८ वैशाख २०८१ शनिबार
अर्थ

वैकल्पिक विमानस्थलका लागि सम्भाव्यता अध्ययन सुरु

पनौती र बनेपामा पर्ने नागीडाँडा, जसलाई वैकल्पिक विमानस्थलको रुपमा सम्भाव्य स्थान मानिएको छ । तस्बिर : नागरिक

बनेपा – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चापलाई कम गर्न काभ्रेपलाञ्चोक जिल्लामा वैकल्पिक विमानस्थल बनाएर आन्तरिक उडानका विमान व्यवस्थापन गर्ने योजना बनाएको छ।

विमानस्थल साँघुरो भएकै कारण उडानको चापले एयर ट्राफिक जाम, विमान आकाशमै रहने (होल्ड) हुने, उडान तालिका परिवर्तन र उडान रद्दसमेत गर्नुपर्ने बाध्यता रहँदै आएपछि वैकिल्पक विमानस्थल निर्माणको कुरा अघि बढाइएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले बताए।

मंगलबार मन्त्री अधिकारीसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी र विज्ञ समूहले सम्भाव्य स्थानहरुको स्थलगत अवलोकन गरेको छ । समूहले पनौती, बनेपा र धुलिखेल नगरपालिकाका तीनवटा स्थानको अवलोकन गरेको हो।

‘हामीले पनौती र बनेपामा पर्ने नागीडाँडा, धुलिखेल देवीथाननजिकैको ठूलीचौर र पात्लेखेत नजिकैको चिसापानी ठूलीचौरको भौगोलिक अवस्था अवलोकन गर्‍यौं । यसअघि पनि काभ्रेका भकुण्डेवेंसी र पाँचखालमा वैकल्पिक विमानस्थलका लागि अध्ययनहरु भएका थिए । यिनीहरुमध्येकै एक स्थानमा आन्तरिक उडानका लागि विमानस्थल बन्नेछ,’ मन्त्री अधिकारीले भने।

विगतमा अध्ययन भएका र मंगलबार अवलोकन गरिएका तीनवटै स्थानमा प्राविधिक र आर्थिक लगायत सबै पक्षको अध्ययनका लागि दुई दिनभित्रमा नागरिक उड्डयन क्षेत्रका विज्ञ समूहलाई कार्यादेश दिइने पनि मन्त्री अधिकारीले बताए । ‘विज्ञ समूहले १५ दिनभित्र प्रतिवेदन पेस गर्नेछ । त्यसलगत्तै कहाँ र कुन मोडेलमा विमानस्थल बनाउने हो त्यसबारे निर्णय लिएर आगामी बजेटमै रकम व्यवस्था गर्नेछौं । अब काठमाडौंनजिकै ‘डोमेस्टिक एयरपोर्ट’ बनाउने प्रक्रिया अघि बढेको छ,’ उनले थपे।

प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले ‘डोमेस्टिक एयरक्राफ्ट डाइभर्ट प्लान’ अन्तर्गत काभ्रेमा साना जहाज (सर्ट टेकअफ एन्ड ल्यान्डिङ एयरक्राफ्ट)का लागि विमानस्थलको सम्भाव्यता अध्ययनको काम भइरहेको जानकारी दिए । ‘काठमाडौंबाट मुलुकभित्रका विभिन्न गन्तव्यमा जान–आउने, माउन्टेन फ्लाइट र हेलिकप्टरका लागि काभ्रेमा विमानस्थल बनाउन लागिएको हो । यसो हुन सकेमा त्रिभुवन विमानस्थलबाट हुने उडानको २० प्रतिशत चाप कम गर्न सकिन्छ,’ उनले भने।

वैकल्पिक विमानस्थलमा एक हजार दुई सय मिटर धावनमार्ग (रनवे) र ३० वटासम्म साना जहाज पार्क गर्न सकिने, अनुकूल मौसम रहेको र अन्य आवश्यक पूर्वाधार भएको स्थानलाई पहिलो प्राथमिकता दिइने गौतमले बताए।

‘भैरहवा र पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल बन्दै गरेकाले काठमाडौं नजिकै वैकल्पिक विमानस्थल आवश्यक छैन भन्ने तर्कहरु पनि उठेका छन् । तर, संसारकै अवस्था हेर्ने हो भने पनि प्रत्येक १५ वर्षमा हवाईयात्रुको संख्या दोब्बर हुने गरेको छ । नेपालमा वार्षिक ७० लाख हवाई यात्रुलाई सेवा दिँदै आएका छौं । हाम्रोमा हवाई यात्रु वृद्धिदर वार्षिक आठ प्रतिशत रहेबाट पनि वैकल्पिक विमानस्थल नहुँदासम्म नयाँ विमानस्थल बनिहाले पनि पछिसम्म धान्न सकिन्न,’ उनले थपे।

सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले काभ्रे जिल्लामा विमानस्थल आवश्यक रहेको भनि १६ वर्षदेखि माग गर्दै आएकोमा एयर ट्राफिकका कारण ढिलै भएपनि विमानस्थल बन्न लागेकोमा खुसी व्यक्त गरे । ‘विकास हुन लागेको काममा वातावरणलगायत अन्य किचलो निकालेर काम रोक्नेतर्फ नलागि निर्माणमा सहजीकरण गर्नु जनप्रतिनिधिको दायित्व हो । यसमा नचुक्नु होला, यसले काठमाडौंको स्याटेलाइट सिटीका रुपमा विकास गर्नसमेत काभ्रे जिल्लालाई अवसर मिल्नेछ,’ उनले भने।

यसअघि धुलिखेल नगरपालिकाको वडा नं ७, ८ र ९ स्थित ठूलीचौरमा सम्भाव्यता अध्ययनकै क्रममा धुलिखेलका होटल व्यवसायी तथा स्थानीयले सो स्थानमा एयरपोर्ट बन्दा पर्यावरण विनाश हुने एवं धुलिखेलमा विकास भइरहेको शिक्षा, स्वास्थ्य र पर्यटन उद्योगलाई असर पर्ने भन्दै विमानस्थल बनाउनु उपयुक्त नहुने आवाज उठाएका थिए । मंगलबार आयोजित अन्तरक्रियामा पनि सदरमुकाम धुलिखेलकै माथिको ठूलीचौरमा एयरपोर्ट बनाउनु उपयुक्त नहुने भएकाले धुलिखेलकै अन्यत्र स्थानमा बनाउनु पर्ने सुझाव दिएका थिए।

‘हामीले धुलिखेलकै वडा नं ११ र १२ स्थित चिसापानी ठूलीचौरको अवलोकन गर्‍यौं । तर, सो स्थानसम्म पुग्नका लागि बिपी राजमार्ग र अन्य सडक साँघुरो भएकाले रोड ट्राफिकको समस्या देखेका छौं । विकल्पमा बनेपाभन्दा माथिको नागीडाँडामा तीनतिरबाट पहुँचमार्ग भएको र अरनिको राजमार्ग ‘डबल लेन’ भएकाले उपयुक्त देखेका छौं । राजमार्ग पनि ६ लेनको बन्ने कुरा आएको हुँदा नागीडाँडामा हुँदा रोड ट्राफिक समस्या हुँदैन,’ स्थलगत अवलोकनमा सहभागी एक उड्डयन विज्ञले भने।

स्थानीयवासीका अनुसार नागीडाँडामा हुस्सु नलाग्ने, अरनिको राजमार्गबाट करिब तीन किलोमिटर दूरीमा अवस्थित र विमानस्थललाई आवश्यक जमिनमध्ये करिब २५ प्रतिशतमात्रै अधिग्रहण गर्नुपर्ने र बाँकी सबै सरकारी जमिन भएकाले सरकारको व्ययभार पनि कम हुने देखिन्छ । प्राधिकरणले एक हजार दुई सय मीटर रनवेसहितको पूर्वाधारका लागि न्यूनतम ६५ हेक्टर जमिन आवश्यक पर्ने बताएको छ।

‘वैकल्पिक विमानस्थल निर्माणमा सरकारलाई सघाउन निजी क्षेत्रसमेत तयार छ, किनकी त्रिभुवन विमानस्थलमा दिनहुँको एयर ट्राफिक जाम, विमान होल्ड, उडान परिवर्तन र रद्दबाट नेपाल आउने पर्यटकलगायत हवाई यात्रुमात्र नभई यहाँका उद्योगी व्यवसायीसमेत प्रभावित हुँदै आएका छन् । काभ्रेमा बन्ने विमानस्थलको मोडेलमा सरकारले निजी क्षेत्रलाई पनि सहभागी गराउने नीति ल्याएमा हामी सहभागी हुन तयार छौं,’ नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य सुरकृष्ण वैद्यले भने।

हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई नेपालीसहित ३० वटा एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान र आन्तरिकतर्फ हेलिकप्टरसहित १८ वायु सेवा कम्पनीले उडान भर्दै आएका छन् । आन्तरिकमा दैनिक तीन सय १९ र अन्तर्राष्ट्रियमा एक सय उडान हुँदै आएको प्राधिकरणले जनाएको छ ।

 

 

प्रकाशित: १९ वैशाख २०७५ ०१:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App