७ वैशाख २०८१ शुक्रबार
समाज

हाम्रा सैनिक बलात्कारमा संलग्न छैनन् : नेपाली सेना

फाइल तस्बिर

काठमाडौं– नेपाली सेनाले दक्षिण सुडानमा नेपाली शान्ति सैनिकमाथि लागेको बलात्कारको आरोप अस्वीकार गरेको छ।

विहीबार सैनिक जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गर्दै बाहिर खबर आएजस्तो नेपाली शान्ति सैनिक बलात्कारमा संलग्न नभएको स्पष्ट पारेको हो। बुधबार राष्ट्रसंघ मातहत दक्षिण सुडानमा शान्ति स्थापनार्थ खटिएका नेपाली सैनिकमाथि दुई सुडानी बालिकालाई बलात्कार गरेको आरोप लागेको खबरहरु आएका थिए।

बलात्कारको आरोप लागेपछि राष्ट्रसंघले छानविनका लागि नेपाली सेनालाई पत्र समेत पठाइसकेको छ। सेनाले पनि ४ सदस्यीय छानविन समिति बनाएर अनुसन्धान थालेको छ।

यही क्रममा विहीबार विज्ञप्तिमार्फत सेनाले नेपाली सैनिक बलात्कारमा संलग्न नभई शान्ति सैनिक खटिएको ‘अवेल’ सुरक्षा वेशमा महिलाहरु पेरिमिटर तारबाट जवरजस्ती भित्र छिर्न खोज्दा घटना भएको स्पष्ट पारेको हो।

सैनिक जनसम्पर्क निर्देशनालयले घटनाबारे यूएन मिसन मुख्यालयसँगको समन्वयमा छानविन समिति (बोर्ड अफ इन्क्वाइरी) गठन गरी कार्य अघि बढिसकेको भन्दै नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाही गरिने पनि स्पष्ट पारेको छ।

‘नेपाली सेनाले यौन शोषण तथा दुरुपयोग (एसईए) मा शून्य सहनशिलताको नीतिलाई कडाइका साथ लागु गरिरहेको सन्दर्भमा उक्त छानविन समितिको रिपोर्टमा नेपाली शान्ति सैनिक दोषी पाइएमा सैनिक ऐन अनुसार कारवाही गरिने स्पष्ट गर्न चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ।

यस विषयमा नागरिकसँग कुरा गर्दै नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले सुडानमा खटिएका शान्ति सेनाबाट केही गल्ती भए पनि बालिका बलात्कार नै गरेको भन्ने कुरा भने गलत भएको बताए। ‘केही गलत पक्कै भएको छ तर बाहिर हल्ला भएजस्तो बालिकामाथि बलात्कार नै भएको भन्ने कुरा सत्य होइन’, उनले भनेऔ ‘घटनाको वास्तविकता पत्ता लगाउन छानविन समिति गठन भइसकेकाले छिट्टै सत्यतथ्य बाहिर आउँछ।’

उनका अनुसार दक्षिण सुडानमा नेपालको तर्फबाट १ हजार ७ सय ३६ शान्ति सैनिक कार्यरत छन्।

प्रकाशित: १३ वैशाख २०७५ ०९:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App