७ वैशाख २०८१ शुक्रबार
समाज

रूखमुनि पढ्न बाध्य विद्यार्थी पक्की भवन पाएपछि दंग

निर्माण सम्पन्न विद्यालय भवनहरु। तस्बिर : मन्जु/नागरिक

रामेछाप – भूकम्पपूर्व विद्यालयको सामान्य भौतिक पूर्वाधार भएता पनि त्यही संरचनालाई भूकम्पले लथालिङ्ग बनाएको तीन वर्षपछि मन्थली नगरपालिका–७, भटौलीको रुद्राक्षेश्वर माध्यमिक विद्यालयका विद्यार्थीले बुधबारबाट सुविधासम्पन्न पक्की विद्यालय भवन पाएका छन्।

‘मैलै त कल्पना पनि गरेको थिइनँ, यत्तिको विद्यालय भनव बन्ला भनेर,’ एसइई परीक्षा दिएकी मनिषा पौडेलले खुसी हुँदै भनिन्। गाउँमा सुविधासम्पन्न विद्यालय बने सिंगो गाउँकै मुहार फेरिएको महसुस स्थानीय बासिन्दाले गरेका छन्।

कुनै बेला कच्ची घर र धुलोमा बसेर पढनुपर्ने अवस्थाको विद्यालयसमेत भूकम्पले भताभुंग पारेपछि वरको रूखको छहारी तथा बाँस र जस्ताले बनेको टहरामुनि पढ्न बाध्य थिए विद्यार्थी। तर अहिले सुविधासम्पन्न पक्की भवनमा पढ्न पाउँदा खुसी लागेको कक्षा ९ मा अध्ययनरत तेजबहादुर मंग्रताीले बताए।

एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइको सहयोगमा विद्यालय भवन निर्माण भएको हो। रूद्राक्षेश्वर माध्यमिक विद्यालयको उक्त सुविधा सम्पन्न भवनको महाभूकम्प गएकै दिन अर्थात् वैशाख १२ गते (बुधबार) पारेर कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तमाङ्गले उदघाटन गरेका छन्।

उक्त विद्यालय भवन ९ करोड ७० लाख रूपैयाँ लगातमा खानी निर्माण सेवाले निर्माण गरेको योजना कार्यान्वयन इकाइ रामेछापका प्रमुख हेमन्त बुढाथोकीले जानकारी दिए। भूकम्पका कारण जिल्लाका ४ सय १९ सामुदायिक विद्यालयका १ हजार ९ सय ३५ कक्षा कोठा पूर्ण र १ हजार ४ सय १० कक्षाकोठा आंशिकरूपमा क्षति भएका थिए।

गैरसरकारी संस्थाहरूको जिम्मामा निर्माण भइरहेका ७६ विद्यालयमध्ये ६३ वटा विद्यालयका भवन निर्माण भइसकेका छन्। जिल्ला शिक्षा कार्यालयमार्फत् निर्माण हुने भनिएका १ सय १३ वटा ट्रस भवनमध्ये ६५ वटाको मर्मत सम्भार र ४० वटा विद्यालयका कक्षाकोठा मर्मत सम्पन्न भएको बताइएको छ।

प्रकाशित: १३ वैशाख २०७५ ०२:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App