७ वैशाख २०८१ शुक्रबार
समाज

‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक

काठमाडौं– फोटो पत्रकार क्लब नेपालले ‘नेपाल ल्याण्ड अफ कन्ट्रास्ट २०१६’ फोटोबुक सार्वजनिक गरेको छ। 

क्लबद्वारा विहीबार काठमाडौंमा आयोजित समारोहमा फूलकुमारी महत्तो मेमोरियल ट्रष्टका उपाध्यक्ष डा. वीरेन्द्र महतो, नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारका, नेपाल पर्यटन बोर्डका सिइओ दीपकराज जोशी, आइएमइ गु्रपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमइ बैंकका प्रबन्ध निर्देशक जनकराज शर्मा पौडेल, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य र पिजे क्लबका अध्यक्ष विकास कार्कीले संयुक्त रुपमा फोटोबुक विमोचन गरेका हुन्।

फोटो पत्रकार क्लबले आइएमइ–ग्लोबल आइएमइ बैंक, नेपाल फोटो कन्टेस्ट २०७३ मा गरेको फोटो प्रदर्शनीमा उत्कृष्ठ भएका फोटोहरुको संग्रह फोटोबुकको रुपमा प्रकाशन गरेको आयोजकले जनाएको छ। व्यावसायिक फोटो पत्रकार, पत्रकार र शौखिन फोटोग्राफरले उक्त प्रतियोगितामा सहभागिता जनाएका थिए भने उत्कृष्ठ ७५ जनाको फोटोहरुलाई समावेश गरि क्लबले फोटोबुक प्रकाशन गरेको हो। 

फोटोबुकमा घुमफिर कल्चर एन्ड टुरिजम, नेपाल टेलिकम वाइल्ड लाइफ एन्ड नेचर, आइएमएस डेली लाइफ, अर्घाखांची सिमेन्ट न्यूज, शिखर इन्स्योरेन्स नेपाल स्माइल, ग्लोबल मोडल स्पोर्टस र फोटो स्टोरी गरी सात विधामा छानिएका तस्वीरहरु समावेश गरिएको छ।

नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरसम्म प्रवर्द्धन गर्नुको साथै पर्यटन र वास्तविक नेपाललाई चिनाउने उद्देश्यले क्लबले फोटोबुक प्रकाशन गर्दै आएको छ। 

कार्यक्रममा फोटो पत्रकार क्लब नेपालका अध्यक्ष विकास कार्कीले फोटोग्राफर र फोटो पत्रकारबीच भिन्नता रहेको बताए। व्यवसायिक फोटोपत्रकारितामा जोड दिनु अहिलेको आवश्यकता रहेको उनले बताए। पेशागत मान्यता र व्यवसायिकता निभाउन फोटो पत्रकार क्लब कटिबद्धता रहेको जनाउँदै उनले फोटो पत्रकार क्लबमा आबद्ध सदस्यहरूको प्रतिव्यक्ति ८ लाख बराबरको स्वास्थ्य बीमा, दुर्घटना बीमा र क्यामरा बीमा गरेको बताए। 

प्रकाशित: १३ वैशाख २०७५ १२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App