पिपल्स च्वाइस अवार्डको पुरस्कार जित्नेछन् । विजेताले पुरस्कारस्वरुप पल्सर मोटरसाइकल प्राप्त गर्ने आयोजक मञ्चले जनाएको छ।

मञ्चका अनुसार खेलप्रेमीको एसएमएस र फेसबुक लाइकको ५० प्रतिशत मतभार हुनेछ भने पत्रकार र प्रशिक्षकको भोटको ५० प्रतिशत हुनेछ । चार फेसबुक लाइकको एक मत गनिनेछ भने एक एसएमएस बराबर एक मत हुनेछ। यसैगरी गतवर्ष पूर्वाञ्चलमा सम्पन्न सातौं वृहत राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलका मुख्य प्रशिक्षक र मञ्चका सदस्यहरुले मनोनितमध्ये एकलाई मतदान गर्नेछन् । जहाँ प्रशिक्षक र पत्रकारहरुको मतभार २५/२५ प्रतिशत हुनेछ। मञ्चका अध्यक्ष महेश आचार्यले एसएमएस र फेसबुक लाइकबाट खेलप्रेमीले मंगलबारबाटै मतदान गर्न सक्ने बताउँदै जेठ २ गते मध्यरातसम्म आएका एसएमएस र लाइकलाई निर्णय प्रक्रियामा समावेश गरिने जानकारी गराए।

वितेको वर्ष २०७४ मा आइसिसी एसिया यु–१९ विश्वकप छनोटमा २४ सहित कुल ८४ विकेट लिएका सन्दिपले आइपिएलको दिल्ली डेयरडेभिल्स तथा क्यारेबियन प्रिमियर लिगमा आबद्ध भएर चर्चा पाएका थिए । यसैगरी नेपालकी नम्बर एक महिला गल्फर प्रतिमा फाल्डो सिरिज नेपालकी विजेता खेलाडी हुन् । हाल अमेरिकामा विशेष प्रशिक्षणका लागि रहेकी उनले बुधबारमात्र अमेरिकी गल्फर टाइगर उड्ससँग आधा घण्टाको गल्फ सेसन विताएकी थिइन।

यसैगरी स्यान्टुले ३९औं राष्ट्रिय टेबल टेनिस तथा ठमेल ओपन च्याम्पियनसिपमा पुरुष एकल र टिम स्पर्धामा स्वर्ण पदक जितेका थिए । राष्ट्रिय प्रतियोगिताको पुरुष युगलमा पनि उनी च्याम्पियन भएका थिए । राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणले भारतको आइलिग च्याम्पियन मिनेरवा पञ्जाब एफसीबाट आठ खेल खेल्दा सात पटक पहिलो रोजाईमा मौका पाएका थिए । माल्दिभ्सको टिसी स्पोर्टस क्लबबाट धिवेही प्रिमियर लिग खेल्नुका साथै लिग, एफए कप र प्रेसिडेन्ट्स कपमा टोलीलाई च्याम्पियन बनाउन उनले महत्वपूर्ण योगदान गरेका थिए । त्यस्तै मानबहादुर नेपाली राष्ट्रिय भलिबल टोलीले गतवर्ष मैत्रीपूर्ण खेलमा बंगलोश र हङकङलाई दुई पटक तथा मकाउलाई एक पटक हराउँदाका महत्वपूर्ण खेलाडी थिए । त्रिभुवन आर्मी क्लबलाई वर्षका ६ मध्ये पाँच उपाधि जिताउन भूमिका खेलेका उनी एनभिए लिग, राष्ट्रिय भलिबल र एनभिए कपमा सर्बोत्कृष्ट खेलाडी घोषित भएका थिए।

प्रकाशित: १२ वैशाख २०७५ ११:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App