८ वैशाख २०८१ शनिबार
अर्थ

कुल गार्हस्थ उत्पादन ९.४३ अर्ब पुर्‍याइने

आवधिक नगर विकास योजनाको मस्यौदा सार्वजनिक गर्दै मूख्यमन्त्री शेरधन राई लगायत । तस्बिर : दमन राई/ नागरिक

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी पाँच वर्षभित्र नगरवासीको कुल गार्हस्थ उत्पादन ९.४३ अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य लिएको छ।वैशाख १० गते सार्वजनिक गरिएको आवधिक नगर विकास योजनाको अन्तिम मस्यौदाका अनुसार नगरपालिकाले हाल ६.४ अर्ब रहेको कुल गार्हस्थ उत्पादनलाई वृद्धि गरी आगामी आर्थिक वर्ष ०७९÷८० मा ९.४३ अर्ब पुर्‍याउने लक्ष्य निर्धारण गरेको हो।

तीन महिना लगाएर निर्माण गरिएको पाँच वर्षे आवधिक नगर विकास योजनाको मस्यौदामा नगरपालिकाले हाल वार्षिक चार प्रतिशत रहेको आर्थिक वृद्धि दरलाई पाँच वर्षमा दोब्बर अर्थात आठ प्रतिशत पुर्‍याउने, हाल १.१७ लाख रहेको प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादनलाई १.५६ लाख पुर्‍याउने, गरिबीको रेखामुनि रहेको जनसंख्यालाई १७ प्रतिशतबाट १० प्रतिशतमा झार्ने गरी योजना निर्माण गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए।

गत माघ ३ गतेदेखि निर्माण सुरु गरिएको उक्त मस्यौदा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रतिनिधिसभा सदस्य विशाल भट्टराई, सचिव दिनेश थपलिया र जिल्ला समन्वय समिति (जिसस) प्रमुख बबी चामलीङले संयुक्तरुपमा सार्वजनिक गरेका हुन् । १५ वडा रहेको नगरपालिकामा रहेका स्रोतसाधनलाई प्राथमिकताका आधारमा लगानी गर्ने वातावरण निर्माणका लागि नगरपालिकाले आवधिक विकास योजना निर्माण गरेको हो।

उक्त योजनामा हाल कायम मानव विकास सूचकांक ०.५५ लाई पाँच वर्षभित्र वृद्धि गर्दै ०.६० पुर्‍याउने, आठ प्रतिशतमा रहेको वैदेशिक रोजगारलाई कम गर्दै पाँच प्रतिशतमा झार्ने, प्राथमिक तहको भर्ना दरलाई ९४.२ प्रतिशतबाट शतप्रतिशत बनाउने, खानेपानीको सुविधा पुगेका ७०.२५ प्रतिशतलाई पाँच वर्षभित्र शतप्रतिशत पुर्‍याउने, १५ मिनेटको दूरीमा ग्राभेल सडक पुर्‍याउने लगायत काम गर्ने नगरपालिकाले लक्ष्य लिएको छ ।

त्यस्तै, हाल २९ प्रतिशतमा रहेको सिँचाई सुबिधालाई ५० प्रतिशत पुर्‍याउने, हाल ८८ प्रतिशत विद्युत पहुँच प्राप्त गरेका नगरबासीलाई शतप्रतिशत विद्युतको पहुँचमा पुर्‍याउने, हाल ९८.६ प्रतिशत शौचालय प्रयोग भइरहेका नगरपालिकामा पाँच वर्षभित्र शतप्रतिशत शौचालय प्रयोगको वाताबरण निर्माण गर्ने, नगरपालिकाको श्रोतलाई ७५ करोडबाट बृद्धि गर्दै १२५ करोडमा पुर्‍याउने पञ्च वर्षीय लक्ष्य निर्धारण गरिएको मेयर रिजालले बताए।

नगरलाई आधुनिकीकरण गर्दै देशकै नमूना र गन्तव्य नगर बनाउने लक्ष्यकासाथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले मुलुकका स्थानीय तहमध्ये सबैभन्दा पहिला आवधिक नगर विकास योजना निर्माण गरेको हो।

पञ्चवर्षीय उपलव्धी प्राप्त गर्नका लागि नगरपालिकाले आर्थिक, सामाजिक, भौतिक, वाताबरणीय, संस्थागत तथा वित्तीय व्यवस्थापन र सुशासनलाई प्रामथमिकताको क्षेत्रकारुपमा निर्धारण गरेको छ।भिजन, मिसन र लक्ष्य सहितको विषयगत क्षेत्रको प्राथमिकता निर्धारणका काम पूरा गरेर दिर्घकालिन र अल्पकालिन आवधिक नगर विकास योजना निर्माण गरिएको मेयर रिजालले बताए।

स्थानीय विकास मन्त्रालयले देशमा ९० वटा आधुनिक शहर विकास गर्ने योजना अन्तरगत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट कार्यान्वयन सुरु गरेको जनाइएको छ।

प्राथमिकताको क्षेत्रकारुपमा निर्धारण गरिएको आर्थिक क्षेत्रतर्फ कृषिको व्यवसायीकरण, पर्यटन तथा सेवा क्षेत्रको विकास, साना तथा घरेलु उद्योग एबं व्यवपार व्यवसायको प्रवर्द्धनबाट रोजगारी र आयस्तर सुधार गर्ने, सामाजिक क्षेत्रतर्फ गुणस्तरिय शिक्षा, सर्वसुलभ स्वास्थ्य एबं पोषण, स्वच्छ पिउने पानी तथा सरसफाईको सुविधामा पहुँच र युवा एबं खेलकुद विकास तथा प्रवर्द्धनका साथै लैंगीक समानता, सामाजिक समावेसीकरण सुनिश्चित गरी नगरबासीलाई आधारभुत सामाजिक सेवा, संरक्षण र सुरक्षा उपलव्ध गराउने, भौतिकतर्फ आधारभुत तथा गुणस्तरिय भौतिक एबं सामाजिक पुर्वाधार निर्माण, स्तरोन्नती र मर्मत सम्भारबाट नगर विकासमा गतीशिलता प्रदान गरेर नगरबासीको सेवा तथा सुबिधा प्राप्ती, पहुँच र प्रवाहमा सहज बनाउने उद्धेश्य राखिएको छ।

यस्तै, वाताबरणीय क्षेत्रतर्फ वन, वन्यजन्तु, जैबिक विविधता तथा भूः तथा जलाधार क्षेत्रको संरक्षण, विकास, संवर्द्धन, प्रवर्द्धन र दिगो उपयोग गर्दै विपद व्यवस्थापन एबं जलवायु परिवर्तन अनुकूलन तथा न्यूनीकरणका उपायको अवलम्बनबाट हरित, सफा, उज्यालो र बस्नयोग्य नगर बनाउने, वित्तीय व्यवस्थापन र सुशासनतर्फ आन्तरिक र बाह्य श्रोत साधनको उच्चतम प्रयोग गर्दै प्रविधिमैत्री कर तथा आर्थिक प्रशासनको माध्यमबाट वित्तीय अनुशासन र सुशासन प्रत्याभुती गर्ने लगायतका उद्धेश्य राखिएको छ।

 


 

प्रकाशित: १३ वैशाख २०७५ ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App