१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

किन खसालिन्छ नरिवल ?

रातो मच्छिन्द्रनाथ रथजात्रा सुरु हुनुअघि उपत्यकाका तीनै जिल्लाका मानिसले पाटन पुल्चोकस्थित मच्छिन्द्रवहालबाट भरिभराउ हुन्थ्यो । डोरी र रथ तान्नका लागि प्रयोग हुने अन्य सामान बोकेर आएका नेवार समुदायका व्यक्तिले रथलाई तीनतिर तान्थे।

काठमाडौं नेवारले काठमाडौं, भक्तपुरका नेवारले भक्तपुर र ललितपुरका ज्यापुर लगनखेलतिर तान्न सुरु गर्थे । उनीहरुले त्यहाँ आफ–आफ्नो जात्रा पनि देखाउँथे । रथ गाःवहाल, सुन्धारा र लगनखेल पुगेपछि तीन जिल्लाका नेवार समुदायबीच हानाथाप हुन्थ्यो।संस्कृतिविद् हरिराम जोशीका अनुसार पहिले–पहिले जात्रा मान्ने चलन अलि फरक थियो । यो प्रसंग आजभन्दा करिब ६ दशक अघिको हो । त्यतिबेला तीन सहरमा नेवार समुदायका व्यक्तिहरु आ–आफ्नै भेषमा सजिएर जात्रा देखाउने गर्थे।

अहिले यो क्रम रोकिएको छ ।पुल्चोकबाट हिडाएको रथ विभिन्न रुटमा रोकिने क्रममा तीन जिल्लाका जात्रा मनाउन पनि थालिएको थियो । गाःवहाल र पाटन सुन्धारामा रथ तान्नको लागि काठमाडौं, भक्तपुर र ललितपुरका मानिसहरु जम्मा हुन्छन् । रथ तान्ने क्रममा अन्नतः ललितपुरका भरिया र किसान मानिने ज्यापुहरुले नै रथलाई लगनखले पुर्‍याएका थिए ।

‘रथलाई तान्दै लगनखेल पुर्‍याएपछि खुशीयालीमा रथको माथिबाट नरिबल खसाल्न थालिएको हो,’ उनले भने, ‘नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रुपमा लिन्छन् । त्यतिबेला रातो मच्छिन्द्रनाथलाई लगनखेल नपुर्‍याउन्जेल पाटनवासी ढुक्क थिएनन् । जब पाटनमा पुर्‍याए त्यसपछि उनीहरु खुशी भएका थिए ।’ उनका अनुसार नरिवल खसाल्ने दिन योमरी पनि खसाल्ने चलन छ । रथमाथिबाट खसालिएको नरिवल वा योमरी समात्ने व्यक्तिको पहिलो सन्तानको रुपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ । यो मान्यता अझै पनि कायमै छ।

नरिबल खसाल्ने दिनकै अवसरमा लगखेलस्थित सप्तपात्ताल पोखरीमा रेहका माछाहरू समात्ने चलन पनि छ । यो चलन रथजात्रा सुरु हुनुअघिदेखि नै चल्दै आएको किंवदन्ती रहेको संस्कृतिविद् जोशीले जानकारी दिए । उनले अहिले यो पोखरी सुकेको बताए।

‘ऐतिहासिक पोखरीको क्षेत्रफल साँघुरिएको छ,’ उनले भने, ‘अहिले पोखरीको एक कुनामा मात्रै थोरै पानी देखिन्छ, नरिवल खसाल्ने दिन यहाँ दुईवटा माछा छाडिन्छ र समातिन्छ, पुरानो अस्तित्व लगभग गुम्यो भन्दा फरक पर्दैन।’उनको भनाईमा पहिले यो पोखरी धेरै गहिरो थियो । पोखरीमा धेरै माछा पाल्ने गरिन्थ्यो । रातो मच्छिन्द्रनाथ जात्राको बेला माझीहरु माछा मार्न यहाँ आउँथे । यसरी पनि रातो मच्छिन्द्रनाथ माँझी समुदायका हुन् भन्ने मान्यता छ ।
उपत्यकाको परिचित जात्रा रातो मच्छिन्द्रनाथको रथलाई बिहिबार लगनखेलमा दुई फन्को लगाइएको थियो ।

