coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
विचार

अप्प दीपो भवः

हरेक वर्ष वैशाख पूर्णिमाका दिन बुद्घ जयन्तीका अवसरमा आयोजित सभासमारोहमा बुद्घ ज्ञानको चर्चा हुन्छ। तर, त्यसलाई कतिले व्यवहारमा आत्मसात् गर्छन् भन्ने प्रश्न सधैं उठ्छ। बुद्घका जीवनोपयोगी उपदेश अनुशरण गरेर समाजमा शान्ति र सुव्यवस्था कायम राख्न योगदान दिनुको सट्टा तिनलाई प्रदर्शनको विषयवस्तु बनाइएको देखिन्छ। बुद्घ जन्मिएको भूमि नेपाल हो भन्ने तथ्यको प्रामाणिक पुष्टि भइसकेको छ। पछिल्लो समयमा बुद्घ जन्मस्थल लुम्बिनीको विकासका लागि अन्तर्राष्ट्रिय चासो बढ्दै गइरहे पनि नेपाली ‘निस्पृह’ बनेका छन्। सुखसयलमा हुर्किएका शाक्यवंशका राजकुमार सिद्घार्थ गौतमले ‘ज्ञानको खोजी’ मा राजदरबार त्याग गरे । बुवा, आमा, पत्नी र छोराको मायामोहले उनको यात्रा रोकिएन । ज्ञान प्राप्तिका लागि त्यसबेलाका साधुसन्त, ज्ञानी र नामी गुरु कसैलाई भेट्न बाँकी राखेनन् उनले । उनले लामो समयसम्म ध्यान–साधना जारी राखे । घर छाडेको ६ वर्षपछि ३५ वर्षको उमेरमा उनको ‘ज्ञानचक्षु’ खुल्यो । त्यसपछि ‘सिद्घार्थ गौतम’ ‘बुद्घ’ बने। सुरुमा ‘तथागत’ नामले बोलाइएका उनी पछि ‘भगवान् बुद्घ’ का रूपमा चिनिए। ध्यानबाट आफूले पाएको ज्ञान आफ्ना शिष्यलाई बाँड्ने क्रममा उनले भने, ‘अप्प दीपो भवः’ अर्थात् ‘आफूभित्रको ‘दीप’ बालौं’। उनको यही दिव्यवाणी अहिले जीवन बदल्ने सूत्र बनेको छ।

सरकारले बुद्घ जयन्तीलाई ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउने प्रस्तावलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ। त्यसो भएमा ‘अप्प दीपो भवः’ भन्ने बुद्घ सन्देश विश्वभर घरघरमा फैलाउन मद्दत पुग्ने देखिन्छ। बुद्घभूमिबाट यस्तो प्रस्ताव अगाडि सारेर संयुक्त राष्ट्रसंघबाट अनुमोदन गराउन सकेमा अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा अझै बढ्न सक्ने निश्चित छ।

प्रश्न उठ्छ, ‘बुद्घ’ जन्मस्थलका हामी नेपालीले उनका मार्गनिर्देशन कति पालना ग-यौं?  उनको शिक्षा फैलाउन कस्तो योगदान ग-यौं ? सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा उनको शिक्षा कुन रूपमा लागू भएको छ ? तर, दुःखका साथ भन्नुपर्छ– यी सवाललाई कसैले पनि गम्भीरतासाथ लिएको पाइँदैन । बुद्घले दुःखको भुमरीबाट पार पाउन चार ‘आर्यसत्य’ प्रतिपादन गरेका छन्। ती हुन्– जीवनमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण हुन्छ र दुःख निवारणको उपाय छ । वास्तवमा, निर्वाणकाे अवस्थामा पुगेपछि दुःखबाट मुक्ति पाइन्छ। यसका लागि उनले अष्टांगिक मार्ग अपनाउनुपर्नेमा जोड दिएका छन् । सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिको अवस्थाबाट मात्र दुःखको भुमरीबाट पार पाउन सकिने बुद्घका सार्वकालिक शिक्षामा उल्लेख छ। ४६ वर्षअघि बुद्घको जन्मस्थल लुम्बिनीमा संयुक्त राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले भ्रमण गरेपछि यसको चर्चा अन्तर्राष्ट्रिय स्तरमा हुन थाल्यो। थान्तको भ्रमणपछि लुम्बिनीको विकासका लागि गुरुयोजनासमेत तयार पारिएको थियो। तर, गुरुयोजना तयार पारिएको ४० वर्ष बित्न लाग्दा पनि सबै काम पूरा हुन सकेका छैनन्। सरकारी निरीहता र राजनीतिक भागबन्डाले योजनाअन्तर्गत प्रशासनिक, पुरातात्विक र भौतिक विकासका काम अझै अपूरा छन्।

