५ वैशाख २०८१ बुधबार
अर्थ

घर बनाउने सीप सिक्दै महिला

कार्यगत तालिममा सहभागी भएर घर बनाउदै महिला ।तस्बिर : भगवती/नागरिक

नुवाकोट – लिखु गाउँपालिका–६ थानसिङ, चैनपुरकी १९ वर्षीया सुस्मिता मिजार घर बनाउने तालिम लिइरहेकी छिन् । हातमा सीप भयो भने पछिसम्म पाखुरा बजारेर भएपनि जीवन धान्न सकिन्छ भन्ने मनसायले भूकम्प प्रतिरोधी आवास बनाउने सीप सिक्ने अभियानमा उनी जुटिरहेकी छिन्।

तलिमसँगै उनी २५ दिनमै डण्डी काट्ने, फर्मा ठोक्ने, बालुवा र सिमेन्टको मात्रा मिलाएर मसला बनाउने, गारो लगाउने जस्ता काम आफैं गर्न सक्ने भएकी छन्।भूकम्प प्रतिरोधी राष्ट्रिय समाज नेपाल एनसेटले आयोजना गरेको ५० दिने कार्यगत तालिममा सहभागी भएकी सुस्मिता आफूले सिकेको सीपलाई निरन्तरता दिएर आगामी दिनमा आफ्नो कार्यलाई अगाडि बढाउने योजनामा छिन्।

‘घरको आर्थिक अवस्थाले कक्षा ८ भन्दा अगाडि पढ्न सकिएन, हातमा केही सीप नि नहुँदा पढाइ नि राम्रो नभएपछि चुलोचौको मै जिन्दगी बित्छ ठानेकी थिएँ,’ उनले भनिन्, ‘घर बनाउने तालिम लिएपछि जीवनमा केही गर्न सक्छु भन्ने हौसला मिलेको छ । र, मनमा केही गर्छु भन्ने अठोट पनि लिएकी छु ।’ सीप सिकेपछि आफ्नो सोचमा नै परिवर्तन भएको उनले बताइन् । अब यही पेसा अपनाएर आर्थिक उपार्जन गर्ने सोच बनाएको उनको भनाइ छ । ‘तालिमले आफ्नो खुट्टामा आफैं उभिन सक्ने बनाएको छ,’ उनले भनिन्।

विनाशकारी भूकम्पले घर भत्काएपछि ग्रामीण क्षेत्रमा घर निर्माण गर्न दक्ष जनशक्तिको अभाव छ । अन्य ठाउँबाट जनशक्ति ल्याएर घर बनाउन महंगो पर्ने उनको भनाइ छ । यही सोचेर उनीजस्तै लिखु गाउँपालिकाका धेरै महिला घर निर्माण गर्ने तालिममा अभ्यस्त छन् । सीप सिकेपछि केही गर्न सकिन्छ भन्ने सोच लिएर सुस्मिता जस्तै चैनपुरकै १८ वर्षीया लक्ष्मी मिजार पनि घर बनाउने काम सिक्दैछिन्।

हरेक बिहान ६ देखि १० बजेसम्म सञ्चालन भइरहेको तालिममा सहभागी भएकी लक्ष्मी हेड मिस्त्रीको सहयोगमा घरको सुर राख्ने, गारो लगाउने, नस कस्ने जस्ता काममा दक्ष भइसकेकी छिन् । ‘सुरुआती दिनमा स्कुलमा जस्तै पढ्दा त के हो के हो जस्तो लाग्थ्यो। के गर्न सकिएला जस्तो पनि हुन्थ्यो,’ लक्ष्मी भन्छिन्, ‘बिस्तारै बानी परेपछि अभ्यस्त हुन थालिएको छ । व्यवहारिक रुपमा घर बनाउने अभ्यास गर्न थालिसकेपछि त केही गर्न सकिन्छ भन्ने आशा पलाउदै आएको छ।’

घरको जग खन्ने बेलामा असाध्यै गाह्रो हुने भएपनि जगबाट माथि उठिसकेपछि तधेरै सजिलो हुने उनको अनुभव छ । ‘टोलका दिदीबहिनीसँग तालिम लिँदै काम गर्दा सजिलो पनि हुन्छ,’ उनी भन्छिन्, ‘एकले कतै बिगा¥यो भने पनि अर्कोले सम्झाइहाल्छन्।’

घर बनाउने तालिममा छोरीहरु मात्र होइन बुहारी, आमाहरु पनि सहभागी भएर आफ्नो घर आफैं बनाऊ भन्ने अभियानमा जुटिरहेको लक्ष्मीले बताइन् । २६ वर्षमा पाइला चाल्दै गरेकी गोपिनी मिजारलाई पनि घासदाउरा, मेलापात, भकारोपानीभन्दा घर बनाउने कार्य नै सजिलो लाग्न थालेको छ । उनका श्रीमान पनि डकर्मीको काम गर्दै आएका छन् । उनी बिहान तालिममा सहभागी हुन्छिन् भने दिउसो श्रीमानसँगै काम गर्ने गरेको बताउँछिन्।

त्यस्तै ३९ वर्षिया कमला मिजार पनि उत्साहका साथ घर बनाउने तालिममा सहभागी भएकी छन् । उनी गाउँका छोरीबुहारीलाई समेत यो अभियानमा सहभागी हुन उत्साह थपिरहेकी छन् । घाममा पोलिएर, झरीमा रुझेर खेतीपाती गर्नुभन्दा त घर बनाउने काम नै सहज लागेको कमला बताउँछिन् ।

एनसेटले सिकाएको सीपले घर ठड्याएर बस्ने धोको पाल्न थालेकी छिन् उनी । ‘अघिल्लो वर्ष श्रीमान गुमाए । जेठो छोरालाई भूकम्पले घाइते बनायो, अहिले ऊ सहरमै बस्छ । कान्छो छोरो सानै छ । गर्ने भनेको आफैं हो,’ उनी भन्छिन्, ‘आफ्नै हातमा सीप भएपछि किन बाहिरी मान्छेलाई पैसा दिनु । ढिलो चाँडो जे भएपनि बिस्तारै मिलेर घर बनाउने योजना बनाएका छौं।’

पहिलेदेखि नै आवास निर्माण गर्दै आएका डकर्मीलाई सातदिने तालिम दिएर त्यसमध्ये छानिएका एकजना हेड मिस्त्रीले कार्यगत तालिम अघि बढाइरहेका छन् । ५० दिने कार्यगत तालिममा सहभागी चैनपुरका महिलाले तालिम सकिएपछि पालैपालो आफ्नो घर बनाउने र अवसर आए ठेक्कापट्टा गरेर भूकम्प प्रतिरोधी बलियो घर बनाउने अभियानमा लाग्ने योजना बनाएका छन् ।


 

प्रकाशित: १३ वैशाख २०७५ ०१:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App