७ वैशाख २०८१ शुक्रबार
कला

भूकम्पको असर देखाउने ‘द डार्कनेस बेकन’

काठमाडौं– तीन वर्ष अघिको बिनाशकारी भूकम्पपछि सिन्धुपाल्चोककी एक बालिकाको जीवनमा आएको उतारचढावलाई प्रमुख विषय बनाएर निर्माण गरिएको फिल्म ‘द डार्कनेस बेकन’को ट्रेलर र गीत सार्वजनिक भएको छ । राजधानीमा बुधबार पत्रकारमाझ फिल्मको ट्रेलर र गीत सार्वजनिक गरिएको हो।

फिल्मका निर्देशक पवन केसीले भूकम्पपछि यसले मानिसमा पारेको प्रभावका विषयमा अध्ययन गर्दा चेलिबेटी बेचबिखन समस्या प्रमुख रुपमा पाएको बताए ।  ‘त्यसकारण यही विषयलाई फिल्ममा देखाउन सके एक हिसाबले समाजमा चेतना फैलाउन सकिन्छ भन्ने लाग्यो। यो फिल्मले भूकम्पपछि सिन्धुपाल्चोकको विकट गाउँ तौथलीमा भूकम्पपीडित सन्ध्या पात्रको जीवनमा आएको उतारचढावलाई कलात्मक रुपमा हामीले प्रस्तुत गरेका छौं,’उनले भने, ‘भूकम्पमा आमाबाबु गुमाएपछि काकाकाकीको पालनपोषणमा रहेकी सन्ध्या प्रलोभनमा परेर काकाबाट कसरी बेचिन्छिन् भन्ने दर्दनाक कथालाई फिल्मले देखाउनेछ।’

फिल्मका कार्यकारी निर्माता राजेश रिजालले भूकम्प पछिको क्रन्दनलाई फिल्ममा देखाउन खोजिएको बताए । ‘भूकम्पकै कथाको फिल्म भएर हामीले भूकम्प गएकै दिनको सम्झनामा वैशाख १२ मै कार्यक्रम राखेका हौं ।’ निर्माता रिजालले भने।फिल्मकी प्रमुख कलाकार मरक्युरी श्रेष्ठले फिल्ममा काम गर्दा सुरुमा असजिलो लागे पनि पछि सहज भएको बताइन्।

कार्यक्रममा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटी, पूर्व अध्यक्षद्वय रमेश बुढाथोकी र रविन्द्र खड्काले फिल्मले गहन विषय उठान गरेकाले दर्शकका लागि रुचिकर हुने बताए ।
निर्देशक केसीकै कथा, पटकथा, संवाद रहेको फिल्ममा मरक्युरी श्रेष्ठ, प्रल्हाद खरेल, पवन केसी, अस्मिता बस्नेत, शान्ति बस्नेत, सुजता श्रेष्ठ, बैदार लामालगायतको अभिनय छ।राजेश रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा अशोककुमार बस्नेतको छायांकन, राजेशकै गीत र संगीत र सन्देश परियारको सम्पादन छ ।

प्रकाशित: १३ वैशाख २०७५ ०२:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App