७ वैशाख २०८१ शुक्रबार
कला

खगेन्द्रको ‘डण्डिबियो’ फ्ल्यासब्याक

काठमाडौं – स्याङ्जामा जन्मिएर त्यही हुर्किएका अभिनेता खगेन्द्र लामिछानेले कक्षा ५ सम्म पढ्दा डण्डिबियो राम्रैसँग खेले । नेपालकै राष्ट्रिय खेलका रुपमा सरकारले मान्यता दिएको यो खेलमा उनको राम्रै अनुभव उसबेला थियो । कक्षा ५ पछि पढ्न लेकतिर उक्लिँदा यो खेल छाडेर भलिबलतिर लागे । दशक समय पछि यिनै खगेन्द्र अहिले पुनः डण्डिबियो खेलमा रमाइरहेका छन्।

‘यो खेलमा अहिले त नयाँ नियम आइसकेछ। हाम्रो समयमा एउटा नियम थियो । अहिले अर्को परिस्कृत नियम आइसकेछ,’वैशाख २१ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘डमरुको डण्डिबियो’का प्रमुख पात्र खगेन्द्रले भने,‘नयाँ नियम पनि डण्डीबियो सिक्नेका लागि रोचक किसिमको रहेछ।

फिल्मको कथा लेख्न अध्ययन सुरु गर्दा यसको नयाँ नियमबारे थाहा पाइयो ।’ सरकारले यो खेललाई राष्ट्रिय खेलबाट हटाएपछि खगेन्द्रलाई पुनः डण्डिबियो खेल्दा बाल्यकालका धेरै स्मृति ताजा भए ।आफैलाई प्रमुख भूमिकामा अभिनय गराएर डण्डिबियोको विषयमा फिल्म बन्ने भएपछि खगेन्द्र यो फिल्मका लागि निकै हौसिएका रहेछन् ।

‘सानैमा खेलेको खेलको विषयमा फिल्म बन्ने भएपछि मेरा लागि नयाँ अनुभव भयो । यो फिल्मको कथा लेख्दै जाँदा मलाई निकै रमाइलो लागेको थियो ,’खगेन्द्रले फिल्मको प्रारम्भिक अध्ययन सम्झिए,‘डण्डिबियोको अनुसन्धान गर्दै जाँदा हामी त्रिपुरेश्वरमा रहेको डण्डिबियो संघको कार्यालय पुग्दा त्यहाँ संघकै केही युवाहरूसँग भेट भयो । हामीले फिल्मको योजना सुनाउँदा उहाँहरूले उत्साहित भएर सहयोगको आश्वासन दिनु भयो । डण्डिबियोका लागि आएको बजेट लिएर उहाँहरू गाउँ–गाउँमा डण्डिबियो खेलको प्रबर्द्धन गर्न जानुहुँदो रहेछ।’

खगेन्द्रले आफूहरूले संघको कार्यालयमा पुगेपछि मात्र डण्डिबियोको नयाँ नियमको बारेमा थाहा पाएको जनाए । ‘नयाँ नियमले हामीलाई कौतुहल बनायो । त्यही  कौतुहलतालाई मेटाउन फिल्ममा नियमको प्रयोग गरेका छौं,’खगेन्द्रले भने,‘डण्डिबियोको नियमलाई गलत तरिकाले प्रयोग गरियो भने दर्शकमा त्यसको गलत सन्देश जान्छ । यो कुराबाट सतर्क रहँदै हामीले सही नियमका कुरा फिल्ममा देखाएका छौं।’

सञ्चारकर्म हुँदै फिल्म लेखनमा आएका खगेन्द्रले उनकै भनाइमा फिल्म खेल्ने सपना बनाएका थिएनन् । ‘म फिल्म क्षेत्रमा आउँदा हिरो हुन्छु भनेर कहिल्यै सोचेको थिइँन । कथा लेख्छु र कथा लेखनबाटै चिनिन्छु भन्ने लक्ष्य लिएको थिएँ,’खगेन्द्र फिल्मी करियरको सुरुवातमा फर्किए,‘फिल्ममा अभिनय नगर्दा पनि म खुशी थिएँ । तर कलाकार बनेर फिल्मी पर्दामा देखिँदा फिल्म लेखाइभन्दा ठूलो खुशी पाएको छु। अभिनयले मेरो जीवनलाई युटर्न गरिदिएको छ । त्यो युटर्न मेरा लागि सर्वाधिक खुशीको क्षण हो।’

फिल्ममा अभिनय नगर्दा पनि म खुशी थिएँ । तर कलाकार बनेर फिल्मी पर्दामा देखिँदा फिल्म लेखाइभन्दा ठूलो खुशी पाएको छु । अभिनयले मेरो जीवनलाई युटर्न गरिदिएको छ । त्यो युटर्न मेरा लागि सर्वाधिक खुशीको क्षण हो ।

फिल्म ‘बधशाला’बाट फिल्मी करिअर सुरु गरेका खगेन्द्रले ‘टलकजंग भर्सेस टुल्के’, ‘पशुपतिप्रसाद’, ‘धनपति’सम्म आइपुग्दा आफूलाई फरक चरित्रमा उभ्याइसकेका छन् । ‘मेरा अघिल्ला फिल्म सामाजिक शैलीका थिएनन् । त्यसमा मेरो चरित्र दुःखी मान्छेको रुपमा थियो,’खगेन्द्र बताए ,‘तर डमरुको डण्डिबियो खेलसँग सम्बन्धित फिल्म भएकाले पनि मेरो चरित्र खेलाडीको रुपमा छ।’

यो फिल्मबाट फिल्म लेखक छेतेन गुरुङ निर्देशकको रुपमा डेब्यु गर्दैछन्। ‘नोभेम्बर रेन’, ‘क्लासिक’, ‘डायरी’ जस्ता प्रेमकथाका फिल्म लेखेका छेतेनले ‘डमरुको डण्डिबियो’मा प्रेमका केही फ्लेबर छोडेको खुलाए । ‘मैले लेखेका अघिल्ला फिल्महरू जस्तो पूर्ण प्रेमकथा यो फिल्ममा छैन।

तर आंशिक प्रेमकथा भने दर्शकले यसमा हेर्न पाउनुहुनेछ,’छेतेनले भने,‘खेलसँग सम्बन्धित कथामा फिल्म बनाउँदा एउटा नयाँ प्रयोग गर्ने मौका पाएको छु।’फिल्मका निर्माता विनोद गुरुङले फिल्म नेपालसँगै अष्ट्रेलियामा पनि एकैदिन प्रदर्शन हुने बताए । ‘फिल्ममा प्रेम र स्पोर्टस् ड्रामा सरोबरी छ,’उनले भने,‘फिल्म हेर्दा दर्शक निरास हुनुपर्दैन् ।’ फिल्ममा अभिनेता अनुप बराल डण्डिबियोको प्रशिक्षकको भूमिकामा छन् । फिल्ममा मेनुका प्रधान, बुद्धि तामाङ, आशान्त शर्मा, लक्ष्मी बर्देवा, अंकित खड्कालगायतको पनि अभिनय छ।  
 

प्रकाशित: १३ वैशाख २०७५ ०२:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App