७ वैशाख २०८१ शुक्रबार
समाज

निर्दोष व्यक्तिलाई जेल, १३ दिनपछि रिहा

काँकडभिट्टा – झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ। 

झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो। घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घरबाट ठूलो परिमाणको रक्त चन्दनको काठ प्रहरीले बरामद गरेको थियो। 

सो काठ लुकाएको अभियोगमा मेचीनगर–१० काँकडभिट्टाका अर्कै श्याम थापा नाम गरेका व्यक्तिलाई झापा जिल्ला अदालतले रु २६ लाख ९९ हजार २०० जरिवाना र छ महिना कैद सजाय हुने ठहर गरेको थियो। 

तर फरार अभियुक्तको खोजी गर्ने सिलसिलामा प्रहरीले घटना भएका बेला वैदेशिक रोजगारीमा कतारमा रहेका निर्दोष श्याम थापालाई गत चैत ३० गते पक्राउ गरेर कारागारमा कैद गरेको थियो। 

निर्दोष श्याम थापाले परराष्ट्र मन्त्रालयबाट आफू घटना भएका बेला कतारमा रहेको प्रमाण निकालेर अदालतमा पेश गरेपछि मात्र उनलाई झापा जिल्ला अदालतले बुधबार निर्दोष सावित गर्दै रिहा गरेको हो। 

अदालतको फैसला कार्यान्वयन गराउने नाममा फरार अभियुक्तसँग नाम मिलेकै आधारमा बिना प्रमाण सर्वसाधारणलाई प्रशासन र अदालतले जेल हालेर दुःख दिने कार्य हुनु लोकतन्त्रको उपहास भएको भन्दै झापा क्षेत्र नं १ का प्रदेश सांसद गोपालचन्द्र बुढाथोकीले आपत्ति जनाएका छन्। 

निर्दोष अवस्थामा जेल बस्नुपरेका पीडितलाई राज्यले क्षतिपूर्ति दिनुपर्ने स्थानीय सामाजिक कार्यकर्ता राजु दाहालको धारणा छ। 

प्रकाशित: १३ वैशाख २०७५ ०८:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App