४ वैशाख २०८१ मंगलबार
विचार

कोरियाली शिखर वार्ता

दक्षिण र उत्तर कोरियाका दुई नेताबीच शुक्रबार भएको शिखर वार्ता संसारकै निम्ति असामान्य क्षण र छविले पूर्ण रहेको छ। दक्षिण कोरियाली राष्ट्रपति मुन जाय–इन र उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ–उनबीच भएको ऐतिहासिक वार्ताले कोरियाली प्रायद्वीपको दिगो शान्तिका निम्ति मात्र होइन एसिया र विश्वकै निम्ति आशा सञ्चारसमेत गरेको छ। उत्तर कोरियाली नेता किम आफ्ना बाबु किम जोङ इल र हजुरबा किम इल सुङले आँट नगरेको काम आफ्नो मुलुकको सीमा कटेर दक्षिण कोरियामा पुगेर दिनभरिजस्तो वार्तालाप, घुमफिर भोजमा समेत सरिक भई आफ्नो मुलुक फर्केका छन्। लामो समयसम्म विश्वका निम्ति रहस्यमय पात्रका रुपमा रहेका किमले पछिल्लो चरणमा चालेका कूटनीतिक कदमप्रति विश्व आश्चर्यचकित हुँदै आएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘लिटल रकेट म्यान’ भनेर आलोचना गरिएका किमको अहिले आएर मुक्तकण्ठले ‘अति सम्मानित’ नेताका रुपमा प्रशंसा गर्न थालेका छन्। दक्षिण कोरियालाई थप आणविक परीक्षण नगर्ने आश्वासन दिएर होस् वा दुई मुलुक अलग भएर रहन नसक्ने धारणा व्यक्त गरेर किमले आश्वस्त पारेका छन्। सार्वजनिक रुपमा उनको व्यक्तित्व र व्यवहार थाहा नपाएको संसारका लागि उनले सुझबुझपूर्ण छवि प्रदर्शन गर्न सकेका छन्।

दुई कोरियाबीचको शिखर वार्ता पछिल्लो कालखण्डको सबैभन्दा उल्लेख्य कूटनीतिक पहल हो। निःसन्देह कोरियाली प्रायद्वीपमा हुने कुनै पनि किसिमको अस्थिरताले जापानलगायतका देशलाई संकटमा पार्ने देखिएको हो। विशेष गरी अमेरिकी धुरीका जापान र दक्षिण कोरियाका साथै चीन–रुसी धुरीका उत्तर कोरियाबीचको अहिलेको परिस्थिति सबैखाले शक्तिहरूबीचको समन्वयको परिणाम हो।

किमले अहिले प्रदर्शन गरेको कूटनीति थप आणविक विस्तारकै निम्ति हो वा सम्भावित युद्ध टारेर जनधनको सुरक्षा गर्न चाहेको हो भन्ने आगामी दिनमा अवश्यै देखिँदै जानेछ। तर, कोरियाली प्रायद्वीपमा केही समयअघिसम्म देखिएको युद्धको सन्त्रासपूर्ण अवस्थामा भने अहिले रोक लागेको छ। करिब एक वर्षअघि २०७४ साउन २७ गते नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले उत्तर कोरियाको भ्रमण गर्न लाग्दा सुरक्षालगायतका प्रश्न उठेका थिए। हाल प्रधानमन्त्री रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले समेत उनलाई त्यसतर्फ नजान सुझाएका थिए। तर, उनी आफू त्यहाँ शान्ति, वार्ता र शान्तिपूर्ण समाधानका विषय अघि सार्ने भन्दै यात्रामा गएका थिए। उत्तर कोरियाली नेतृत्व त्यतिबेला यस्ता विषय सुन्न तयार थिएन। एउटा प्रमुख कार्यक्रमका लागि नेपालले तयार पारेको भाषण पढेपछि तिनले बोल्ने कार्यक्रम नै रद्द गरेको तितो अनुभव समेत नेपाललाई भएको थियो। नेपाललाई केही शक्ति राष्ट्रलगायतले उत्तर कोरिया नजान सुझाव दिएको भए पनि चिनियाँ राजदूतबाट भने सकारात्मक संकेत पाएका थिए। दक्षिण र उत्तर कोरियाबीचको अहिलेको शिखर वार्ता प्रक्रियामा चीन र रुसको विशेष सद्भाव रहेको बुझ्न सकिन्छ । केही अघि किमले बेइजिङको यात्रा गरेर सबैलाई आश्चर्यमा पारेका थिए। त्यति मात्र होइन सिआइएका पूर्वनिर्देशक एवम् विदेशमन्त्री नियुक्त माइक पोम्पियोलाई उत्तर कोरियाको राजधानी प्योङयाङमै भेटेर फर्केपछि कूटनीति नयाँ ढंगले अघि बढ्न थालेको महसुस भएको हो।

दुई कोरियाबीचको शिखर वार्ता पछिल्लो कालखण्डको सबैभन्दा उल्लेख्य कूटनीतिक पहल हो। पूर्वी र पश्चिम जर्मनीबीचको एकीकरणमा कूटनीतिक पहलभन्दा पनि आमनागरिकको आक्रोश ठूलो थियो र त्यसै कारण बर्लिन पर्खाल भत्किएको थियो। पछिल्ला वर्षहरूमा भने कूटनीतिक पहलबाट ठूल्ठूला युद्ध रोकिने घटना हुन थालेका छन्। निःसन्देह कोरियाली प्रायद्वीपमा हुने कुनै पनि किसिमको अस्थिरताले जापानलगायतका देशलाई संकटमा पार्ने देखिएको हो। विशेष गरी अमेरिकी धुरीका जापान र दक्षिण कोरियाका साथै चीन–रुसी धुरीका उत्तर कोरियाबीचको अहिलेको परिस्थिति सबैखाले शक्तिहरूबीचको समन्वयको परिणाम हो। दुई कोरियाबीचको यो थालनीको निष्कर्ष भने अमेरिकालगायतका शक्ति राष्ट्रको संलग्नताबेगर प्राप्त हुने छैन। तथापि, यी दुई मुलुक आफैंले पनि कूटनीतिक पहलमार्फत अरूको भूमिकालाई चाहिनेभन्दा बढी हुन नदिनेतर्फ लागेको संकेतका रुपमा पनि बुझ्नुपर्ने हुन्छ। एसियाली मुलुकहरूले आपसी कूटनीतिलाई बढाउँदै जाँदा यस क्षेत्रको महत्व पनि आफैंमा बढ्न थालेको छ। दुई कोरियाबीच एकीकरण हुन पुग्यो भने एसियामा अर्को एउटा शक्तिशाली मुलुकको जन्म हुनेछ। यसले एसियालीहरूको महत्व पनि बढाउनेछ। आणविक हतियार निर्माण गरिसकेकका कुनै पनि मुलुकले सहजै यसलाई परित्याग गर्दैनन्, यसमा उत्तर कोरियाको भावी व्यवहार कस्तो हुनेछ, त्यसैमा अहिलेको वार्ताको निष्कर्ष निर्भर गर्नेछ।

प्रकाशित: १६ वैशाख २०७५ ०६:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App