रथलाई लगनखेल पुर्‍याएपछि यसरी नै फन्को लगाउने चलन छ । साइतअनुसार बैशाख ६ गते बेलुकी ५ बजे पुल्चोकबाट रथयात्रा आरम्भ भएको थियो । जात्राको पहिलो दिन पुल्चोकस्थित मच्छिन्द्रवहालमा रहेको रथलाई तानेर गांःवहालमा पुर्‍याइएको थियो । त्यसपछि क्रमशः मंगलबजार, चक्रबहिल, सुन्धारा, लगनखेल, बालकुमारी, इटीटोल, पोडेटोल हुँदै पुनः लगनखेलमा लगिएको थियो।गुठी संस्थान ललितपुर शाखा प्रमुख शैलेन्द्र पौडेलले जात्रा अवधिभर पानेजुहरुबाट दसकर्म पूजा चलिरहेको जानकारी दिए । भइरहेको बताए।

‘शुक्रबार बेलुकी ५ः३० पछि नरिबल खसालियो,’ उनले भने, ‘नरिबल खसालेको भोलीपल्ट महिलाले रथलाई तान्दै थटिटोलमा पु¥याउने छन् ।’ उनले परम्परा अनुसार नै लामो समयदेखि महिलाहरुले रथ तान्दै आएको जानकारी दिए । ‘महिलाले रथ तान्न सकेनन् भने पुरुषले पनि साथ दिने गर्छन्,’ उनले सुनाए, ‘प्रायः महिलाहरुले नै रथलाई तान्दै आएका छन्।’

उनका अनुसार रथलाई कुमारीपाटी पुर्‍याएपछि साइत हेरेर भोटो देखाउनका लागि लगनखेलतर्फ लगिने छ । उक्त असारमा मात्रै देखिएको गुठी संस्थानको भनाई छ ।  
यो जात्रा वि.सं. ५४६ देखि सुरु भएको किंवदन्ती छ । यो जात्रालाई सहकालका देवताका रूपमा हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीले पनि मनाउँछन् । १२ पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्रदेवले यो जात्राको सुरुआत गराइएको किंवदन्ती छ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ पञ्चबुद्धमध्येका चौथो बुद्धका रूपमा पूजा गर्ने गर्छन् । जावलाखेलमा भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई बुङमति लगेर राख्ने चलन छ।संस्कृविद्हरुकै भनाई अनुसार रातो मच्छिन्द्रनाथको अर्को किंवदन्ती पनि छ । संस्कृतिविद् बुद्धिराज बज्राचार्यका अनुसार एक हजार पाँच सय वर्षपहिले उपत्यकामा १० वर्षसम्म पानी परेन ।

सबैतिर खडेरी छायो । उब्जनी हुन छाडेपछि अनिकाल लाग्यो । यसै बखतमा काठमाडौंका बन्धुदत्त बज्राचार्य, भक्तपुरका राजा नरेन्द्रदेव र ललितपुर पाटनका ज्यापुले मच्छिन्द्रनाथ देवतालाई उपत्यकामा ल्याएपछि पानी पर्छ भन्ने कसैबाट सुने । यति थाहा पाउनासाथ तीनैजना मिलेर कामरुमामक्ष पुगेर मच्छिन्द्रनाथ ल्याउने निर्णय गरे

। ‘मच्छिन्द्रनाथ भनेको राक्षसका बच्चा हुन्,’ संस्कृतिविद् बज्राचार्यले भने, ‘यिनलाई ल्याएपछि पानी पर्छ भन्ने सुनेर तीनजनाले ललितपुरको बुङमतीसम्म मच्छिन्द्रनाथ ल्याए ।’
उनका अनुसार लामो बाटो धाएर मच्छिन्द्रनाथ यहाँसम्म ल्याएपछि पानी परेको किंवदन्ती छ । कामरुकामक्षबाट मच्छिन्द्रनाथलाई बोकेर ल्याएपछि कहाँ राख्ने भन्ने विषयमा फेरि तीनजनाबीच हानाथाप चल्यो । भक्तपुरका राजाले आफूले खर्च गरेर ल्याएकाले मच्छिन्द्रनाथलाई भक्तपुरमै राख्न पाउनुपर्ने अडान राखे ।

यही प्रसंगमा संस्कृतिविद् जोशीले थपे, ‘पाटनका सबैभन्दा ज्येष्ठ नागरिकलाई सोधेर उनैले भनेको ठाउँमा मच्छिन्द्रनाथलाई राख्ने तीनजनाबीच सहमति भयो, ती ज्येष्ठ नागरिकले बुङ्मती तोकिदिएपछि यहीँ राख्न थालियो ।’ उनका अनुसार मच्छिन्द्रनाथ ल्याउने तीनमध्ये पाटनका ज्यापु अलि बाठा स्वभावका थिए । कामरुकामक्षबाट मच्छिन्द्रनाथ ल्याउँदा उनले तीनै ज्यापुले धेरै बोकेका थिए ।

 

 

प्रकाशित: १७ वैशाख २०७५ ०३:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App