coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मदिराप्रेमी पाहुनाले सीमावर्ती क्षेत्रमा त्रास

इटहरी – तीन महिनाअघि सुनसरी भण्टाबारीको गुप्ता मदिरा पसलमा एक जना भारतीय युवा मदिरा पिउन आए। उनले मदिरा पिएपछि बिलको विषयमा हुँदा भएर उग्र रुप लियो। मदिरा पिएको सुरमा पसल सञ्चालक मनोज गुप्तामाथि आक्रमण गरे । गुप्ताको हात नै भाचियो।

प्रहरीले तत्काल मदिरा पसल सञ्चालकमाथि आक्रमण गर्ने भारत विहार राज्यको सुपौल जिल्ला भीम नगरका ३० बर्षीय अर्जुन पासवानलाईं पक्राउ गरियो। अन्तिममा गुप्ताको उपचार गर्न ३० हजार रुपैयाँ खर्च बेर्होने गरि दुवै पक्षबीच मिलापत्र भयो। व्यापारी गुप्ताले पासवानलाई कारबाही गरेमा भारतीय ग्राहक भड्किने भयले गर्दा मिलापत्र गराए। 

भारतको विहार राज्यमा रक्सी प्रतिबन्ध गरिएपनि भारतीय नागरिक मणीकपुरका पवन यादवले अवैध रुपमा रक्सी तस्कर गरेको आरोपमा त्यहाँको प्रहरीले निगरानी बढायो। त्यही क्रममा उनलाई भारतीय प्रहरीले पिछा गरिरहेको बेला  नेपालतर्फ आए। प्रहरीले खेदाउँदै आइरहेका बेला यादव दस गजा क्षेत्र पार गरेर नेपाल आउन सफल भए।

यादव आफन्त  दस गजा क्षेत्र नजिकै देवानगन्ज वडा नं. ३ का अनिलकुमार यादवको घर हो। उनी आएर लुकेर बसे। तर, यादवले भारतीय डाका समूहले आफूलाईं लेखेटेको भन्दै कराएपछि सवै गाउँले संगठीत भए। केही बेरमै सशस्त्र प्रहरीको र नेपाल प्रहरीको टोली पुग्यो। नेपाली सुरक्षाकर्मीले वास्तविकता बुझ्दा भारतीय प्रहरीलाई यादवलाईं पक्राउ गर्न खोजेको पत्ता लाग्यो।

केही दिनपछि भारतीय प्रहरीले यादवलाई पक्राउ गरि मुद्दा चलायो। चार महिनाअघि पक्राउ परेका उनी अहिले सजाय भुक्तान गरि छाडिएका छन्।

भारतको विहारमा रक्सी प्रतिबन्ध भएपछि सीमावर्ती नेपाली बजारमा रक्सी पिउन आउनेको संख्या बढेसँगै सीमावर्ती क्षेत्रका स्थानीयबासी त्रसित हुने गरेका छन्। देवानगन्ज वडा नं. ६ का मदिरा पसल सञ्चालक रुन्दो मेहताका अनुसार, भारतीय नेपाल आएर बढी मदिरा खाएमा लफडा गर्ने गरेका छन्। ‘पसलमै बसेर मदिरा पिएमा धेरैले लफडा गर्छन, अनि मैले विक्री गर्दा चाँहि यहाँ नखाउँ अन्यत्र लिएर जाउँन भनेर विक्री गर्ने गर्छु,’ मेहताले भने। यो क्षेत्रमा मेहतासँगै तीनवटा मदिरा पसल दर्ता गरिएको छ।

दर्ता भएका मदिरा पसलबाहेक वडा नं. ६ कै शर्मा टोलमा घरेलु रक्सी पनि स्थानीयले बनाएर विक्री गर्ने गर्छन्। शर्मा टोलमा घरैपिच्छे घरेलु रक्सी बनाएर विक्री गर्ने गरिएको छ। ‘जथाभावी मदिरा विक्री गर्दा भारतीय आएर नेपालमा विकृति फैलाउने गरेका छन,’ मेहताले भने।

देवानगन्ज वडा नं. ६ को पारिपट्टी भारत मनीकपुरका सन्तोष रामका अनुसार, नेपालतर्फ रक्सी पिउनकै लागि हरेक दिन सय जना हाराहारी आउने गरेका छन्। ‘प्रायः सवै मजदुरी गर्ने साँझपख नेपाल गएर सस्तो घरेलु रक्सी पिएर आउने गर्छन,’ उनले भने।

दस गजा क्षेत्रमै रक्सी विक्रीका लागि स्वीकृति दिनु र घरेलु मदिरा विक्री गर्दा प्रायः गरेर समस्या निम्तिने गरेको छ। ‘रक्सी पिएर भारतीले हुल हुज्जत गर्न खोज्छन, हामी पुगेपछि भागी हाल्छन,’ इलाका प्रहरी कार्यालय देवानगञ्जका सई गोपाल सापकोटाले भने। भारतीय नागरिक नेपाल आएर रक्सी पिएर लफडा गर्दा नेपाल प्रहरीलाईं सशस्त्र  प्रहरीले सघाउने गरेको सशस्त्र प्रहरीको रामनगर भूटाहा वेस क्याम्पसका डिएसपी सुधीर सुवेदीले बताए।

भारतको विहारमा रक्सी प्रतिबन्ध गरेपछि सुरुवातमा सुनसरीको सीमावर्ती क्षेत्रमा साँझ ७ बजेपछि रक्सी विक्री गर्न रोक लगाइएको थियो।

रक्सी पिउन आउनेको संख्या ह्वातै बढेकाले गर्दा भारत–नेपालको सीमा छुट्याउनका लागि सिमा स्तम्भ आसपासको १० गजा क्षेत्रभन्दा डेढ सय मिटर आसपासका क्षेत्रमा रक्सी विक्री गर्न रोक लगाइएको थियो। तर, व्यापारीले मदिरा पसल दर्ता गरेरै सञ्चालन गरेकाले गर्दा प्रहरीले खुकुलो छाडेको छ।

सुनसरीको सीमावर्ती क्षेत्र श्रीपुर, हरिपुर, साहेवगन्ज, बसन्तपुर, घुस्की, कप्तानगन्ज र अमडुवामा भारतीय नागरिकको साँझपख भीडभाड हुने गरेको छ।

नेपाल र भारतबीचका सिमा छुट्याउने सिमा स्तम्भ आसपासको क्षेत्रलाई  १० गजा क्षेत्र भनिन्छ। अन्तर्राष्ट्रिय सिमा सम्बन्धि मान्यता अनुसार यो क्षेत्रमा कुनै पनि देशका नागरिकहरुलाई बस्ने अधिकार हुँदैन, त्यसैले यो क्षेत्रलाई नो मेन्स ल्याण्ड पनि भनिन्छ। यही दस गजा क्षेत्रको डेढ सय मिटर छेउका बजारमा रक्सी विक्री हुने गरेको छ।

प्रकाशित: १४ वैशाख २०७५ ००:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App