coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोश्रो अधिवेशन जेठ पहिलो सातादेखि

३ नम्बर प्रदेश सभाका सभामुख सानुकुमार श्रेष्ठ प्रथम अधिबेशनको प्रगतिबारे पत्रकार सम्मेलनमा जानकारी दिदै । तस्बिरः अशोकसुजन/नागरिक

मकवानपुर –प्रदेश नम्बर ३ प्रदेश सभाको दोश्रो अधिवेशन जेठको पहिलो साताबाट सुरु हुने भएको छ । संघीय सरकारको बजेट अघि नै प्रदेशको बजेट ल्याउनुपर्ने भएकाले सबै प्रदेश साँसद तथा मन्त्रीहरु जिल्लामा खटिएका छन्।

प्रदेश सरकारको बजेटका लागि जिल्ला–जिल्लाबाट योजना तथा कार्यक्रम र बजेट तय गर्न प्रथम अधिवेशन चाँडै अन्त्य गरेको सभामुख सानुकुमार श्रेष्ठले बताए । प्रदेश सभा सचिवालयमा बुधबार पत्रकार सम्मेलन गर्दै उनले जेठको चौथो साता प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०७४÷७५ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्ने बताए।

प्रदेश सरकार सञ्चालनका अत्यावश्यक कानुनहरु नेपाल सरकारबाट प्राप्त अनुदान र आफ्नो मातहत स्थानीय निकायलाई वित्तिय सामान्यीकरण अनुदान दिने सम्बन्धी कानून, प्रदेश आकश्मिक कोष ऐन, प्रदेश लोकसेवा आयोग सम्बन्धी ऐन, सरकारी कामकाजको भाषा निर्धारण सम्बन्धी कानून चाँडै पारित गर्ने पनि उनले बताए।

यसैबिच, प्रदेश सभाको प्रथम अधिवेशनले ५ वटा बिधेयक पारित गरेको छ भने दुईवटा बिधेयक समितिमा छलफलमा पठाएको छ । माघ १८ मा शुरु भएको प्रदेश सभाको प्रथम अधिवेशन बैशाख १४ गते सकिदा १९ वटा बैठक भएको सभामुख श्रेष्ठले बताए । उनका अनुसार ११ दिन बसेको प्रदेश सभा बैठक कुल ११ घण्टा ४३ मिनेट सञ्चालन भएको थियो।

प्रथम अधिवेशनबाट केही सार्वजनिक लिखत प्रमाणीकरण ऐन, आर्थिक कार्यप्रणाली ब्यवस्थित गर्न बनेको ऐन, प्रदेश सरकारको विनियोजन विधेयक २०७५, गाउँ-नगर-जिल्ला सभा सञ्चालन कार्यविधि सम्बन्धमा बनेको विधेयक, स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाको सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक तथा प्रदेश सभा नियमावली र प्रदेश सरकारको आर्थिक बर्ष २०७४-७५ को आय र ब्ययको अनुमान प्रदेश सभाबाट सर्वसहमत रुपमा पारित भएको उनले बताए । यस्तै प्रदेश सभाका सदस्य तथा पदाधिकारीहरुको सुविधा सम्बन्धी विधेयक र मुख्यमन्त्री, मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी विधेयक प्रदेश मामिला समितिमा छलफलको क्रममा रहेको सभामुख श्रेष्ठले जानकारी दिए।

पहिलो अधिवेशनबाट सभामुख÷उपसभामुखको निर्वाचन, प्रदेश सरकार गठन, प्रदेश सभाको लोगो र ड्रेस(पोशाक) कोड निर्धारण, प्रदेश सभाको कार्यव्यवस्था समितिसहित ५ विषयगत समितिहरु सार्वजनिक लेखा, प्रदेश मामिला, अर्थ तथा विकास, उद्योग पर्यटन, वातावरण एवम् शिक्षा, स्वास्थ्य समिति गठन भएको उनले जानकारी गराए ।

बैशाख १४ गते शुक्रबार बसेको बैठकले स्थानीय तहका पदाधिकारी तथा सदस्यको सुविधा सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक र गाउँ÷नगर÷जिल्ला सभा सञ्चालन(कार्यविधि) सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयकलाई सर्वसहमत पारित गरेको थियो । त्यसअघि सार्वजनिक लिखत प्रमाणिकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको आर्थिक कार्यविधी नियमित तथा व्यवस्थित गर्न बनेको विधेयक र विनियोजन विधेयक पारित गरिसकेको छ।

शुक्रबार बसेको अधिवेशनको अन्तिम बैठकले प्रदेश सभाले प्रदेश स्थायी राजधानी सम्भाव्यता अध्ययन गर्न विशेष समिति गठन समेत गरेको छ । उन्नाईसौं बैठकले एक संयोजक तोकेर ४५ दिन भित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको छ । संविधानको धारा २८८ को उपधारा २ र प्रदेश सभा सञ्चालन नियमावलीको नियम १५२ बमोजिम प्रदेश राजधानी सम्भाव्यता अध्ययन गर्न १३ सदस्सीय विशेष समिति गठन गरेको हो । प्रदेश ३ को स्थायी राजधानी माग गर्दै काभ्रेपलाञ्चोक, नुवाकोट र भक्तपुरका सांसदहरूले प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएका छन् ।


 

प्रकाशित: २० वैशाख २०७५ ००:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App