यो क्षेत्रको समग्र विकासका लागि सरकारले लुम्बिनी विकास कोष गठन गरे पनि प्रभावकारी काम हुन सकेको छैन। प्रजातन्त्र पुनस्र्थापनापछि कोषलाई राजनीतिक दलले आफूप्रति बफादार कार्यकर्ता भर्तीकेन्द्र बनाएको देखिन्छ। यसरी राजनीतिक हस्तक्षेपले गर्दा लुम्बिनी गुरुयोजनासमेत प्रभावित बनेको देखिन्छ। राजनीतिक दलले चुनावताका लुम्बिनीको विकासका लागि ठुल्ठूला योजना अघि सारे पनि पछि तिनको कार्यान्वयनमा जोड दिएको पाइँदैन । ‘विपश्यना’ ध्यान विधि बुद्घले संसारलाई दिएको अनुपम उपहार हो। यही ध्यानको निरन्तर अभ्यासबाट हरेक व्यक्ति ‘बुद्घ’ बन्न सक्ने उनको सन्देश छ । बुद्घका प्रभावकारी ध्यान विधिलाई अमेरिका, युरोपलगायत पश्चिमी मुलुकले जीवनशैलीकै रूपमा अवलम्बन गरे पनि ‘बुद्घभूमि’ यसलाई त्यति महŒवका साथ हेरिएको छैन । यही परिप्रेक्ष्यमा ओशो तपोवन, नागार्जुनका संस्थापक बोधिसत्व स्वामी आनन्द अरुणको पहलमा बुद्घ जयन्तीलाई ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ का रूपमा मनाइनुपर्छ भन्ने अभियान सुरु गरिएको छ । व्यक्तिगत एवं संस्थागत पहलमा सुरु गरिएको यो अभियान स्वागतयोग्य छ। यसअघि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पहलमा जुन २१ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिसकेको छ। त्यसभन्दा धेरै वर्ष पहिलेदेखि माघ १ लाई योगगुरु डा. हरिप्रसाद पोखरेलको अगुवाइमा योग दिवस मनाउन थालेको भए पनि नेपाल सरकारले त्यसलाई अन्तर्राष्ट्रिय स्तरमा लैजना नसक्दा भारतले योग दिवसको जस लिएको छ। यसपटक नेपाल सरकारले पहिलेको गल्ती नदोहो-याई ध्यान दिवसलाई अभियानका रुपमा अगाडि बढाउनुुपर्छ। बुद्धभूमिलाई ध्यानको भूमि बनाउन विश्वको साथ र सहयोग हुनेछ। अतः सरकारले बुद्घ जयन्तीलाई ‘अन्तर्राष्ट्रिय ध्यान दिवस’ मनाउने प्रस्तावलाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ । त्यसो भएमा ‘अप्प दीपो भवः’ भन्ने बुद्घ सन्देश विश्वभर घरघरमा फैलाउन मद्दत पुग्ने देखिन्छ। बुद्घभूमिबाट यस्तो प्रस्ताव अगाडि सारेर संयुक्त राष्ट्रसंघबाट अनुमोदन गराउन सकेमा अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा अझै बढ्न सक्ने निश्चित छ। त्यसले बुद्ध जन्मभूमिको सार्थकता सिद्ध हुनेछ।

प्रकाशित: १७ वैशाख २०७५ ०५:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App