coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कृषिको उत्पादकत्व बढाउनुपर्छ : अर्थमन्त्री खतिवडा

सप्रोस नेपालले तयार गरेको अर्गानिक खेतीसम्बन्धी पुस्तक बिमोचन गर्दै अर्थमन्त्री युवराज खतिवडा।तस्बिर : नागरिक

काठमाडौं– अर्थमन्त्री युवराज खतिवडाले हरित अर्थतन्त्रको माध्यमबाट कृषिको उत्पादकत्वमा वृद्धि गर्नुपर्नेमा जोड दिएका छन् । कृषि उत्पादनको वृद्धि नभई समृद्धिको लक्ष्य हासिल गर्न कठिन हुने खतिवडाले बताए।

सप्रोस नेपालले बुधबार राजधानीमा आयोजना गरेको कृषि पर्यटनसम्बन्धी राष्ट्रिय सम्मेलन उद्घाटन सत्रमा बोल्दै खतिवडाले हरित अर्थतन्त्रमा जोड दिएका हुन् । ‘कृषि र पर्यटनलाई सँगसँगै लैजानुपर्छ,’ खतिवडाले भने, ‘सबै तहका सरकारको स्रोत, साधनलाई हरित राष्ट्र निर्माणमा परिचालन गर्नुपर्छ।’

हरियो नेपाल, समृद्ध नेपाल भन्ने नाराका साथ सुरु भएको सम्मेलनमा अर्थमन्त्री खतिवडाले सर्वसुलभ र उपयोगी प्रविधिको विकासले रोजगारीका अवसर सिर्जना गर्नुपर्नेमा जोड दिए । ‘उत्पादकत्व वृद्धि भएमात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ,’ उनले भने । प्रविधिको प्रयोगले रोजगारी संकटमा पार्न सक्नेतर्फ भने सचेत रहनुपर्ने खतिवडाको भनाइ छ ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमकी आवासीय संयोजक भालेरिया जुलियान्डले दिगो विकास लक्ष्यमार्फत अन्तर्राष्ट्रिय मापदण्डअनुसार नेपाललाई हरियाली बनाउँ कार्यक्रम अघि बढाउन सकिने बताइन् । वातावरणमा असर पार्ने गरी विश्व समुदायबाट भएको गल्तीलाई नेपालले दोहोर्‍याउन नहुनेमा जोड दिइन् । ‘वातावरणमा पर्ने नकारात्मक असरबाट निजी क्षेत्र पनि अछुतो रहन सक्दैन,’ उनले भनिन्, ‘वातावरण संरक्षणका लागि निजी क्षेत्रले पनि सरकारलाई सहयोग गर्नुपर्छ।’

जैविक कृषि, नवीकरणीय ऊर्जा, पर्यटन लगायत  क्षेत्रमा गरिने स–साना लगानीबाट स्थानीय समुदायलाई कसरी लाभान्वित बनाउने भन्नेबारे अनुभव आदानप्रदानका लागि सम्मेलनबाट सहयोग सप्रोस नेपालका अध्यक्ष श्रीकृष्ण उपाध्यायले बताए।कृषकलाई लाभान्वित गर्न विभिन्न कृषि सहकारीमार्फत गरिएको लगानी निकै प्रभावकारी भएको साना किसान विकास बैंकका अध्यक्ष खेमबहादुर पाठकले बताए । ‘प्रविधि र लगानीलाई सँगैसँगै लैजानुपर्छ,’ उनल भने।

नवीकरणीय ऊर्जाको आर्थिक पक्षबारे कार्यपत्र प्रस्तुत गर्दै पछिल्लो समय नवीकरणीय ऊर्जा प्रविधिमा आएको लागत गिरावटसँगै यातायात र खाना पकाउन नवीकरणीय ऊर्जाको प्रयोग बढेको अथविद् विनायक भद्राले बताए । ‘परम्परागत र जैविक ऊर्जाको प्रयोग कम हुँदै गएको छ,’ उनले भने।

दुई दिन चल्ने सम्मेलनमा भोकमरी जस्तो जटिल समस्याको अन्त्य गरी खाद्य सुरक्षाका विषयलाई व्यवस्थित बनाउने, महिला तथा युवा सशक्तीकरणका विषय, दिगो विकास लक्ष्य प्राप्त गर्नेलगायत विविध विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

गरिबी न्यूनीकरणका लागि सूचना प्रविधिको उपयोग गरी पर्या–पर्यटन, नवीकरणीय ऊर्जा, प्रांगरिक खेतीलगायत क्षेत्रमा गरिएका लगानी त्यसबाट प्राप्त भएका उपलब्धिबारे पनि समीक्षा गरिनेछ । राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञसहितको सम्मेलन स्वदेशी तथा विदेशी गरी करिब दुई सयजनाको सहभागिता छ।

सम्मेलनमा विभिन्न जिल्लाका करिब आधा दर्जन साना अर्गानिक कृषकको पनि सहभागिता छ।सप्रोस नेपालले गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, लमजुङ, र तनहुँका विभिन्न गाउँपालिकामा भूकम्पका कारण विस्थापित भएकालाई पुनःस्थापना गराउन विभिन्न व्यावसायिक सीप तथा तालिम उपलब्ध गराउँदै आएको छ।

 

 

प्रकाशित: १३ वैशाख २०७५ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App