४ वैशाख २०८१ मंगलबार
समाज

विशेष अपरेसनले धमाधम पक्राउ पर्न थाले अपराधी

सोलुखुम्बु – विभिन्न अपराधमा संलग्न व्यक्तिहरूमाथि सोलुखुम्बु प्रहरीले विशेष अपरेसन सुरु गरेको छ। आपराधिक क्रियाकलाप बढ्दै गएपछि पछिल्लो समय प्रहरीले विशेष अभियान सञ्चालन गरेको हो।

प्रहरीले यो अभियान चलाएपछि विभिन्न अपराधमा संलग्न व्यक्तिहरू धमाधम पक्राउ पर्न थालेका छन्। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले केही दिनअघि मात्रै चोरी, जबरजस्ती करणी र केही सार्वजनिक अपराधमा संलग्न ८ जनालाई सार्वजनिक गरेको छ।

प्रहरीले गत फागुन १३ गते सल्लेरीका ६ वटा पसल र फागुन २४ गते तामाखानीको ज्वालामाई मन्दिरमा चोरी गर्ने खोटाङ जाल्पाका अनिल श्रेष्ठलाई सार्वजनिक गरेको छ। पोखराबाट प्रक्राउ परेका श्रेष्ठ ओखलढुंगा, उदयपुर, खोटाङ लगायतका जिल्लामा भएका चोरीमा संलग्न भएको प्रहरीले जनाएको छ। चोरीमा संलग्न सामाग्री समेत प्रहरीले सार्वजनिक गरेको थियो।

त्यस्तै, चैत २७ गते सल्लेरीबाट निर्माण सामग्री चोरीमा संलग्न तिङलाका मुकेश खड्का, अर्जुन खड्का, भल बहादुर विश्वकर्मा र थुलुङ दुधकोशी गाउँपालिका १ नेलेका अर्जुन भूजेललाई पनि सोलु प्रहरीले सार्वजनिक गरेको छ। फरार रहेका एक व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका बालिकाका ५० वर्षीय बाबुलाई पनि प्रहरीले सार्वजनिक गरेको छ। साइँली छोरीलाई आफ्नै बाबुले ११ वर्षको उमेरदेखि जबरजस्ती करणी गर्दै आएका थिए। पछिल्लो पटक गत चैत २९ गते छोरीलाई जबरजस्ती गरेको पीडितकी आमाको उजुरीका आधारमा पीडक बाबुलाई प्रहरीले पक्राउ गरेको हो। छोरीको पेटमा २४ हप्ताको गर्भ रहेको परीक्षणबाट पत्ता लागेको छ। जबर्जस्ती करणीका क्रममा छोरीलाई धम्क्याउन बाबुले प्रयोग गर्ने गरेको एक थान खुकुरी र डोरीसमेत प्रहरीले सार्वजनिक गरेको थियो।

यही वैशाख ४ गते पूर्वी क्षेत्रमा यातायात बन्द गराउन सोलुखुम्बुका यातायात व्यवसायीलाई दबाब दिएको आरोपमा विप्लव माओवादी सम्बद्ध जिल्ला जनपरिषद् प्रमुख विवेक राई र जिल्ला सेक्रेटरी मनिकुमार राईलाई पनि पत्रकार सम्मेलन गरी प्रहरीले सार्वजनिक गरेको छ।

विभिन्न अपराध अनुसन्धानमा सफल देखिएको सोलुखुम्बु प्रहरीले थुलुङ दुधकोसी गाउँपालिका र सोताङ गाउँपालिकामा स्काभेटरमा भएको आगजनी बारेको अनुसन्धान पनि जारी रहेको जनाएको छ। केही समययता अपराधीमाथि प्रहरीले थालेकोे अपरेसन सफल बन्दै गएको प्रहरी नायब उपरीक्षक रेशम पराजुलीले बताए।

प्रकाशित: १३ वैशाख २०७५ ०२:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App